धादिङका नेता नेत्रराज पौडेल फेरि एमाले मै सक्रिय

Avatar photo
Dhadingpost
आइतवार, भदौ ५, २०७९

धादिङ । एमाले र माओवादी मिलेर पार्टी एकीकरण हुँदा नेकपा धादिङको अध्यक्ष हुनुभएका नेत्रराज पौडेलले ०७७ साल पुस २२ गते सक्रिय राजनीति नगर्ने घोषणा गरेका थिए । उनले उक्त मितिमा फेसबुकमा लामो स्टाटस लेख्दै अब राजनीति नगर्ने घोषणा गरेका थिए । अब उनी २ वर्ष पछि फेरि एमालेको सक्रिय राजनितिमा फर्किएको एमाले धादिङ जिल्ला कमिटी सदस्य एवम् संचारकर्मी रामेश्वर कार्कीले बताए ।

धादिङमा एमालेलाई थप एकतावद्ध बनाउने गहन जिम्मेवारी सहित नेत्रराज सरले सक्रिय राजनीति गर्नुभएको उनले बताए । एमाले थाक्रेको छैटौं गाउँ कमिटीको बैठकमा समेत पौडेलको उपस्थिति रहेको थियो ।

कार्कीले पौडेल फेरि एमालेका सक्रिय बनेको पुष्टि गर्दै आफ्नो सामाजिक संजालमा लेखेका छन् – पार्टी र नेतृत्वलाई नयाँ शिराबाट एकताबद्ध बनाउने सुत्राधारको गहन जिम्मेवारी सहित नेकपा एमालेका सालिन एवं समन्वयकारी नेता आदरणीय कमरेड नेत्रराज पौडेल आजैका मितिदेखि पार्टी गतिविधिमा सक्रिय हुनुभएको छ ।

यसबीचमा पार्टी नेतृत्वको पटकपटकको आग्रह र भूगोलका कार्यकर्ताले एक असल अभिभावकको अभाव खड्किएको महशुस गरि पुन: सक्रिय राजनीतिमा फर्कन गरेको अनुरोधलाई सम्मान गर्दै आज मिति २०७९/०५/०४ गते आफ्नो आधारभूमि नेकपा एमाले थाक्रेको चुनाबी समिक्षा सहितको छैठौं पूर्ण बैठकमा अतिथिको रुपमा सहभागी हुनुभएको हो । उहाँले विश्राम लिंदा असहमत भएको विषयमा पार्टी केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराई पार्टी नेतृत्वकै रोहवरमा घनिभुत छलफल चलाई धादिङ एमालेलाई सवल र सुदृढ बनाउन एकताको सुत्राधार बनेर पुन: पार्टी काममा फर्कनुभएको हो ।

आशा छ यस बीचमा उहाँको अनुपस्थितिका बेला पार्टीभित्र देखा परेको समस्या समाधानमा उहाँको महत्त्वपूर्ण भूमिका रहनेछ । पार्टीलाई एकताबद्ध बनाई धादिङमा एमालेको विरासतलाई पुनर्जीवित गर्न सञ्जिवनीको भूमिका कमरेड नेत्रराज पौडेलबाटै संभव छ । उहाँको पुनरागमनले पार्टी प्रति वफादार हजारौं कार्यकर्तामा खुशियाली छाएको छ ।