
अध्ययन अध्यापनमा विद्यालयको परिभाषा, शब्दिक अर्थ, भिन्नता, तह, उद्येश्य….थाक्ने गरि थकानहुनेगरी नै सायद सिक्ने सिकाउने मौका मिल्यो । एक निजी विद्यालयको प्राचार्यको हैसियतले त्यसको संस्थागत विकास, विद्यार्थी, शिक्षकहरुको भविष्य र हक हितका निमित्त र लगानी सुरक्षाका निमित्त अहोरात्र लागि परियो, कैयन सरकार र तिनका काम कर्तव्य अनि सिर्जना हुने परिस्थिति एवम् झन्झटिला कार्यशैलीसँग जुध्दै पछारिँदै उठ्दै सम्हालिँदै निरन्तर अघि बढीरहियो । १५ वर्षको यो अवधी कृयाशील रहँदा बितेको पत्तै भएन ।
नयाँ गर्ने केही नयाँ सोच आउँदा र कार्यान्वयनमा बढी आनन्द सबैमा आउँछ । खेलकुद, अतिरिक्त कृयाकलाप, र अन्य सर्टटर्म कोर्षहरु तयार गरि लागू गर्न आतुरहुने शिक्षक साथीहरु बिरलै भेटिन्छन् । उसो त धेरै जसो विद्यालयमा हेडसरहरुले बनाएको योजना छलफल पनि कमै हुन्छ होला सायद, निजीमा प्रिन्सिपलको सनकले अनि राजनैतिक रखबारले सार्वजनिक विद्यालयमा हेडसरको रवैयाले धेरै जसो विद्यालयको विशिष्ट योजनाहरु त बन्दै बन्दैनन् ।
केहिले भने विद्यालयहरुमा विद्यार्थीहरुमा अन्तर्निहित क्षमता उजागर गर्ने हेतु निकै मसिना तर असाध्यै राम्रा गतिविधीहरु समावेश गरि कार्यपात्रो तय गरेका हुन्छन् । अतिरिक्त कृयाकलाप र सहकृयाकलाप जति धेरै कार्यान्वयन गरि निरन्तरता दिइन्छ त्यति नै विद्यार्थीहरुमा सिकाइ सरल हुन्छ । सबै गतिविधीहरुमा सहभागी हुन पाउँदा उनीहरुमा विद्यालय आउनुपरेको झर्कोलाग्दो अनुभव पनि हुन्न । व्यस्तता बढ्छ सबैको । सबै कृयाशील हुन्छन् । उनीहरुको सृजनात्मक क्षमता पनि बढ्दै जान्छ ।
कक्षाकोठाका धेरै समस्याहरु र पाठ्यवस्तुका समाधान एकै लयमा पाठ्यक्रमले गर्छ । सहकृयाकलाप तथा प्रयोगशाला र प्रोजेक्ट वर्कको प्रोजेक्सन पाठ्यक्रममा उल्लेख त हुन्छ तर शिक्षकहरु प्रायः पाठ्यक्रम फलो गरिरहेका हुँदैनन् । हेलचक्र्याईँले, बुढ्यौलीले, कसैले नगरेको हुनाले, थाहा नपाएर, मोनिटरिङ नहुने भएर आदि आदि कारण देखाएर पाठ्यक्रमबाट भाग्ने चलन सबैजसो विद्यालयमा देखिन्छ ।
शुक्रबारको दिन जत्तिको हतारो त झन कहिले हुँदैन शिक्षकहरुलाई । कतिबेला १ः०० बज्ला भनेर कुर्नेहरु ९५ प्रतिशद भन्दा बढी हुन्छन् । शुक्रबारको आधा दिन छुट्टी नभएर अनिवार्य अतिरिक्त कृयाकलापको हो तर छुट्टी दिने घर हिँड्ने नै चलन छ । पाठ्यवस्तुमा भएका सानामसिना लाग्ने तर असाध्यै महत्वपूर्ण घरेलु कृयाकलाप शिक्षकहरुले जानाजान छोडिदिन्छन् ।
