पाँच मुक्तक

Avatar photo
Dhadingpost
असार ३१, २०७७


१.
जीवन जिउन गाह्रो हुन्न जिउने बानी परेपछि
पीडा भुल्न सजिलो छ सिउने बानी परेपछि
सादा जीवन उच्च विचार भुल्नु हुन्न सधैभरि
लथालिङ्ग हुन्छ जीवन पिउने बानी परेपछि

२.
त्यो यात्री के यात्री जसले दिनमा घाम र रातमा जून बिर्सन्छ भने
त्यो फकिर के फकिर जसले कौडी भिरेर नम्बरी सुन बिर्सन्छ भने
खोला तरेपछि लौरो बिर्सने चलन पुरानो हो र नयाँ पनि हो यहाँ
त्यो आफन्त के आफन्त जसले अरुले लगाइदिएको गुन बिर्सन्छ भने

३.
मभित्रको चेतन मनले फिचर लेख्न अह्राउँछ
तर मेरो मन त धेरै साहित्यमा हराउँछ
पचास कट्न लागिसकें लेखनीमै रमाउँछु
तर मेरो मन त सधैंं मृत्‍युदेखि डराउँछ

४.
हिउँद-बर्खा बितिगए सँगै कति कति
राम्रो राम्रो लिदै जाओस् जिन्दगीले मति
मायप्रीति टम्म रहोस् जुनी जुनी भरि
सफल रहोस् दाम्पत्य त्यो मनले चाहे जति

५.
बोल्दा सयौं पटक नै मनमाझ सोच्नू
कामै गरे हृदयमा समभाव रोज्नू
गल्ती हुने समयमा नखुले विवेक
सच्चा बनी सहज भै सुर-ताल खोज्नू