गर्मीमा सकभर यी तरकारीहरु खानु पर्छ

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २४, २०७६

धादिङ बैशाख २४ । अहिले गर्मीको मौसम छ । यो मौसममा स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ ।

यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो ।

गर्मी मौसममा दही, मोही, लस्सी, बेल तथा घिउकुमारीको सर्बत पिउनु उपयुक्त हुन्छ । काँक्रा, खरबुजाजस्ता पानी प्रशस्त हुने फलफूल तथा सागपात खानुपर्छ ।

 

धादिङका डाक्टर राम रिजाल भन्छन्, चिउरा,  दालमोठजस्ता जंकफुड सेवन गर्नु हुँदैन । अल्कोहलको सेवन नगर्नु नै उत्तम हुन्छ । त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ ।

यो गर्मीमा कस्तो तरकारी खाने त ?

१. पाकेको फर्सी
पाकेको फर्सी खनिज तत्वले भरपूर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत गर्छ । यसको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो ।

२. तिते करेला
स्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यो सजिलै पच्छ । यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्धत गर्छ । यसका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ ।
तिते करेला फलफुलका रुपमा, पेयका रुपमा वा यसको वियाँको प्रयोग खानमा मिलाएर पनि सेवन गर्न सकिन्छ । तीते एक दिनमा एकजनाले दुई वटा भन्दा बढी खनुहुँदैन ।
गर्भवती महिलाले पनि तिते करेला बढी खानु हुँदैन यसले पेटको बच्चालाई हानी पुर्याउँछ र गर्भ समेत तुहिन सक्छ । यदि तपाई तिते करेलाको प्रयोग गर्न चाहनु हुन्छ भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

३. लौका
लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ ।
गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ ।

४. प्याज
गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ । यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ । यो मौसममा काचो प्याज खानाले लू पनि लाग्दैन । यसलाई तरकारीको रुपमा मात्र नभई काचै सलादका रुपमा खान सकिन्छ ।
करेलाले पाचनशक्ति मजबूत पार्ने भएकाले भोक पनि जगाउछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।

५. गोलभेंडा
दिनुहँ एउटा गोलभेंडा खाने हो भने धेरै खालका रोगबाट बच्न सकिन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ ।
गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ ।

६. हरियो सिमी
हरियो सिमीले पनि शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ ।
पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्धत गर्छ ।

-एजेन्सीको सहयोगमा