नेकपा धादिङको विज्ञप्ती, दोषीलाई कार्वाही गर्न माग (विज्ञप्ती सहित)

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ७, २०७६

धादिङ मंसिर ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला अध्यक्ष नेत्र पौडेल र सचिव विजय बुर्लाकोटीले विज्ञप्ती जारी गर्दै जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाललाई अमर्यादित कार्यगर्ने वडा अध्यक्ष गणश गुरुङ र भोज बहादुर गुरुङलाई कानुनी कार्वाही गर्न सुरक्षा निकाय सँग माग गरेका छन् ।

नेकपाले विज्ञप्ती निकाल्नु पूर्ण राष्ट्रिय युवा संघ नेपाल धादिङले पनि कार्वाहीको माग गर्दै नेकपा धादिङलाई विज्ञप्ती निकालेको थियो ।

पार्टीको विज्ञप्ती हतारमा आएको टिप्पणी नेकपा ३ प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारीले धादिङपोष्टलाई बताए ।

घटना दुःखद थियो, घटनामा संलग्नहरुलाई आन्तरिक कमिटीमा ल्याई आन्तरीक कार्वाही गर्ने सहज वातावरण हुँदा हुँदै पनि विज्ञप्ती निकालेर कानुनी कार्वाहीको लागि सुरक्षा निकाय गुहार्नु दुखद पक्ष भएको समेत भण्डारीले बताए ।

विवादको कारण यो थियो

वडाकार्यालय सार्ने विषयमा नीलकण्ठ १ मा पूर्व एमाले र पूर्व माओवादी केन्द्र बीच चरम विवाद सृजना भएको थियो । पूर्व एमालेले काँग्रेससहित ३५० भन्दा बढी हस्ताक्षर संकलन गरेर नगरपालिकामा पेस गरे पछि पूर्व माओवादीबाट वडा अध्यक्षमा निर्वाचित बनेका गणेश गुरुङले ७५० भन्दा बढी हस्ताक्षेर संकलन गरेर नगरपालिकामा पुर्याएका थिए ।

यहि विषयमा जिल्ला समन्वय समिति प्रमुखले छलफल गर्न बोलाए पछि वडा प्रमुख गणेश गुरुङ र भोजबहादुर गुरुङ समन्वय प्रमुख जगन्नाथ नेपाल भएको ठाउँमा गएका थिए ।

छलफल पूर्व नै वडा कार्यालय सार्नै पर्ने पेचिलो शब्द प्रयोग गरेपछि साथी भोज बहादुरले धकेलेका मात्र हुन् वडा अध्यक्ष गुरुङ भने, घटना दुखद भयो, हामी माफि माग्न तयार नै थियौं, विज्ञप्ती नै आएछ ।