समाचार प्रभावः संगिता पुन: काममा फर्किईन

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २१, २०७६

धादिङ मंसिर २१ । दलित भएकै कारण संगितालाई कामबाट हटाईयो भन्ने शिर्षकको समाचार धादिङपोष्टले प्रकाशित गरे सँगै संगिताले न्याय पाएकी छिन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानकोट चिसापानीमा रहेको देउराली आधारभुत विद्यालयबाट दलित भएकै कारण संगिता बस्याललाई कामबाट हटाईएको समाचार धादिङपोष्टले गत बुधबार प्रकाशित गरेको थियो ।

सरकारले देशभरका सामुदायिक विद्यालयमा लागु गरेको दिवा खाजा कार्यक्रम अन्तरगत खाजा बनाउन विद्यालयको व्यवस्थापन समितिले निर्णय गरि संगिता लाई नियुक्ती गरेको १४ दिन पछि उनलाई निकालिएको थियो ।

समाचार प्रकाशित भए सँगै विद्यालय व्यवस्थापन समिति, स्थानिय अधिकारकर्मीहको समेत उपस्थितमा संगितालाई विद्यार्थीले खाजा खाएपनि नखाए पनि दैनिक १३० दिने पुर्व निर्णयलाई निरन्तरता दिने निर्णय भए सँगै संगिता पुन: काममा फर्कने भएकी हुन् ।

धादिङपोष्टले मंसिर १८ गते बुधबार लेखेको समाचार यस्तो थियो ।

दलित भएकै कारण संगितालाई कामबाट हटाईयो

धादिङ मंसिर १८ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानकोट चिसापानीमा रहेको देउराली आधारभुत विद्यालयबाट दलित भएकै कारण संगिता बस्याललाई कामबाट हटाईएको छ ।

सरकारले देशभरका सामुदायिक विद्यालयमा लागु गरेको दिवा खाजा कार्यक्रम अन्तरगत खाजा बनाउन विद्यालयको व्यवस्थापन समितिले निर्णय गरि काम सुरु गरेको १४ दिन मै उनी कामबाट निकालिएकी हुन् ।

दैनिक १३० दिने गरि मलाई काममा लगाईयो, म दलित भन्नेकुरा व्यवस्थापन समितिलाई थाहा नै थियो । अहिले दलितले पकाएको विद्यार्थीले खाएनन् भनेर निकाल्न पाईन्छ ? धादिङपोष्ट सँग कुरा गर्दै बस्यालले बताईन् ।

उनले १४ दिनको पारिश्रमिक लिएर जाउ भनेर विद्यालय प्रध्यानाध्यापक तिलकुमारी थापाले भने पनि आफुलाई दलित भएकै कारणले हटाएकोले पारिश्रमिक नबुझेको बताईन् । छुवाछुतको कुरा नउठाउन आफुले बारम्बार आग्रह गर्दा पनि कहाँ के गर्छेस् गर भनेकोले मिडिया सम्म आउनु परेको उनी बताउँ छिन् । आफुलाई अन्याय गरिएको र अझैपनि छुवाछुत कायम गरिएको ध्यानाकर्षण गर्दै सोमबार प्रहरी चौकी सल्यानकोटमा समेत निवेदन दिएको संगिताले बताएकी छिन् ।

प्रधानाध्यापक थापाले दलित भएरै निकालिएको नभै विद्यार्थीहरुले नै खाजा ल्याउन थालेपछि उनी आफै काममा नआएको बताईन् ।

दिवा खाजा कार्यक्रमका तीन वटा मोडल अनुरुप संगितालाई विद्यालय व्यवस्थापन समितिले खाजा बनाउन दैनिक १३० दिने निर्णय गरेको हो । दुई साता नवित्दै विद्यार्थीहरुले खाजा घरबाट आफै ल्याउन थाले, दलित भएर हटाएको भन्न नमिल्ने उनको दावी छ ।

दिवा खाजा कार्यक्रम अन्तरगत अभिावक आफै पालो गरेर खाजा बजाउन जान सक्ने, विद्यालयले केहि शुल्क र खाजा कार्यक्रमको केहि शुल्क थपेर कर्मचारी राख्न सक्ने वा प्रत्यक विद्यार्थीलाई १५ रुपैँया दिएर आफैँ खाजा ल्याउन लगाउने मापदण्ड छ ।