सोल, असार १९ । दक्षिण कोरियाबाट बास्केटबल खेलाडीहरूको समुह सहित एउटा उच्चस्तरीय प्रतिनिधिमंडल उत्तर कोरिया प्रस्थान गरेको छ ।
उक्त प्रतिनिधिमण्डलमा दक्षिण कोरियाका उच्च अधिकारी हरू साथै दर्जनौं बास्केटबल खेलाडीहरू समेत रहने बताइएको छ ।
दुई कोरियाबीच बास्केटबल खेल हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उत्तरका शक्तिशाली नेता किमको बास्केटबलप्रेम र दुई देशको यस कदमले दुई देशबीच लामो समयसम्म चिसिएर रहेको सम्बन्धमा उल्लेखनीय सुधार आउने आकलन गरिएको छ ।
उक्त प्रतिनिधिमंडल दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा प्रस्थान गरेको छ र उनको साथमा ५० जना बास्केटबल खेलाडी रहेका छन् ।
उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पछिल्लो समयमा यही जुन १२ मा सिङ्गापुरमा भएको वार्तापछि पहिलो पटक यी दुई देशका यति उच्च अधिकारीले भ्रमण गर्न लागेका हुन् ।
अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्तापछि अमेरिका र उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ ।
राजधानी सोलबाट प्राप्त सूचनाका आधारमा उक्त प्रतिनिधिमंडल मंगलबारबिहानै प्योङयाङतर्फ प्रस्थान गरेको एएफपीले जनाएको छ
बास्केटबल उत्तर कोरियाली नेता किम जोङ(उनको मनपर्ने खेल हो र यसलाई सञ्चारमाध्यमहरूले ‘बास्केटबल डिप्लोमेसी’को रूपमा व्याख्या गरेका छन् । दुई देशबीच पछिल्लो समय विकसित सम्बन्धलाई यस कदमले थप सुधार गर्ने अपेक्षा गरिएको छ ।
गएको जुन १२ मा सिङ्गापुरमा भएको वार्ताकै क्रममा पनि उत्तर कोरियाली नेता किम जोङ उनले आफूले शक्तिशाली आणविक केन्द्र भत्काइसकेको जानकारी दिएको समाचार आएको थियो ।
