बागमतीका ११० मध्य १५ सांसदले मातृभाषामा शपथ लिने

Avatar photo
Dhadingpost
पुस १४, २०७९

हेटौंडा । एक सय १० सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन्।

यी मध्य १५ जना प्रदेश सभा सदस्यहरूले मातृभाषामा शपथ लिने भएका छन्। १५ जनामध्ये ११ जनाले नेवारी र ३ जनाले तामाङ भाषामा शपथ लिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

मातृभाषामा शपथ लिने प्रदेश सभा सदस्यहरूमा कांग्रेसका ३, एमालेका ४, माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका १ र हाम्रो नेपाली पार्टीका २ जना रहेका छन् । सचिवालयका अनुसार कांग्रेसका तर्फबाट प्रदेश सभामा निर्वाचित हरिप्रभा खड्गी, समिता खड्गी र रामचन्द्र महर्जनले नेवारी भाषामा शपथ लिने भएका छन् ।

यस्तै, एमालेका प्रेमभक्त महर्जन, रामेश्वर श्रेष्ठ, रघुनाथ महर्जन र प्रकाश श्रेष्ठले पनि नेवारी भाषामा शपथ लिने सचिवालयले जनाएको छ । यसैगरी, माओवादी केन्द्रका ५ मध्ये ३ जनाले नेवारी र २ जनाले तामाङ भाषामा शपथ लिने भएका छन् । माओवादीका गङ्गानारायण श्रेष्ठ, देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठले नेवारी तथा राधिका तामाङ र उर्मिलाकुमारी तामाङले तामाङ भाषामा शपथ लिने सचिवालयले जनाएको छ।

एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर तथा हाम्रो नेपाल पार्टीका २ जना सदस्यहरू शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गीले नेवारी भाषामा शपथ लिने सचिवालयले जनाएको छ ।