प्रचण्डले मातहतका कमिटीलाई चार बुँदे सर्कुलर पठाए

Avatar photo
Dhadingpost
पुस ५, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मातहतका कमिटीमा चार बुँदे सर्कुलर जारी गरेका छन् । प्रचण्डले प्रदेश इन्चार्ज र अध्यक्षहरुलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णयअनुसार ४ बुँदे सर्कुलर पठाएको एक नेताले बताए ।

र्कुलरमा पार्टीका एक जना केन्द्रीय सदस्यलाई निलम्बन गरिएको विषय समेत उल्लेख गरिएको छ । पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंलाई पार्टीले निलम्बन गरेको हो । उनीमाथि अखिल क्रान्तिकारीकी एक महिला कार्यकर्तालाई अश्लील म्यासेज पठाएको आरोप लागेको छ । यसबारेमा सत्य-तथ्य बुझी आवश्यक छानविन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने पनि पार्टीले अनुशासन आयोगलाई निर्देशन दिएको छ ।

पुस ३ गतेको बैठकमा अध्यक्ष प्रचण्डले मुलुकको पछिल्लो विकसित राजनैतिक घटनाक्रम लगायतका समग्र विषयहरुमा संक्षिप्त रिपोर्टिङ समेत गरेको सर्कुलरमा उल्लेख छ । यस्तै, माओवादीले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा सबै पालिका समिति, जिल्ला समन्वय समिति र प्रदेश समितिस्तरमा सम्पन्न गरेर पौष मसान्तभित्र अनिवार्य रुपमा पठाउन निर्देशन दिएको छ ।