
काठमाडौं असोज २० । प्रदेश नम्बर ५ मा काँग्रेसबाट निर्वाचित चार जना सांसदले सोमबार कुर्ची भाँचेको खवर चर्चामा छ ।
प्रदेश सरकारले नाम र राजधानीको प्रस्ताव संसदमा पेस गरेदेखि नै चरणबद्ध आन्दोलनमा उत्रिएका कांग्रेस कार्यकर्ताले कुर्ची मात्रै भाँचेनन् एक कर्मचारीको स्कुटर समेत जलाइदिए छन् ।
संसदको कार्यसूची अनुरुप सभामुख पूर्णबहादुर घर्तीले संसदको कारबाही सुरु गर्ना साथ कांग्रेसका सांसदहरू रोस्ट्रम अघि नाराबाजीमा उत्रिए।
तोडफोडमा उत्रनेमध्येका एक सांसद हुन् अष्टभुजा पाठक । प्रदेश संसदको सामाजिक विकास समितिका सदस्यमेत रहेका उनी रुपन्देही ४ (क) बाट प्रदेश सभामा विजयी भएका हुन्।
त्यस्तै अर्का सांसद हुन् बैजनाथ कलवार । उनी पश्चिम नवलपरासी –२ (ख) बाट निर्वाचित सांसद हुन् । कलवार प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य हुन् ।
तोडफोडमा उत्रने सांसद वसी उद्दीन खाँ रुपन्देही ४ (ख) बाट निर्वाचित भएका हुन्। उनी पनि सार्वजनिक लेखा समितिका सदस्य छन् ।
फखरुद्दीन खान रुपन्देही ५(१) बाट निर्वाचित भएका हुन्। उनी भौतिक पूर्वाधार तथा विकास समितिका सदस्य हुन् ।