भारत देखि सिधै धादिङबेसी आईपुगे १ सय ३३ जना

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १०, २०७७

धादिङबेसी जेष्ठ १० । छिमेकी मुलकु भारतका विभिन्न क्षेत्रमा रोजगारी गर्दै आईरहेका १ सय ३३ जना शनिबार आफ्नै खर्चमा धादिङबेसी आईपुगेका छन् ।

कोरोना भाईरस (कोभिड -१९) को कारण रोजगारी गुमे पछि भारतबाट नेपाली १ लाख २० हजारमा बस रिजर्व गरि शुक्रबार साँझ भैरहवा आईपुगेका उनीहरु फेरि २ वटा ठुला बस रिजर्व गरि धादिङबेसी सदरमुकाम आईपुगेका हुन् ।

भारतबाट आएका यी १ सय ३३ जना नै क्वारेनटाईनमा नबसेको र आरडिटी समेत परिक्षण नगरेको पाईएकोले सबैलाई आ-आफ्नो पालिकामा पठाईने र त्यहि क्वारेन्टाईनमा राखिने नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले धादिङपोष्टलाई बताए ।

आफ्नै खर्चमा धादिङबेसी आईपुग्ने १ सय ३३ जना मध्य नीलकण्ठ नगरपालिकाका २ बच्चा सहित ६९ जना, सिद्धलेक गाउँपालिकाका २३ जना, नेत्रावती डब्जोङ गाउँपालिकाका ११ जना, ज्वालामुखी गाउँपालिकाका २ जना र नुवाकोट जिल्लाका १६ जना रहेका छन् ।

यस अघि शनिबार बिहानै नीलकण्ठ नगरपालिकाले ३ वटा बसमा ८४ जनालाई धादिङबेसी सदरमुकाम ल्याएको थियो । जसमा ५१ जना नीलकण्ठ नगरपालिककाका, २० जना नुवाकोटका, १० जना नेत्रावती डब्जोङ र ३ जना गल्छीका थिए । उनीहरु सबै क्वारेन्टाईनमा बसेको र आरडिटी परिक्षण नेगेटिभ आएको पत्र सँगै साथमा रहेकोले घर पठाईएको समेत संयोजक रिजालले बताए ।