जिल्ला अस्पतालमा ४ जना मात्रै स्वास्थ्यकर्मी, कोभिड अस्पतालमा १ जना मात्रै, अक्सिजन सिलिण्डर भर्न लान पनि एम्बुलेसकै प्रयोग

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २५, २०७८

धादिङ बैशाख २५ । धादिङबसी स्थित जिल्ला अस्पताल अहिले ४ जना मात्रै स्वास्थयकर्मीले सेवा दिई रहेका छन् । हप्ता दिन देखि लगातार ४ जनाले मात्रै सेवा दिई रहेको जिल्ला अस्पतालका ४० जना स्वास्थ्यकर्मी कर्मचारीहरु कोरोना संक्रमित छन् ।

ओपीडी सेवा मात्रै सेवा प्रवाह भैरहेको जिल्ला अस्पतालमा हाल ज्वरो क्लिनिक सहित अन्य सेवामा २ जना चिकित्सक र २ जना आकस्मिक सेवाका स्वास्थयकर्मी हप्ता दिन देखि निरन्तर डिउटीमा छन् । यस्तै सदरमुकाम धादिङबेसीमा रहेको ५० शैयाको कोभिड अस्पतलामा समेत हाल १ जना स्वास्थ्यकर्मीले मात्रै सेवा दिई रहेका छन् ।

यो विषम परिस्थितिमा जिल्लामा रहेका अन्य स्वास्थ्यकर्मीहरु वा अन्य वैकल्पित उपायमा भने पनि जिल्ला अस्पतालमा स्वास्थयकर्मी थपेर सेवा दिनु पर्ने विषयमा जिल्ला अस्पताल व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन र तीनै तहका सरकारहरुले ध्यान दिएको देखिएको छैन ।

यस विषयमा कुरा गर्न हामीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । के छ समस्या भनेर हामीले निरन्तर सेवामा लागि रहनु भएका स्वास्थ्यकर्मी कृष्णलाल उप्रेतीलाई जिज्ञासा गर्दा उहाँ भन्नु हुन्छ, ४० जना सहकर्मी स्वास्थ्यकर्मीहरु संक्रमित हुनुहुन्छ, सेवा दिन हामी ४ जना अहिले खटिरहेको छौं, दैनिक २५ वटा अक्सिजन सिलिण्डर खाली हुन्छ सिलिण्डर काठमाडौं लैजान साधनको अभाव हुँदा एम्बुलेन्स मै भर्न लाने र ल्याउने गरि रहेका छौं ।

अक्सिजन सिलिण्डर भर्न काठमाडौमा लाईनमा बस्नु पर्ने वाध्यता त्यस्तै छ । कम्तिमा पनि त्यो २५ वटा सिलिण्डर बोक्ने गाडी र भरेर ल्याईदिने व्यवस्था सरोकारवाला निकायबाट भए पनि हामी अहिले सेवामा खटिरहेका रहेका स्वास्थ्यकर्मीहरुलाई राहात हुन्थ्यो भने एम्बुलेन्सले पनि बिरामी बोक्न पाउँथ्यो, उप्रेती बताउनु हुन्छ । ।