रुवीभ्याली गुरुङ गाँउको चर्चा

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २, २०७८

धादिङमा पनि गुरुङ छ ? रुवीभ्यालीको गुरुङहरु गुरुङनै हुन र ? प्रश्नको जवाफ खोज्ने क्रममा ९ वर्ष पहिले गरेको शोधखोज ।
रुवीभ्यालीको ५ गुरुङ गाँउहरु एक चर्चा

परिचय
गणेश हिमालको फेद, आँखु खोला (नेत्रवती पनि भनिन्छ) को मुहान, सेतो दह, कालो दहको छेउछाउ र तातोपानी जस्ता लुकेका प्राकृतिक मनोरम स्थलहरुको समीपमा केहि पिछडिएका गुरुङ वस्तीहरु रहेका छन् । बाक्लो तामाङ वस्ती, घले र केहि विश्वकर्मा पनि रहेको यस उत्तरी भेगमा पाँच गुरुङ गाँउहरु साविकको सेर्तुङ गाविस अन्तर्गत चालिस गाँउ र लापा गाविसमा रहेका खादिङ, लाप्चेत, रिचेत र तीर गाँउहरु छन् । यहाँ घरहरु गजुमुजुक्क मित लाउन बसेका जस्तै देखिन्छन् । धादिङ जिल्ला अन्तर्गत पर्ने यी गाँउहरु तिब्बतको सीमाना नजिक छन् । लगभग १८०० जनसँख्या रहेको यस गुरुङ बस्तीहरु दुरी र सम्बन्धको हिसाबले एक अर्कामा धेरै निकट छन् ।

ऐतिहासिक पृष्ठभूमि
धादिङ जिल्लाको यी गाँउहरू कसरी यहाँ अबस्थीत हुन आए भन्ने कुनै लिखित् इतिहास भेटिएको छैन । गुरुङहरुको मुल थलो मानिने नेपालको गण्डक क्षेत्र भएको कुरा इतिहासले पनि वताँउछ । गण्डक क्षेत्र भन्नाले कास्की, लम्जुङ, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, गोरखा र तनहुँ जिल्लाहरु पर्दछन् । (तमु धनवहादुर २०६७)

गण्डक क्षेत्र अन्तर्गत नपर्ने धादिङ जिल्लाका यी गुरुङहरु यहाँ कसरी छुट्टीएर आए भन्ने प्रश्न रहस्यात्मक छ । यहाँका वुढापाकाहरु वा जान्ने सुन्नेहरु आफ्नो बाउबाजेबाट सुन्दै आएको किंवदन्तीमा विश्वास गर्दछन् । धेरै वर्ष पहिले हिरु र बिरु गुरुङ दुई दाजु भाइ घान्द्रुक लान्द्रुक गाँउबाट तामा खोज्न यहाँ आएका थिए ।

यहाँ ठुलो घना जँगल भएकोले तामा खोज्ने क्रममा ती दुई दाजु भाइ छुट्टिए । जङ्गल, पहरा, कन्दरा र भिर चाहार्ने क्रममा ती दुई भाइले बनाएको प्वालहरु नै ऐतिहासिक प्रमाण ठान्छन् यी अग्रज पाकाहरु । दाइ हिरुले तामाको खानी भेट्टाए तर भाइले भेट्टाउन सकेन । तामा नभेटिएपछि भाइ हैरान हुदै घर फर्कने सुरले दाइलाई खोजे । दाइ आफुले प्राप्त गरेको तामा भाइसँग बाँड्नुपर्ने भएकोले भाइलाई भेट्न चाहेन । भाइले नदेख्ने गरि लुके । भाइ बिरु दाईलाई बोलाउदै खोजि गरे ।

सँयोगवस भाइले दाईको खुट्टामै कुल्चन पुगेपछि भाइले पत्ता लाए दाई लुकेको स्थान र रहस्य । आफुले प्राप्त गरेको तामा भाइसँग बाँड्न नचाहेपछि भाइ बिरु दाइसँग नबसी जहाँबाट आएको हो । त्यहि फर्के । यसरी दाइ हिरु एक्लै यस ठाँऊमा बसेकोले भाषा, सँस्कृती, भेषभुषा पनि हराएको हुन सक्ने अनुमान गर्न सकिन्छ भने यी एक्लो हिरु गुरुङ कसरी घरजम गरी बसे भन्ने अँश यस किंवदन्तिमा अपुरो नै देखिन्छ ।

