सबै जिल्लामा एकैपटक खोप दिने सरकारको योजना

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ९, २०७७

काठमाडौं माघ ९ । भारतले अनुदानमा उपलब्ध गराएको कोभिड– १९ विरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप सबै जिल्लामा एकैपटक खोप दिने सरकारको योजना बनाएको छ ।

सरकारले अहिले आएको खोप ७७ वटै जिल्लामा एकैपटक दिने योजना बनाएको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले छलफल सुरु गरेको छ । तर, पहिलो खोप कसलाई कहाँबाट लगाउने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने भारतबाट उपहारमा आएको खोप फ्रन्टलाइनमा खटिएका कर्मचारीलाई सुम्पिने बताउनु भएको छ । फ्रन्टलाइनर चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र एम्बुलेन्सचालकलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने मन्त्री त्रिपाठीको भनाई छ ।

भारतले उपहार स्वरुप दिएको १० लाख डोज खोप करिब चार लाख नागरिकलाई पुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । एकजनालाई दुई डोज खोप लगाइन्छ । ‘सामान्यतया १० लाख डोज खोपले पाँच लाख जनसंख्यालाई लगाउन पुग्ने हो । तर, १० देखि १५ प्रतिशत खोप प्रयोगमा आउँदैन, त्यसैले अहिले आएको खोप करिब चार लाख नागरिकलाई लगाउन सकिने अनुमान छ मन्त्रालयले गरेको छ ।  तस्बिर : रोशन सापकोटा/रासस