
काठमाडौं । संघ र प्रदेशको निर्वाचन मिति नजिकिँदै गर्दा भोजपुुरका विभिन्न राजनीतिक दलले आआफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरूमा केन्द्रित गर्न थालेका छन्। कात्तिक १८ बाट चुनाव प्रचार–प्रसारका कार्यक्रम गराउन निर्वाचन आयोगको आचारसंहिता मिति सकिएसँगै चुनावी प्रचार–प्रसार सामग्री बोकेर दलहरू घरदैलोमा पुगेका हुन्।
उम्मेदवारहरू घरदैलोमा पुगिरहँदा ग्रामीण मतदाताहरू भने मेलापातमा व्यस्त छन्। अन्नबाली थन्क्याउने चटारोले ग्रामीण मतदाताहरूलाई भने यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ छ। चुनावी सरगर्मी सहरबजारदेखि गाउँबेंसीसम्म भए पनि अधिकांश मतदाताहरू मेलापातमा व्यस्त देखिएका हुन्।
‘चुनाव नेताहरू आए, हामी किसानलाई अन्नबाली कहिले थन्क्याउने भन्ने चटारो छ’, भोजपुर नगरपालिका बोखिमका स्थानीय दिलीप राईले भने, ‘नेता, कार्यकर्ताहरू घरदैलोमा हुन्छन्, हामी मेलापातमा’ धान काट्ने र बाली भित्र्याउने समयका कारण अधिकांश ग्रामीण क्षेत्रका मतदाता खेतीबारीमा व्यस्त छन्।
निर्वाचन आचारसंहिताका कारण पनि दल तथा उम्मेदवार अहिले दिनरात नभनी आन्तरिक भेला र घरदैलो अभियानमा मात्रै केन्द्रित छन्। अन्नबाली भित्र्याउने सिजन भएकाले पनि अधिकांश मतदाताहरू घरमा भन्दा मेलापातमा भेटिन्छन्। कतिपय उम्मेदवारहरूले बारी र मेलापातमै पुगेर मतदातालाई चुनावी नाराले फकाउने गरेका छन्। जनमत आफ्नो पक्षमा पार्न चुनावी प्रचारलाई तीव्र पारेका उम्मेदवार अगुवा नेता र कार्यकर्ताको हुल बाँधेर घरदैलोदेखि मेलापात गर्ने ठाउँसम्मै पुग्ने गरेका हुन्। अन्नपुर्णपोष्टबाट