जस्तो सानाउमेर समूहका केटाकेटीहरुमा रङ्गको ज्ञानका लागि विभिन्नरङ्गका कपडाहरु काटेर टाँसेर रङ्गीन पृष्ठभूमी तयार गर्नुपर्ने सानो घरेलु कृयाकलाप झन्झट मानेर शिक्षकहरुले छोडिदिन्छन् । जसको असर उसले औंलाहरुले टाँस्नेकाम, गमले हातमा लतपतिएर पुछ्न वा जोगिन सिक्ने काम, कैँची चलाएर काट्न सिक्ने काम त छुट्यो नै रङ्गको दुनियाँमा उसले बनाएको रङ्गिन पृष्ठभूमी देखाएर बुबा आमाको स्यावासी खाँदै पुलकित हुन पाउने अवसर गुमाएको हुन्छ । रङ्ग भलै उसैले सिक्ला तर उसको पढाइको कृयाकलापमा आमा बुबाको सहभागिता पनि हुँदैन ।
खाली कोरा कागजमा गृहकार्य गर्नु, समयमा कक्षाकोठामा गुडमर्निङ (गुडआफ्टर्नूनमा अनुशासन वा सुनसान कक्षाकोठा चाहने शिक्षकहरुले त झन उसको मनमा उठेका हजारौँ कौतुहलताहरु चुप गराउँछन् । अनुशासनको नाममा केही बोर्डिङहरुले त अझ मिल्थ्यो भने सायद जिपर फिट नै गराउँथे होला कलिला ओंठहरुमा ।
मैैैैले देखेको ७० प्रतिशद भन्दा बढी निजी विद्यालयमा यस्तै हुन्छ । अर्को पाटो सरकारी वा सार्वजनिक विद्यालयमा कक्षाकोठामा हल्ला हुन्छ तर लय हुँदैन । विषयमाथी नहुने यस्ता हल्लाले विद्यार्थीहरुको भविष्य चिन्ताजनक बन्दै गएको छ ।
कक्षाकोठामा धेरै विषयहरु हुन्छन् जसले उनीहरुलाई ब्यवहारिक र संयमित हुन अनि सृजनशील हुन सहयोग गर्नुपर्छ । कक्षागत प्रतियोगिताहरु, भित्तेपत्रिकाहरु प्रकाशन, फिल्डभिजिट, वनभोज, भ्रमण आदिइत्यादीमा संवेदनशील भै अन्य सहकृयाकलापहरु तय गरिनुपर्छ ।
जस्तै वनभोजमा सामान्यतया जाने खाना बनाउने खाने आउने वा सामान्य गर्ने भन्दा जाने पूर्व तयारी देखीनै विद्यार्थीहरुलाई समाग्री खरीद देखि जाने आउने व्यवस्था, बनाउने खाने सामाग्री तय गर्ने सबै काम अझ रमाइलो नाचगान गर्ने र भोली त्यसको गाइडलाइनका आधारमा संस्मरणको खाका तयार गरि त्यसको संगालो तयार गर्ने सम्मको काम उनीहरुलाई सिकाउनु राम्रो हुन्छ ।
वनभोज स्थल छान्दा खेतीकिसानी भएतिर अनि जनावरहरुको फारम भएतिर वा विकासका नमूना काम भएतिर अथवा ऐतिहासिक वा साँस्कृतिक स्थलतिर भयो भने समान्यतया उनीहरु आफैँले धेरै कुरा सिक्छन् । सामान्यकुराहरुको तयारी गर्दा ठूलो सिकाई हुन्छ । तर जानेआउने बनाउने खाने खुवाउने सबैकाम शिक्षकले वा खेताला बोलाएर गर्नाले उनीहरुमा यस्ता पारस्परिक काममा सहभागी हुने सहृदयी भावको विकास हुन्न, सहयोग लिने वा दिने परम्पराको विकास हुन्न अनि सामाजिक कर्तब्यबोध पनि हुन्न । हुन्छ त केबल एकलकाँटे र स्वार्थी ।