तमू राज्य वृतान्तः
६०० वर्ष पहिले विक्रमको पन्ध्रौ शताव्दीको अन्त्यतिर कास्कीको राजा जगतिखान शाहले गुरुङ राज्य हातमा लिएपछि गुरुङहरुको सम्पर्क खस, वाहुन, ठकुरी र दलित सँग भए । (गुरुङ ,डा. जगमान २०६७ः प्र. ५९) यसरी हिन्दु धर्म संस्कृति र खस भाषाको प्रभाव बढ्दै गएको देखिन्छ । द्रव्य शाहले वि.स. १६१६ भद्रौ २५ गते विहिवार उपल्लो कोटका लिगलिगको घले राजालाई जितेर गोरखाको गद्दिमा बसेका थिए भने राम शाहले बारपाक, स्यारतान, अठारशय खोला र सल्यानलाई परास्त गरे । चरङ्गे , धादिङ, कटुन्जे र सामरिका जनताले घले राजालाई मानेका रहेछन्, तिनीहरुलाई रामशाहले परास्त गरि राज्य गरे । यसरी तीन पुस्तै लागेर गुरुङहरुको राज्य निर्मुल पारेपछि गुरुङहरु गण्डक राज्यबाट विस्थापित भई धादिङ, रुपन्देहि, काठमाण्डौ, चितवन, नवलपरासी, रसुवा, नुवाकोट गरी ४५ भन्दा वढि जिल्लाहरुमा सर्ने काम भयो । (गुरुङ ,बालकुमार, २०६७)

भाषा र भेषभुषाः
गण्डक क्षेत्रबाट विस्थापित भई सर्ने क्रममा यहाँका गुरुङ्हरु पनि खसहरुको सम्पर्कमा रहदै गणेश हिमालको फेदसम्म आइपुगेको हुनसक्ने अनुमान गर्न सकिन्छ । यी गुरुङहरु आफुले बोल्ने भाषालाई खस भाषा ठान्दछन् । यिनीहरुले पुर्खौदेखि गुरुङ भाषा बोल्दैनथे । यो भाषा पूर्ण रुपमा न त खस न नेपालीसँग मेल खान्छ बरु यसको आफ्नै भाषिक बिशेषताहरु पाइन्छ । हाल तमू तमु ह्युला छोंज धि गुरुङ राष्ट्रिय परिषदले भाषिक प्रशिक्षण कार्यक्रम गरिरहेको छ । यहाँ हिन्दु सँस्कृतिको प्रभाव र भेषभुषाको अनुसरण गरेको देखिन्छ । आदिकालदेखि नै पुरुषहरुको दौरा सुरुवाल, धाका टोपी परम्परागत भेषभुषा हो भने हाल गुरुङ भेषभुषा लगाउने प्रचलन पनि बढ्दै गएको छ । महिलाहरुले गुन्यूचोली, पछयौरी र लुङ्गी नै आफ्नो प्म्परागत भेषभुषा भएपनि हाल गुरुङ भेषभुषा लगाउने चलन दिनानु दिन बड्दै गएको छ ।

चाडपर्व तथा नाचगानः
यहाँ दशै र तिहारलाई महान चाडको रुपमा मनाउछन् भने चैते दशैं, एकादसी, तीज र अन्य हिन्दु चाडपर्वहरु मनाउदै आएको पाइन्छ । यहाँ विगत केहि वर्षदेखि गुरुङहरुको महान चाड नयाँ वर्ष (ल्होसार) पनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ मनाउदै आएको पाईन्छ ।
यी गुरुङ्हरुले आफुलाई गुरुङ्को रुपमा चिनाउन सक्ने सँस्कृतिहरु घाँटु, मारुनी, सोरठी र रोधी हुन् । यहाँ बिशेष नाचको रुपमा घाँटुलाई लिइन्थ्यो तर यो हाल लोपोन्मुख अवस्थामा छ । मारुनी नाँच भने अझै चाड पर्वमा प्रस्तुत गरिन्छ । यस समुदायमा रोधी बस्ने प्रचलन अझै जीवितै छ ।

