धादिङ कालीदहकी सोनी गुरुङले जितिन स्वर्ण पदक

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १७, २०७६

धादिङ मंसिर १७ । धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङ कालीदहकी सोनी गुरुङले जारी १३ औं साग खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् ।

उनले ट्रायथलनमा फेवातालमा ७ सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौडमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पर्दै १३ औं सागमा नेपालका लागि स्वर्ण पदक जितेकी हुन् ।

६ वर्षअघि सशस्त्र प्रहरी बलमा भर्ती भएकी सोनीले भर्ती भए पछि पौडी सिकेकी हुन् । ४ वर्षअघि ट्रायथलनमा जोडिइन् । त्यतिबेलै देखिको पुरानो साइकल नै उनलाई अहिले स्वर्ण पदक जिताएको स्मरण गर्दै भन्छिन् ‘साइकल चेन्ज गर्नुपर्छ भनेर कतिपल्ट भन्यौं तर सुनुवाइ भएन,’ ।

ट्रायथलनका खेलाडीले ट्राइसुट लगाउनुपर्छ । तर सोनीले ट्राइसुटबिनै खेलिन् । त्यसको सट्टामा स्वीमसुट लगाउन बाध्य भइन् । ट्राइसुटको व्यवस्था नहुँदा उनको र देशको नाम स्वीमसुटमा लेखिएन । ‘बाटोमा भेट्नेले मलाई नेपाली हो भनेर सोध्नुभयो,’ मलिन स्वरमा उनले भनिन्, ‘नाम लेखिएको ट्राइसुट नहुँदा म नेपाली नै हो भन्नुपर्‍यो ।

नेपालमै बन्ने भए आफैं बनाउँथें । विदेशबाट मगाउनुपर्छ ।’ उनका अनुसार पहिले भएका ट्राइसुट सबै थोत्रो भइसके । नयाँ ट्राइसुटको २० देखि ५० हजार रुपैयाँसम्म पर्छ । साइकल र ट्राइसुट सागअघि आउँछ भन्दाभन्दै आएन । पुरानै साइकल र ट्राइसुटमा सोनीले सागको इतिहासमै ट्रायथलनमा नेपाललाई पहिलो स्वर्ण दिलाइन् ।