
काठमाडौं । निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ।
गत मङ्सिर ४ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि यो पहिलो अधिवेशन प्रारम्भ हुन लागेको हो। पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्नेछ।
पहिलो बैठकबाट प्रतिनिधि सभा नियमावली २०७५ लाई पुनः अनुमोदन गराइनेछ। यसअघि सर्वदलीय बैठकले अर्को व्यवस्था नभएसम्म पुरानै नियमावलीका आधारमा बैठक सञ्चालनको निर्णय गरेको थियो। उक्त नियमावली संशोधन गर्ने भन्ने दलभित्र समझदारी छ। तर संशोधनका लागि पहिलो बैठकबाटै समिति बन्ने दलीय सहमति भने भइनसकेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो। योगीले भन्नुभयो, “अहिले पुरानै नियमावलीका आधारमा बैठक सञ्चालन हुनेछ तर आवश्यकताअनुसार संशोधनको प्रक्रिया अघि बढ्नेछ। संशोधनका लागि समिति गठनबारे चाहिँ दलीय परामर्शमा नै टुङ्गो लाग्नेछ।’’
पहिलो बैठकमा अधिवेशन आह्वानका लागि राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ। यस्तै प्रधानमन्त्री चयन र मन्त्रिपरिषद् गठनबारेको पत्र पनि संसद्मा जानकारी गराइनेछ। साथै शोक प्रस्तावको समेत कार्यसूची रहनेछ। संविधान सभा सदस्य बालकृष्ण ढुङ्गेल र झुलबहादुर आले तथा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका पूर्वसदस्य मैयादेवी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित हुनेछ।
