धादिङ चैत्र २९ । बुढीगण्डकी जलविद्युत आयोजनाबाट डुवान पर्ने खहरे, आरुघाट, आरखेतका स्थानियहरुले न्यायोचित मुअब्जाको माग गर्दै धादिङबेसीमा १ घण्टा चक्काजाम गर्दै विरोध प्रदर्शन गरेको छ ।
बुढीगण्डकी जलविद्युत आयोजनाको कारण डुवान क्षेत्रमा पर्ने ऐतिहासिक आरुघाट वजार, खहरे आरखेतको मुअब्जा सरकारले अहिले सम्म तोक्न सकेको छैन । मुअब्जा तोक्ने सरकारी तयारीलाई प्रेसर गर्न स्थानियहरुले न्यायोचि मुअब्जाको माग गर्दै धादिङबेसीमा १ घण्टा चक्का जाम गर्दै धादिङका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका हुन् ।
धादिङबेसी पुछारबजारमा १ घण्टा चक्का जाम गरि खहरे, आरुघाट, आरखेत स्थानीयहरुले प्लेकार्ड सहित नारा लगाउँदै जिल्ला प्रशासन पुगेका थिए ।
उनीहरुले र्यालीमा मुअब्जा तुरुन्त तोक्न, घरगोठ देखि बालि बिरुवाहरुको समेतको उचित मुअब्जा दिनु पर्ने माग गरेका थिए ।
कुल १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना सम्पन्न हुँदा कुल ४५ किलोमिटर लामो जडभण्डारमा चार अर्ब ४० करोड क्युबिक मिटर पानी जम्मा हुन्छ ।
करिब ५९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको यस आयोजना सम्पन्न हुँदा २ सय ६३ मिटर बाँध बनाएर थुन्दा १ लाख २३ हजार ९ सय रोपनी जग्गा डुबानमा पर्नेछ । बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना डुवान क्षेत्रका ८ हजार १ सय १७ घरपरिवारका ४५ हजार ६ सय जनसंख्या विस्थापित हुने छन् ।