
काठमाडौं । अहिलेसम्म गणना भएको करिब २४ लाख मतलाई शतप्रतिशत मान्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख १४ हजार भन्दा बढी मत ल्याई राष्ट्रिय पार्टीको हैसियत सुनिश्चित गरेको छ ।
करिब पाँच महिना अगाडि मात्रै गठन भएको यस पार्टीले समानुपातिकतर्फको मतगणनामा आफुलाई राष्ट्रिय पार्टी बनाउँदै शानदार प्रदर्शन गरेको छ ।
निर्वाचन आयोगले आमनिर्वाचनमा १ करोड ९ लाख मत खसेको जनाएको छ । त्यसमा यदि सदर मत एक करोड भयो भने राष्ट्रिय पार्टी बन्न त्यसको ३ प्रतिशत अर्थात् ३ लाख मत ल्याउनुपर्ने हुन्छ । रास्वपाको मत तीन लाख कटिसकेकाले राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ ।
प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा २४–२५ सिट पुग्न सक्छ । यो भनेको संसद्को निकै बलियो शक्ति हो । भावी सरकार निर्माण यस पार्टीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ । यदि सत्तारुढ गठबन्धनको बहुमत आयो र उनीहरूमा विभाजन भएन भने रास्वपा प्रतिपक्षमा रहनेछ । अन्यथा सरकार कांग्रेस वा एमालेसँग मिलेर सरकारमा जाने बाटो खुल्छ ।
