परिवार नियोजनको किटमा नमुना लिङ्ग राखिएपछि विवाद

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १०, २०७८

भारतको पश्चिमी राज्य महाराष्ट्रमा स्थानीय स्वास्थ्यकर्मीहरूले जनचेतना अभिवृद्धि गर्न प्रयोग गर्ने परिवार नियोजनको किटमा रबरको नमुना लिङ्ग राखिएको कुराले विवाद उत्पन्न भएको छ । विपक्षी सांसदहरूले त्यस्ता सामानले महिला स्वास्थ्य कार्यकर्ताहरू अप्ठेरोमा पर्ने भन्दै आपत्ति जनाएका छन्। प्रजनन स्वास्थ्य र परिवार नियोजनका उपायबारे जनचेतना फैलाउन उनीहरूले त्यस्तो किट प्रयोग गर्दै आएका छन् ।

तर केही महिला स्वास्थ्य कार्यकर्ताहरूले आफूहरूले बिनासङ्कोच रबरले बनेको लिङ्गको नमुना प्रयोग गर्ने गरेको बताएका छन् । उक्त किटमा रबरको गर्भाशय पनि हुन्छ । तर त्यसले कुनै प्रश्न उठेको छैन । त्यस्ता किटहरू मान्यताप्राप्त सामाजिक स्वास्थ्य कार्यकर्ताहरूलाई दिइएको छ । उनीहरू भारतको प्राथमिक र सामुदायिक स्वास्थ्य कार्यक्रममा महत्त्वपूर्ण मानिएका छन् ।

उनीहरू सर्वसाधारणलाई प्रजनन स्वास्थ्य र परिवार नियोजनका साधनबारे जानकारी दिन घरघरमा जान्छन् । यो काम गर्दा निकै संवेदनशीलता आवश्यक पर्छ किनभने यौन भारतका धेरै ठाउँमा अझै पनि छलफल गर्न वर्जित विषय हो ।

महाराष्ट्रस्थित सार्वजनिक स्वास्थ्य विभागकी निर्देशक अर्चना पाटिलले लिङ्गको नमुनासहित करिब २५,००० वटा किट राज्यका ग्रामीण स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीहरूलाई वितरण गरिएको जानकारी दिइन् । उनका अनुसार लिङ्गको नमुनाबारे बुल्धाना जिल्लाबाट मात्रै नकारात्मक प्रतिक्रिया आएको बीबीसीले जनाएको छ ।