प्रतिनिधिसभामा आजबाट बजेट आश्रित विधेयकमाथि पुनः छलफल सुरु हुँदै

Avatar photo
Dhadingpost
सोमवार, असार १८, २०७५

काठमाडौं, असार १८ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सहमति हुन नसकेपछि प्रतिनिधिसभामा आजबाट बजेट आश्रित विधेयकमाथि पुनः छलफल सुरु हुने भएको छ ।

नियमावली मिच्दै सरकारले फाष्टट्रयाकबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेपनि प्रमुख प्रतिपक्षी दल कांग्रेसको बिरोधका कारण रोकिएको थियो ।

संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालकाअनुसार, सम्भवतस् ती विधेयक आजैको बैठकले पारित गर्नेछ । विनियोजन विधेयक गत शुक्रवार नै पारित भईसकेको छ ।

बजेट आश्रित थप तीन वटा विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको पूर्ण बजेट पारित हुनेछ । सरकारले गत जेठ १५ गते १३ खर्ब १५ अर्ब १६ करोडको बजेट सार्वजनिक गरेको थियो ।

कांग्रेस सचेतक पुष्पा भुषालले अहिलैकै अवस्थामा विधेयक अघि वढाईए आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभयो । गत बैशाख १३ गते जारी भएको अध्यादेशको प्रतिस्थापन विधेयक पर्सिसम्ममा संसदबाट पारित भई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गर्नुपर्नेछ ।

फाष्टट्रयाकबाट विधेयक अघि नबढाए पर्सिसम्ममा पारित नहुने भएपछि सरकारले अब नयाँ विधेयक अगाडि बढाउनु पर्ने देखिएको छ । आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत बाईसौं संशोधन विधेयकमाथि छलफल सुरु हुनेछ ।

गत शुक्रवारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले ती विधेयक प्रस्तुत गर्नुभएको थियो । संशोधन दर्ताको ७२ घण्टे समय सकिएसँगै आज ती विधेयकमाथि छलफल हुन लागेको हो ।