
काठमाडौं । आइतबार बिहान पोखराको साराङकोटमा प्याराग्लाइडिङ उडानका क्रममा २६ वर्षीय खेलाडी निसिम थापाको मृत्यु भए सँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । पोखरा महानगरपालिका-१८ स्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ उडिरहेको अवस्थामा अकस्मात सय मिटर माथिबाट खस्दा थापाको मृत्यु भएको जनाइएको थियो ।
प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्न अर्को व्यवस्था नहुन्जेलसम्मलाई प्याराग्लाइडिङ उडानमा रोक लगाईएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौला बताए ।
प्राधिकरणले प्याराग्लाइडिङ उडान खेलसम्बन्धी नीति, नियम तथा कानुनहरू व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय गरेको छ । उडान खेलअन्तर्गत पर्ने प्याराग्लाइडिङमा पछिल्ला दिनमा दुर्घटना बढेपछि प्राधिकरणले उडानमा रोक लगाएको हो ।










































