नीरञ्जनाले मनायो, हिरक जयन्ती (फोटो फिचर)

Avatar photo
Dhadingpost
शनिबार, पुस ९, २०७९

धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका मार्पाक स्थित निरञ्जना माविको हिरक जयन्ती अर्थात ६० औं वार्षिक उत्सव भव्य समारोहका बीच शुक्रबार विद्यालय प्राङ्गणमा मनाईएको छ । बागमती प्रदेश सांसद गोविन्द लम्सालको प्रमुख आतिथ्यतामा वृहत सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न नीरञ्जनाको वार्षिक उत्सवमा दर्जन भन्दा बढी शिक्षक विद्यार्थी र समाजसेवीहरुलाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलबहादुर अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा संसद गोविन्द लम्सालले विद्यालय सुधारका लागि आफुले योजना हाल्न कुनै कसुर नराख्ने प्रतिवद्धता जनाएका थिए । यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले आफ्ना पालिका भित्रका सबै विद्यालयहरुलाई आवश्यकताको आधारमा समान रुपमा सहयोग गर्ने बताएका थिए ।

माओवादी केन्द्रका नेताद्वय रामबहादुर भण्डारी र मनराज भण्डारीले शुभकामना मन्तव्य राख्दै कटुसको सेउलाले बारेर ०१९ सालमा संचालनमा आएको निरञ्जनाको अहिलेको भौतिक संरचना देखि शैक्षिक गुणस्तर प्रशंशनिय रहेको बताएका थिए ।

वडा अध्यक्ष ठाकुर गुरुङले खेलकुद मैदान देखि भौतिक पूर्वाधारका काम अझै बाँकी छ, छात्रावास भवन र शौचालय नभएको भन्दै यस तर्फ संघ र प्रदेशका सांसदहरुले ध्यान दिनु पर्ने बताएका थिए । साना बजेटले हुने काम हामीले गरि रहेका छौं र गरि रहने छौं तर ठुला वजेट चाहिने काम संघ र प्रदेश सरकारले सघाउने र नीरञ्जनामा भएका अधुरा काम पुरा हुनेमा आफु ढुक्क रहको बताएका थिए ।