सङ्क्रमणबाट बालबालिकालाई जोगाउन सन्तुलित खाना महत्वपूर्ण

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १८, २०७८

काठमाडौं बैशाख १८ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले देश आतङ्कित भई रहेको छ भने मौसम परिवर्तनको कारण अहिले विभिन्न खाले संक्रमणको जोखि बढेकाल बालबालिकालाई सन्तुलित खानामा ध्यान दिनुपर्ने पोषणविद्हरुको धारणा छ ।

पद्मकन्या क्याम्पसको होम साइन्स विभागको प्रमुख पोषणविद् डा. जया प्रधान भन्नुहुन्छ, अहिले कोरोनाको दोस्रो लहरले देश त्रसित भएको अवस्था छ । यस्ता महामारीसँग लड्नको लागि शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुभन्दा अरु विकल्प अहिले देखिएको छैन ।

उहाँले हाम्रो भान्छामा नियमित प्रयोग हुने जिरा, मरिच, बेसार, धनियाँ दालचिनी र दैनिक रुपमा प्रयोग गरिने ल्वाङ, तुलसी, पिपला, अदुवा, लसुन, कागती, टिमुर, मह आदिले पनि हाम्रो रोग प्रतिरोधक क्षमता बढाउने जानकारी दिनुभयो ।

खानाको साथ साथै हामीले घरमा बसेर पनि ब्यायाम गर्न सकिन्छ जसले थप रोग प्रतिरोधक क्षमता बढाउन मद्दत गर्ने पनि प्रष्ट पार्नुभयो । डा.प्रधानले खाना खाने मात्र नभएर खानेकुरालाई कसरी स्वच्छ राख्नुपर्ने कुरामा पनि ध्यान दिनुपर्ने धारणा ब्यक्त गर्नुभयो । जनस्वास्थ्य तथा पोषणविद् डा.अरुणा उप्रेती पनि अभिभावकलाई आतङ्कित नहुन सुझाव दिनुहुन्छ । बालबालिका साबुनपानीले हात धुनुपर्छ भन्ने सिकाउनुको साथै नाक, मुखमा हात लैजान नहुने पनि ज्ञान दिनुपर्छ ।

मौसम परिवर्तनको कारण सामान्य रुघा, खोकी लाग्न सक्ने भएकोले पोषिलो खानेकुरा खानुपर्छ भने बालबालिकालाई क्वाटीको झोल अथवा मन तातो पानी वा दूध बेसार र कालो मरिज मिसाएर दिनुपर्छ उहाँ थप्नुहुन्छ, यो खाने कुराले कोरोना सङ्क्रमणको लागि नभएर रोगसँग लड्ने क्षमता बढाउनको लागि हो ।

रोगसँग लड्ने क्षमता विकासले रोग लाग्न नदिने हो त्यसलै रुघा, खोकीबाट बच्नुपर्छ जसले निमोनिया हुन दिंदैन । अहिले झाडा, पखाला लाग्ने पनि मौसम भएकोले कारण हात धुने बानीले यस प्रकारको रोगबाट पनि बच्च मदत गर्ने पनि डा.उप्रेतीले जानाकारी दिनुभयो ।

घरेलु उपचार तथा प्राथमिक उपचारले निको नभए भीडभाड नहुने गरी जांँच गराउने ब्यवस्था गर्नुपर्छ । बालबालिकालाई चम्चाले खाना खाने अभ्यास गराउनुपर्छ, बालबालिकालाई छुँदा, खुवाउँदा, खेलाउँदा, कपडा फेरीदिंदा साबुनपानीले राम्रोसँग हात धुनुपर्ने बताउनुभयो ।

सन्तुलित खानाको लागि हरियो सागसब्जी, फलफुल, दूध, घ्यु, दही, दाल, गेडागुडी, बदाम, काजु, गेडागुडीको रस दैनिक खुवाउने ब्यबस्था गर्नुपर्छ । रक्सी खाएमा कोरोना भाइरस मर्छ भन्ने ठूलो भ्रम छ, डा. उप्रेती भन्नुहुन्छ, अल्कोहल कन्टेन्ट स्यानिटाइजरले हात सफा गर्ने हो अल्कोहल खाने व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुन्छ्र संक्रमित व्यक्तिले अल्कोहल खाएमा मृत्यु हुन सक्छ ।

उहाँले लसुन, बेसार, गुर्जो, अदुवा आदिले कोरोनालाई सन्चो गर्ने हैन रोगसँग लड्ने क्षमता बढाउने हो, गोमूत्र सेवनले भाइरस मर्दैन अरु अरु सङ्क्रमण हुनसक्ने जानकारी दिनुभयो । यसैगरी प्राध्यापक तथा बालमनोविज्ञ निर्मला उप्रेतीले बालबालिकाको अहिले भएको बिदाको समयमा धेरै कुरा सिकाउन सकिने जानकारी दिनुभयो ।

कोरोनाको त्रासमा परिरहेको बालबालिकालाई घरभित्रको काममा रमाउने बातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले धेरै कुरा अभिभावकले आफ्ना छोराछोरीलाई सिकाउन सकिन्छ खानेकुरा पकाउने सिकाउने जसले गर्दा बालबालिकालाई समयको पनि उपयोग हुन्छ भने भविष्यमा अात्मनिर्भर बन्न पनि सजिलो हुन्छ । गोरखापत्रबाट