जेठको पन्ध्रतिर हरेक वर्ष वायु पुजा गर्ने चलन छ । यसलाई कुल पुजा पनि भनिन्छ । स्मरणले भ्याएसम्मका आफ्नो कुलको मृत आत्माहरूलाइ ढुँगाको मूर्ति बनाइ विभिन्न परिकार चढाइन्छ । कुल नछुटेका वा एउटै खलकका सबै भैला भई मिष्ठान्न भोजनका साथ यो चाड मनाइन्छ ।

यहाँ आइताबारे पुज्ने प्रचलन पनि रहेको छ । असारको पहिलो हप्ता हुने यो पुजा अन्डा र चामलको अक्षता प्रकृतिलार्इ चढार्इन्छ । यो पुजा गर्दा वस्तुभाउको कुनै हानि नोक्सानी नहुने विश्वास गर्छन् यी गुरुङहरू । यहाँ वर्षको एकचोटि जेठको अन्तिम हप्ता भवानी पुजा गरिन्छ । गाँउलाई कुनै प्रलय नहोस् भनी भवानी देबीलाई खसी वा बोका चढाई यो पर्व मानिन्छ ।

परम्परागत प्रथाः
गाँउको धनिमानिको अन्नपात एक ठाँउमा जम्मा गरिन्थ्यो । सो अन्न्न समस्या परेको बेला जो कसैले व्याजमा लिन सक्दथे । यसको व्यवस्थापन मुखिया र अन्य सदस्यहरुद्वारा गरिन्थ्यो जसलाई धर्मभकारी बाँध्ने भनिन्थ्यो तर हाल मृतप्रायः छ । पालैपालो काम गर्नको लागि गाँउको तन्नेरी, प्रौढ, युवायुवतीहरु आआफ्नो दौतरिहरुको समूह बनाइन्छ जसलाई पर्म प्रथा भनिन्छ । यसरी काम गर्दा रमाइलो र मनोरन्जन पनि हुने भएकोले त्यहाँका गुरुङ समुदायमा यो प्रथा लोकप्रिय छ ।

यहाँ प्रथागीतहरु पनि गाईन्छ । जसको शाब्दिक अर्थ स्पष्ट नभएपनि लोकलयमा जोशपुर्वक गाइन्छ ।
जस्तै मकै गोड्दा गाइने प्रथा गीतः
पुरुष पक्षः हाँई हो लिँगिमा हो लिँगिमा…२
महिला पक्षः लिँगिमा लिँगिमा हो लिँगिमा ।
दाउरा वोक्दा वा घरको छानो छाउने फल्याग वोक्दा गाइने
प्रथा गीतः
पुरुष पक्षः हो हइसे हो हो लालिमय
महिला पक्षः हो लालिमय गो खेदाला
पर्व गीतः
तिहारमा देउसी खेल्दा नाचको रुपमा पुरुषहरु एक सार्इडमा र महिलाहरू अर्को साईडमा अँगालोमारी बीचमा मादले पनि खुट्टाको ताल र गीत मिलाइ नाँचिन्छ ।

जस्तैः
पुरुष पक्षः हाई न्यालो सक्छ सक्छ ब्रुस
महिला पक्षः हाई न्यालो सईना सईना ब्रुस
सुझाव तथा निष्कर्ष
१. आफ्नो सँस्कृति जोगाउन प्रेरित गर्नु पर्ने ।
२. चाडपर्व, रीतिथितिलाई जीवित राख्न यसमा भएको खराब पवृतिलाई त्याग्नुपर्ने ।
३. लोकनाच, लोकगीत, प्रथालाइँ जर्गेना गर्न यसलाई लिपिबद्घ गर्नु पर्ने ।
४. भेषभुषालाई प्रचलनमा ल्याउन हरेक चाढपर्वमा अनिवार्य गर्नु पर्ने ।
५. भाषा प्रशिक्षण गर्नु, गराउनु पर्ने ।
६. भाषा संस्कृती बिज्ञ (गुरुङ) तथा अनुसन्धानकर्ताहरूको आँखा यस्तो पिछडिएको र लिखित इतिहास नभएको ठाँउमा पर्नु पर्ने ।
शोधार्थीः तेज बहादुर गुरुङ