कविता: मन भो भरङ्ग

Avatar photo
Dhadingpost
भदौ १७, २०७७

आमा र बाबा गाउँमा बसे, बुहारी शहर
छोरो छ टाढा खाडीको मुलुक, कोरोना कहर
खेत र बारी बाँझो नै रह्यो, झारले छोपेछ
देशको माया नसकी भुल्न, मुटुमा खोपेछ

बाढी र पैरो पहाडदेखि, तराइ सम्म छ
गाउँको माया मनमा रह्यो, पिरती टम्म छ
जमाना अर्कै आएछ अब, पैसा नै ठुलो छ
नगरी दु:ख छैन नि सुख, नबल्ने चुलो छ

रोएर बसे बाबा र आमा, आँगनी बिरानो
कसरी काट्नु हिउँद बर्खा, घर यो पुरानो
दैवले ठग्यो सपना लाग्यो, आशा छन् हजार
कोरोना आयो मुटु नै खायो, के घुम्नु बजार

पिपलु छाया गाउँको माया, साँचेर बस्दछन्
चाड र पर्व त्यत्तिकै गए, आँसु पो खस्दछन्
कहेर यहाँ सकिन्न कैल्यै, मनका तरङ्ग
कलिको चाला देखेर आज, मन भो भरङ्ग

नवराज न्यौपाने ‘मौन’
प्रकाशित मितिः ०७७।०५।१७