
काठमाडौं । नेपालको संविधानको धारा ९३ को व्यवस्थाअनुसार मतपरिणाम प्राप्त भएको ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान हुनेछ । आयोगले पूर्वप्रतिबद्धताअनुसार मङ्सिर २२ भित्र मतपरिणाम राष्ट्रपतिसमक्ष पेस गरेमा पुस २२ भित्र अधिवेशन आह्वान भइसक्नुपर्नेछ । अधिवेशन सुरु भएको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन हुनेछ । अधिवेशन प्रारम्भसँगै सरकार गठन र विश्वासको मत लिने प्रक्रिया पनि अघि बढ्नेछ ।
संविधानको धारा ७६ को व्यवस्थाअनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्रीमा नियुक्त हुने व्यवस्था छ । निर्वाचन परिणाम प्राप्त भएपछि दलहरूले संसदीय दलका नेता चयन गर्नुपर्नेछ । एउटै दलको बहुमत प्राप्त नभएमा एकभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
दुवै प्रक्रियाबाट प्रधानमन्त्री चयन हुन नसकेमा प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई संविधानको धारा ७६ (३)बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
यो व्यवस्थाअनुसार पनि प्रधानमन्त्री चयन हुन नसकेमा बहुमतसिद्ध दाबीसहित प्रतिनिधि सभामा कायम रहेका कुनै पनि दलले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न सक्नेछन् । विश्वासको मत पाउने आधारसहित दाबी पेस भएमा राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसरी नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नपाएमा भने नयाँ निर्वाचनमा जानुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
