नेपाललाई भुटानले ३ लाख डोज कोरोना खोप दिने

Avatar photo
Dhadingpost
आइतवार, साउन १७, २०७८

काठमाडौं साउन १७ । नेपाललाई भुटानले कोरोना विरुद्धको ३ लाख डोज अस्ट्राजेनेका खोप दिने भएको छ । अन्य देशहरुबाट प्राप्त खोप आफ्ना मुलुकका नागरिकलाई लगाइसकेपछि उब्रिएको करिब ३ लाख डोज नेपाललाई भुटानले दिने भएको हो ।

७ लाख ८० हजार जनसंख्या रहेको भुटानमा अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत ५ लाख मोडर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका, क्रोएसिया, बुल्गेरिया र अन्य केही मुलुकबाट अस्ट्राजेनेकाकै एक लाख, कोभ्याक्स सुविधाअन्तर्गत सिनोफार्मको ५० हजार डोज भित्रिएको थियो ।

भुटानबाट खोप ल्याउने सम्बन्धमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा पनि छलफल भएको थियो । भुटानबाट आउने खोपले काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई दोस्रो डोज दिन पुग्ने अनुमान गरिएको छ । आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि उब्रिएको करिब ३ लाख डोज नेपाललाई सहयोग गर्न भुटानले चाहेको सरकारी अधिकारीको भनाइ छ ।

जनस्वास्थ्यविद् डा. शरद वन्तले पहिलो डोज लगाएकाले १६ सातासम्म दोस्रो डोज लगाउन हुने बताए । ‘जति पछाडि लगायो, त्यति नै प्रभावकारी हुन्छ । १२ देखि १६ सातासम्म दोस्रो डोज लगाउन सकिन्छ

सरकारले फागुन अन्तिम साता करिब १४ लाख ज्येष्ठ नागरिकलाई अस्ट्राजेनेकाको पहिलो डोज खोप लगाएको थियो । भुटानबाट ३ लाख डोज आउने भए पनि अझै ११ लाख डोज आवश्यक पर्छ । त्यसका लागि टोकियो ओलम्पिक सकिएपछि जापानबाट खोप व्यवस्थापन हुने सरकारी अधिकारीले जनाएका छन् ।