अहिले सार्वजनिक विद्यालयमा सामान्यतया रुमटुरिड लगायतको सहयोगले शुरु गरेको अनिवार्य पुस्तकालय छन् भने निजीमा शुल्क असुल्ने निहुँले बनाइएका पुस्तकालय । एकाध बाहेक सबैको हविगत खराब नै छ । दाने किताब बाहेक त्यसमा पुस्तकहरु थपिएका छैनन् । पुस्तकालय धुलो र माकुरी जालोले जीर्ण प्रायः छ । पुस्तकालयमा माली छैन, शिक्षकहरु जान्नन् । केही पुस्तक त शिक्षकहरुले घर लगेर राखेका छन् । चोरेका त हैनन् तर घरमा थन्क्याएका छन् । कसैले सोध्यो भने भोली नै दाखिला गर्छु भन्छन् तर त्यो भोली निक्कै कठीनले आउँछ ।

विद्यार्थीलाई पुस्तकालयको सहि सदुपयोग गराउने कोही छैनन् । यसको उचित प्रयोग गर्ने गाइड लाइन पनि छैन, रिडिङ्ग कल्चर त छँदैछैन । घरमा बुबा आमा मोवाइलमा ब्यस्त हुन्छन्, अनि छोराछोरीलाई ट्याब्लेट तुरुन्तै चाहियो । गाँस कटाएर किन्दिनु सिवाय उपाय हुन्न । बुबाआमा किताब बोकेर केटाकेटी छेउमा बसून् तब केटाकेटी किताब लिएर बस्छन् ।
कमजोरी घरमा पनि छ । कैयन विद्यालयहरुको पुस्तकालयको त किताबहरुको नाम सङ्कलन पनि किताब पसलेले कमिसन बढी आउने गरि तय गरिदिन्छ । जहाँ कस्तो किताबहरु छन् ? स्वयम् हेडसर अनि अन्यसरहरुलाई थाहा नै हुन्न । पुस्तकालय बनेको केही समयमा नै त्यसको महत्व सकिएर जाने पहिलो र अन्तिम कारण त्यही हो किनकी असल पुस्तकहरु हाम्रा पुस्तकालयमा छैनन् । पुस्तकालयको नियमीत अनुगमन र मुल्याङ्कन नहुँदा यस्तो हुनगएको हो ।
जति महत्व पुस्तकालयको छ, त्यो भन्दा बढी महत्व सङ्ग्रहालयको छ । प्रत्येक कक्षा कोठामा नानीबाबुहरु पढ्ने पाठ्यवस्तु अनुसारको केही प्रामाणीक र यथार्थ भरिएको सङ्ग्रहालय हुनुपर्छ । भित्ताहरुमा पुरै उसले नयाँ र अविस्मरणीय चिजबीजहरुको फोटा तथा वस्तुहरुको सङ्ग्रह देख्न पायोभने बल्ल उसको सिकाई दीर्घकालिन हुन्छ । रटानको सिकाई त केवल जिब्रोसम्म जान्छ ।
त्यसैले विद्यालयमा भाषाका, विज्ञानका, गणितका वा सामाजिक परम्पराका अनि परापूर्वकाल र संस्कृतिका विभिन्न चरणका संग्रहालयहरु पनि बनाइनुपर्छ । जसले हिजोका दैनिन्दिनी र आजका सुविधा अनि प्रयोगका विषयमा दाँजेर पढ्न सकून् । दिन, गते, बार, तिथि, मिति, सात, ग्रहगोचर, हानी, नोक्सानी आदिइत्यादीको महत्व थाहा भए न विद्यार्थी जोड घटाउमा लाग्छ । नत्र हिसाब कि पिसाव भैहाल्छ ।
समाजको परापूर्वकालमा के–के वस्तुहरु प्रयोग भए किन नयाँ वस्तुहरु बनेर प्रयोगमा आए ? अझै नयाँ बनाएर समय र मानवश्रोतको प्रयोग कसरी कम गर्ने भन्ने प्रश्नहरु उनीहरुको मनमा उब्जाउन सकिएन भने नयाँ सिर्जना कसरी हुन्छ ? उनीहरु सिर्जनशील कसरी हुन्छन् ?

