धादिङका स्थानीय तह संचार मैत्री बन्न पनि चाहँदैनन्

Avatar photo
Dhadingpost
बुधबार, असार ११, २०७६

Keshav Adhikari
धादिङका स्थानीय तह संचारमैत्री छैनन् र उनिहरु संचार मैत्री बन्न पनि चाहँदैनन् । जनप्रतिनिधिहरुमा आँफुहरु बाहेक अरु कोही पनि पदमा छैनन् भन्ने दम्भ छ । कर्मचारीहरुमा पनि हामीले बाहेक अरुले केही जानेका छैनन् भन्ने भ्रम छ ।

  • संचारकर्मी र संचार माध्यमहरुमा पनि आंफुले वाहेक अरु गलत भन्ने प्रबृति हावी भएको छ । स्थानीय तह स्थापना भएदेखि अहिले सम्म धादिङका कुनै पनि स्थानीय तहले संचार क्षेत्र संग बसेर स्थानीय तहमा संचार क्षेत्रको भूमिका, संचार क्षेत्रले निभाउनु पर्ने जिम्मेवारीका बिषयमा कुनै छलफल भएको, के गर्न सकिन्छ भनेर छलफल गरेको जानकारी समेत छैन । केही व्यक्तिलाई बोकेर सिंगो संचार क्षेत्र आफ्नो पकडमा भएको भ्रममा छ धादिङका स्थानीय तह ।
  • स्थानीय तह भित्र विकृति विसंगती, अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती यसरी मौलाएको छ । जनप्रतिनिधि निर्माण कम्पनीको मालिक, स्काभेटर, डोजरका मालिक भएर आफ्नै स्थानीय तहमा विकास निर्माणमा नाटकीय सहभागी भईरहेका छन् । कर्मचारीहरु कार्यालयका लागि चाहिने सामानहरु खरिद बिक्री गर्ने सप्लायर्सका संचालक छन् । एडभरटाईजिङ एजेन्सीका मालिक बनेर आंफुले काम गरिरहेको स्थानीय तहकै लागि व्यापारिक भूमिका पनि निर्वाह गरिरहेका छन् । यी बिषयमा हाम्रा मुलधारका मिडियाले लेख्न सकेनन् । केही मिडियाले लेखेपनि सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन ।
  • स्थानीय तहमा सूचना अधिकारीनै छैनन् भएकाले पनि कुनै सार्वजनिक सरोकारका बिषय सूचना दिन सक्दैनन् । कति ले त दिनै चाहँदैनन् ।
  • जनप्रतिनिधि र कर्मचारीहरु प्रशंसाले भरिएका कुराहरु समाचार आवोस भन्दै त्यो काम गर्न सक्ने मिडिया संग मात्रै साझेदारी गरेर अघि बढिरहेका छन् । संघीयता कार्यान्वयन भएपछि हामी (संचार क्षेत्र) कमजोर भयौं या हामीलाई कमजोर बनाईयो । अहिले हाम्रा कलम भुत्ते भएका छन् । समाचार लेख्ने हातहरु अधिकार सम्पन्न व्यक्तिहरुलाई नमस्कार गर्नमै व्यस्त भएका छन् । समाचार लेख्ने पत्रकारलाई धादिङका स्थानीय तहले चिन्दैन किन भने उनिहरु जनप्रतिनिधि र कर्मचारीलाई दिनदिनै सलाम ठोक्न जान सक्दैनन् ।