
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छिन् । प्राधिकरणका उच्च तहका कर्मचारीलाई आज मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु विदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अभिछिन्न विद्युत सेवा प्रवाह गर्न निर्देशन दिईन् ।
“जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ । जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन ।” केही बेर पनि विद्युत गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै सो हुन नदिन उच्च सतर्कता अपनाउन उनले आग्रह गरिन् ।
सो अवसरमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरु जस्तोसुकै असहज परिस्थितीमा पनि सेवा लागिरहेको र यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिए । कार्यक्रममा विद्युत प्राधिकरणका उच्च अधिकारीको सहभागीता थियो ।





