हिजोको घट्ट, ढिकी र आजको मिल, हिजोको टुकी र आजको वल्व, हिजोको कोल र आजको मेशिन औंजार जान्न उत्सुकता भर्ने सबैभन्दा पहिलो सिँढी भनेकै पुराना वस्तु तथा औंजारहरु हुन् । जसलाई सबै विद्यालयहरुले पुस्तकालय जस्तै छुट्टै एउटा सङ्ग्रहालय बनाउनुपर्ने बेला भएको छ । नत्र भने हामीले कलिला दिमागहरुमा नयाँ सृजना गर्ने जाँगर भर्न सक्दैनौ ।
घण्टौँसम्म नया आविस्कारका लागि उनीहरु घोत्लिन बाध्यहुने भनेकै यस्तै भिन्नता अनि सर्व सुलभता सम्झाएर हो, देखाएर हो । हिजोको नाङ्लो हेरेर आजको ग्रेडिङ मेशिन बने, हिजो ढिकी–जाँतो हेरेर आज कुटानी पिसानी मिल बने । हलो परिमार्जित हुुँदै ट्याक्टर र अटोप्लयर आयो । हिजो बसिलाले काटेको ढुङ्गा आज बुट्टसहित काट्ने मेशिन बने ।
करौँतिले काट्ने गरेको धान आज मेशिनले काटेर धान एकातिर बोरामा अनि पराल अर्कोतिर गुन्टापारेर आउन थाल्यो । हिजो खरेटाले छेपेको विषादी आज ड्रोनले छेप्न थाल्यो । पढाईलाई ब्यवहारिकतामा लैजान प्रविधिको प्रयोगको जति जरुरी छ । त्यो भन्दा ठूलो त्यसको भोक जगाउन जरुरी छ । अनि त्यो भोक खाली विद्यालयमा हुने संग्रहालयले मात्र जगाउन सक्छ । यस विषयमा एउटा अटोटेलिसिरियल जुन टिभीमा निरन्तर विज्ञापन जस्तो प्ले भैरहने सामाग्री त्यसमा जडानहुन जरुरी छ ।
महान वैज्ञानिकहरुको जीवनी र सामरिक महत्वका सृर्जना तथा आविस्कारहरुको व्याख्या भएका किताबहरु पनि त्यहाँ हुन जरुरी छ । अहिले त राष्ट्रिय आविस्कार केन्द्र पनि बनिसकेका सन्दर्भमा मानव जिवनमा आइपर्ने समस्याहरु समाधान गर्ने औंजार वा दैनिक उपभोग्य सामाग्रीहरु वा संसाधन न्यूनीकरणका साधनहरु बने भने अहोभग्य नै भो ।
लौ बनेन भने पनि त्यस्ता साधनहरुको मर्मत सम्भार मात्र गर्न जान्ने भएभने पनि जिविको पार्जन गर्ने साहस बढ्छ । जस्तो फर्निचर हिजो कसरी (आज कसरी ? बस यत्ती मात्र जानून्) भन्ने हेतु काम शुरु गरियो र उनीहरुमा जाँगर भरियो भने हिजोआज त कम्प्युटरले भगवानको तस्विर काठमा कुँद्ने दिन आए । देखे सम्झिन्छ अनि गरे जानिन्छ, भनिन्छ । विद्यालय सङ्ग्रहालय अहिले सम्म कसैको चासोमा परेको छैन ।
हरेक विद्यालयमा यो सङ्ग्रहालय बनाइनुपर्छ । शिक्षा विभागले यसको प्लानिङ गर्न जरुरी छ । शिक्षा क्षेत्रमा लागिपरेका शिक्षा विदहरुले यसको योजना बनाउन उल्ल्येख्य योगदान दिनुपर्ने देखिन्छ ।
विकसित भनिएका मुलुकमा सबै मेशिन औंजारहरु घरमै हुन्छन् अनि तिनको मर्मत सम्भार पनि उनीहरु घरमै गर्छन् । घर पनि आफ्फैँ बनाउँछन् अनि घर बनाउन प्रयोग हुने समानहरु पनि आफैँ बनाउँछन् । जति यन्त्र वा उपकरण प्रयोग हुन्छन् सबै आफैँ गर्छन् । सरल जीवनका लागि साधनको प्रयोग र सम्भार पनि गर्न सक्ने बनाउनु नै शिक्षाको अर्को पाटो हो न कि सुकिला मुकिला हुनुमात्र ।
रुपान्तरण तथा विकासमा यस्ता परियोजनाहरु बनाइ लागु गर्नसके नयाँ आविस्कार र खोज अनुसन्धान तथा अपरिहार्य वस्तु तथा साधनको निर्माण हुनेछन् । अबको युग उत्पादनको हुनेछ । उत्पादनको सहायक सामाग्रीहरु निर्माण र मानवश्रोतको उचित ब्यवस्थापनमा विद्यालय सङ्ग्राहलय कोसेढुङ्गो सावित हुनेछ ।
(लेखक बुढाथोकी प्याब्सन धादिङका अध्यक्ष हुनुहुन्छ)
