सामूहिक हत्याका अभियुक्त कांग्रेस नेता आलमलाई संघीय संसद्को उम्मेदवार सिफारिस

Avatar photo
Dhadingpost
भदौ १६, २०७९

काठमाडौं । नेपाली कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि संघीय संसद्को उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका आलमलाई कांग्रेसले रौतहटले संघीय क्षेत्र नं. २ को संसद्को उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

२०६४ साल चैत २७ गते रौतहटको फरदवम गाउँमा बम विस्फोट भयो । विस्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भयो । भने एक दर्जनभन्दा बढी घाइते भए उक्त घटनाको अभियुक्तका रुपमा प्रहरीले १२ वर्ष पछि मोहम्मद अफ्ताब आलमलाई पक्राउ गरेको थियो ।

प्रहरी छानबिनमा आलमले नै संविधानसभा चुनावमा ुबुथ क्याप्चरु गर्ने उद्देश्यले सीमापारिबाट मान्छे ल्याएर बम बनाउन लगाएको तथ्य खुल्यो। बम बनाउने क्रममा पड्किएर दुई जनाको घटनास्थलमै मृत्यु भएको र ११ जना गम्भीर घाइते भएको प्रहरीले पत्ता लगायो। बमकाण्ड लुकाउन आलमले ती ११ जना घाइतेलाई इँटाभट्टाको भुंग्रोमा हालेर हत्या गरेको आरोप गाउँलेले लगाए।

प्रहरीले आलमलाई कार्यालय उपस्थित हुन ताकेता गर्‍यो। घटना घटेको दुई महिना पछि २०६५ साल असार ९ गते आलम जिल्ला प्रहरी कार्यालयमा हाजिर भए। आलमसहित उनका ५ जना कार्यकर्तालाई समेत विपक्षी बनाएर प्रहरीले मुद्दा तयार गर्‍यो।

सरकारी वकिलको कार्यालयको निर्णय र आलमविरूद्ध शेख रुक्सना खातुन र श्री नारायण सिंहले सर्वोच्च अदालतमै रिट हाले। रिटको सुनुवाइ गर्दै २०६९ साल जेठ १६ गते तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दियो।

तर अदालतको आदेश कार्यान्वयन भएन। खातुन र सिंहले सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयमा उजुरी दिए। पक्राउ गर्न पुनः आदेश जारी भयो। राजनीतिक रूपमा प्रभावशाली आलमलाई फेरि पनि प्रहरीले पक्राउ गरेन।

यसैबीच आलमविरूद्ध उजुरी दिने शेख रुक्सना खातुनको गोली हानी हत्या भयो। खातुनको हत्यामा पनि आलमको हात रहेको प्रमाण भेटछेपछि पक्राउ गरि कानुनी दायरामा ल्याईएको तात्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बताएका थिए ।