धादिङका ६ जना चुनावी मैदानमा, भोली एनआरएनए युके, पोर्तुगल, अष्ट्रिया र अष्ट्रेलियाको चुनाव

Avatar photo
नारायण सिलवाल
शुक्रबार, साउन १५, २०७८

धादिङ साउन १५ । गैर आवासिय नेपाली संघ (एनआरएनए) युके, पोर्तुगल, अष्ट्रिया र अष्ट्रेलियाको चुनाव ३१ जुलाई अर्थात भोली शनिबार हुँदैछ ।

गैर आवासिय नेपाली संघ अष्ट्रियाको नयाँ कार्य समितिका अध्यक्ष पदका लागि अष्ट्रिया बस्दै आएकी धादिङ ज्वालामुखी गाउँपालिका मैदीमा जन्मी हुर्केकी धादिङकी चेली भवानी तिवारी चुनावी मैदानमा छिन् ।

यस्तै गैर आवासीय नेपाली संघको आईसीसी सदस्य पदमा समेत रहेका धादिङबेसी सदरमुकाममा घर भई पोर्तुगलमा बस्दै आएका रविन अधिकारी एनआरएनए पोर्तुगलमाको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

त्यस्तै धादिङबेसी घर भई विगत एकदशक पहिला देखि अष्ट्रियामा रहँदै आएका कुमार अधिकारीले एनआरएनए अष्ट्रियाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । समाज सेवामा रुची राख्ने कुमार अधिकारी २०२१-२३ को उपाध्यक्ष पदका लोकप्रिय उम्मेदवारी हुन् ।

यसैगरी धादिङ मलेखु घर भई बेलायतमा बस्दै आएकी प्रसुना कडेलले एनआरएनए यूकेको २०२१-२३ कार्यकालको लागि महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन् ।

त्यसैगरी धादिङ गंगाजमुना गाउँपालिका फुलखर्क घर भई अस्ट्रेलियामा बस्दै आएका सुजन अधिकारीले कार्य समिति सदस्यका लागि साउथ अस्ट्रेलियाबाट राष्ट्रिय समन्वय समिति सदस्यमा उम्मेदवारी दिएका छन्।

यस्तै धादिङको नीलकण्ठ नगरपालिकाको चेली गीता भण्डारी रायमाझी एआरएनए यूकेको कार्यकारी सदस्य मा उम्मेदवारी दिएकी छिन् । आफ्नो जित सुनिश्चित रहेको भण्डारी बताउँछिन् ।

आज सम्पन्न एनआरएन जापानको निर्वाचनमा धादिङका ५ जना उम्मेदवार मध्य २ जनाले मात्रै जित हात पारेका छन् । विजयी हुनेमा उपाध्यक्षका उम्मेदवार धादिङ गंगाजमुना गाउँपालिकाका राजकुमार अधिकारी र सचिवमा नीलकण्ठ नगरपालिकाका श्याम सितल विजयी भएका छन् । अध्यक्षका उम्मेदवार आदमघाटका किरण बर्मा, कोषध्यक्षका उम्मेदवार नेत्रावती डवजोङका कृष्ण खनाल र आईसीसी सदस्याका उम्मेदवार थाँक्रे गाउँपालिकाका रामहरी पुडासैनी पराजित भएका छन् ।

यस्तै एनआरएन बेल्जियमको निर्वाचन जुलाई २६ मा सकिएको छ जसमा धादिङबाट उपाध्यक्षमा कासी दनै र महासचिवमा रमेश कडेलले उम्मेदरी दिएकोमा रमेश कडेल विजयी भएका थिए ।