
कक्षा ६ को सामाजिक विषय पढाउँदै गर्दा विकासका पूर्वाधार भन्ने पाठ सुरु गर्नु पूर्व म देश विकास गर्नको लागि नागरिकको भुमिका सम्बन्धमा बताउन सुरु गरे ।
नागरिक समाजका अवयव हुन्, जसको समाजको विकासमा खेलेको भुमिका नै देश विकासको आधार हो, डाक्टर, पाईलट, किसान, व्यापारी, कुचिकार सबैको समान र उत्तिकै भुमिका हुन्छ भनेर बुझाउँदै थिए । त्यतिकैमा सानी नाम गरेकी छात्राले प्रश्न गरिन्ः अनि मिस राज्यले पनि यि सबै पेशका मानिसलाई उस्तै व्यवहार गर्छ त ? अनि मैले पनि हास्दै जवाफ दिए, राज्यले पनि कसैलाई विभेद गर्दैन ।
पेशा कुनै सानो र कुनै ठूलो हुँदैनन् । सबै काम र पेशालाई राज्यले सम्मान गर्छ, त्यसैले हामीले पनि सबै पेशालाई सम्मान गर्नु पर्छ । बुझेउ, फेरी मैले थपे, अनि सुन, नेपालको संविधानले त समानताको हकलाई मौलिक हकको रुपमा समावेश गरी सबै पेशालाई सम्मान गर्दै कामको उचित मूल्य दिनुपर्ने कुरा पनि उल्लेख गरेको छ ।
सानीले फेरी प्रश्न गरिन्ः के यस्तै भएको छ त मिस ? हिजो उखु किसानले आफ्नो उखु बेचेको पैसा वर्ष दिन भन्दा बढी समय देखि नपाउँदा सडकमा आन्दोलन गर्नुपर्ने र टि.भी.मा आएर गुनासो गरिरहनु पर्ने थियो र ? अस्ति लकडाउनको बेलामा पनि हाम्रो बारीको तरकारी नविकेर बारीमै जोत्नु परेको थियो ।
अहिले तरकारी विकेको छ तर हामीले यहाँ १५ रुपैयाँ किलो बेचेको तरकारी उता काठमाडौं बस्ने हाम्रो फूपुले ७० रुपैयाँ किलोमा किन्नु परेको छ रे, यस्तो किन भएको मिस ? हाम्रो घरबाट काठमार्डौ जम्मा ३ घण्टाको त बाटो हो नि ? अनि कृषि पेशालाई पनि सरकारले सम्मान गर्छ भने किन किसानलाई उनीहरुको मेहनतको उचित मूल्य नदिएको त ?
सानीले फेरी थपिन, म सरकारलाई भेटेपछि यो सब कुरा भन्छु, युरिया मल नपाएर धान नफलेको कुरा, प्याजको विऊको डेट एक्स्पायर हुँदा पनि हरी काकाले बेचेको कुरा, कृषि प्रधान देश भएर पनि कृषिमा उचित अनुगमन नभएको कुरा, अनि धेरै कुरा छन् ।
साँच्ची मिस मैले सरकारलाई कैले भेट्छु ? सानीको यो कलिलो मस्तिष्कले यति गहन र गम्भिर विषयको प्रश्नले मेरो अनुहार मलिन बनायो । उनका प्रश्नको उत्तर दिन सायद म असमर्थ त थिए । तर पनि मैले मेरो बेचैन मनले सकि नसकी नियन्त्रण गर्दै बाध्य भई हाँसे जस्तो गरी भनें ठूली भएपनि भेट्छौ ।
यतिकैमा सानीले फेरी प्रतिप्रश्न गरिन र भनिन, अनि मिस मेरो कुरा सरकारले त सुन्छ नि ?
मलाई उनको प्रश्नले बेचैन त बनायो नै कसरी उनको प्रश्नको समाना गर्ने भन्ने भैरहेको थियो । यति कलिलो दिमागलाई कसरी ढाटौं, नढाटौं त यति सकारात्मक बनाउनु पर्ने मस्तिष्कलाई सकारात्मक बनाउने दायित्व पाएकी म आफै दोधारमा परे नि उनलाई हेरेर हासी मात्र रहे केही बोल्नै सकिन ।
कुरालाई मोड्नु पर्न अब भन्ने सोचेर मैले उनलाई प्रश्न गरे पनि सानी तिमी ठूलो भएपछि के बन्ने ? मिस साच्ची भनम, म किसान चाँही बन्दिन । अरु जे हुननी सक्छु । मैले फेरी सोधे किन तिमीलाई किसान मन पर्दैन हो ? किन मन नपर्नु मेरो बाबा आमा किसान हुनु हुन्छ । उहाँको पेशा नै कृषि हो ।
उहाँहरुलाई यो लकडाउनमा पनि कहिलै फुसर्द भएन । सधै आफ्नो काम पुरा लगन दिएर गर्नु भयो । तर उहाँहरुको मेहनतको उचित मूल्य कहिलै पनि दिइदैन । कहिले तरकारी बिक्दैन । बारीमा नै जोत्नु पर्छ त कहिले बजारमा चलेको मूल्य पाउँदैन ।
अनि यस्तो अरु मान्छेलाई कोरोना लाग्छ भनेर लकडाउन गरेको बेला हाम्रो बाबा आमा युरिया मल नपाएर कता कता जानू पर्यो । बल्ल बल्ल १ बोरा मल पाइयो । त्यही नी ९०० बोराको मल २५०० बोरा हालेर किन्नु पर्यो । यता उता हिन्नु पर्दा धन्न कोरोना नभएको उहाँहरुलाई ।
तपाईले ख्याल गर्नु भएको छ मिस अस्ती भएको हाम्रो गाउँको तरकारी सहकारीको वार्षिक उत्सवमा पनि कुन हो पार्टीको नेतालाई प्रमुख अतिथी बनाएको थियो । रिवन बाट्न र बत्ती बाल्न लगाइयो ।
त्यस्तो कति किसानको कार्यक्रममा किसानलाई प्रमुख अतिथी बनाईदैन किन होला ? राम्रो र बढी उत्पादन गर्ने किसानलाई तपाईले राम्रो काम गर्नु भएको छ । भनेर सम्मान साथ कुनै कृषि कार्यक्रममा प्रमुख अतिथी बनाए कति राम्रो हुन्थ्यो होला है ? किसानलाई कृषि पेशा प्रति नै गर्व लाग्थ्यो होला ।
सानी त एउटा प्रतिनिधि पात्र मात्रै हो । सबै जनसमुदायमा सकेसम्म कृषि पेशा अगाल्न नपरेनी हुन्थ्यो भन्ने भैसकेको छ । यस्तो किन भएको होला हामी सबैलाई कारण थाहा छ । यदी सरकारले कृषकको मेहनतको उचित मूल्य दिने र बजारीकरणको उचित प्रवद्धन गर्ने हो भने नेपाली उत्पादनले गुणात्मकता वृद्धि गर्ने छ ।
कृषि उत्पादनको अन्तराष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्न सहयोग गरे कृषकको आत्मविश्वार र आत्मसम्मान बढ्ने छ भने युवाको विदेश पलायनलाई नियन्त्रण गर्न सकिन्छ भने अर्कोतिर कृषि पेशाको सम्मान र किसानहरु कृषक हुनुमा गर्न गर्थे ।
सरस्वती बिसुराल, धादिङ
