नेत्रावती डवजोङ ब्याडमिन्टनमा अमरको जोडी प्रथम

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ६, २०७९

धादिङ । प्रथम नेत्रावती डवजोङ ब्याडमिन्टन प्रतियोगितामा अमर गुरुङ र फलबहादुर गुरुङको जोडी प्रथम भएको छ । यो जोडीले फाईनलमा बिजय गुरुङ र दूधबहादुर गुरुङको जोडीलाई पराजित गरेको थियो ।

काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नं. ५ लोलङ्ग स्थित हरियाली समाज ब्याडमिन्टन हलमा बुधबार सम्पन्न उक्त नेत्रावती डवजोङ गाउँपालिका स्तरीय प्रथम नेत्रावती डवजोङ ब्याडमिन्टन प्रतियोगितामा ३० जना खेलाडीहरुका १५ जोडीले सहभागिता जनाएका थिए ।

नेत्रावती डवजोङ गाउपालिका, धादिङको आर्थिक सहयोगमा संचालित उक्त प्रतियोगिता मार्पाक भेट्रान्स ब्याडमिन्टन टिम र मार्पाक भेट्रान्स फुटसल टिमले संयुक्त रुपमा आयोजना गरेको हो ।

तारकेश्वर नगरपालिकाका उपमेयर सृजना बुर्लाकोटी (अर्याल) को प्रमुख आतिथ्यता रहेको पुरस्कार वितरण तथा प्रतियोगिता समापन कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष शम्भु फुयाल, नेत्रावती डवजोङ गाउपालिका वडा नं. १ का वडाध्यक्ष ठाकुर गुरुङ तथा वडा नं. ५ का भुतपुर्ब वडाध्यक्ष डम्बर अधिकारी समेतको उपस्थिति रहेको थियो ।

च्याम्पियन हुने टिमले नगद रु ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र साथै उपबिजेता हुने टिमले नगद रु ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने प्रतियोगितामा सहभागी भएका सबै खेलाडीहरुलाई प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो भने प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गर्नुहुने सहयोग दाताहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।