
धनगढी । ग्रेडरको ठक्करबाट बिहीबार १५ वर्षीया बालिका चेतना साउँदको मृत्यु भएपछि सुरुभएको आन्दोलन कारण आज दिनभरी धनगढी तनावग्रस्त बन्यो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन ३७ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार आन्दोलनमा सहभागी विद्यार्थी र अन्य गरी २१ जनालाई पक्राउ परेका छन् ।
आन्दोलनकारीले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका-५ स्थित पिपलचौतारा नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो ।
