कविता: मनको गहिराई

Avatar photo
Dhadingpost
अशोज २३, २०७७

सिङ्गो मनको
गहिराई नाप्दा-नाप्दै
नाप्ने नापोनै सकिएपछि
बेथित म थाकेको मान्छे
आज फेरी
एउटा यात्रामा निस्केको छु
बुझी नसक्नुको मन
लाग्छ यो मनलाई बुझे
संसारै बुझिन्छ
यही मन बोकेर
बर्षौ देखि
घिस्रिएको मलाई
हिजोआज एउटा रहर लागेको छ,
आफ्नै नाप्न मनको गहिराई ।
कस्तो आश्चर्य !
कल्पनामा एकै पल्ट
सिङ्गो आकाश बस्न सक्छ
कत्रो चौडाई !
सम्झनामा
सगरमाथा भन्दा
हजारौ-हजार गुना अग्ला
आकाशे पहाडहरु अटाउन सक्छ
कत्रो उचाई !
दुई पौण्डको मस्तिष्कले
हजारौ हजार माइल टाढा
प्रकाश बर्षको फन्को
निमिस भरमै मार्न सक्छ
कत्रो लम्बाई !
सोचाईको टुप्पो टुङ्गिदैन्
बरु अर्को सोचाई
विचारको टुसो बनेर पलाइरहन्छ
सयौं बङ्गालको खाडी
एकै पल्ट
मनको बाँधमा बाँधिन्छ
कत्रो गहिराई !
म एक शोधार्थी
आज मनको विश्वविध्यालयमा
भर्ना भएको छु
मनको गहिराइमा
विद्यावारिधि गर्नु छ

निकाल्नु छ –
यसको पुरै आयामेली आयतन ।

पाँचथर
हाल:- चन्द्रोदय ब.क्या.धादिङ