
आक्रमण हुनेछ अदृष्य
अदृष्य हुनेछन् हतियार
भूमिगत हुनेछन् षडयन्त्रहरु
शूक्ष्म किटाणुझैं आक्रमण गर्नेछन्
दुश्मनहरु अदृष्य मोर्चाबाटै
देखिनेछैन
निशाना लगाएको
हुनेछैन कुनै भिडन्त
सुनिनेछैन पीडाको आहत चित्कार
मौका मिल्नेछैन माग्न कसैसँग गुहार
देखिने छैन
रगत बगिरहेको घाऊ
भेटिनेछैन मेरो लाश
सुनिनेछैन आफन्तको शोकमग्न क्रन्दन ।
यसरी हुनेछ मेरो हत्या
सुनसान
निःशब्द
सबैभन्दा भयानक कुरा
त्यो हत्यापछि
सोच्न छोडिदिनेछ मेरो दिमाग
गर्न छोडिदिनेछ प्रश्नहरु
बाँकि रहनेछैन कुनै उत्तेजना
जुन हत्यापछि
धड्किन छोड्नेछ संवेदनाको मुटु
खरिदनेछ बजारले
र बेच्नेछ आफूखुसी
यसरी हुनेछ मेरो हत्या
मौन
निःशब्द
र सुनसान !