गोविन्द सिंखडालाई खाडल भित्रै तीन राउण्ड गोलि हानियो

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २८, २०७५

धादिङको शैक्षिक आन्दोलन सँग जोडिएर आउने नाम हो गोविन्द सिंखडा । उनै सिंखडालाई आजैका दिन (बैशाख २८ ) मनटारीको सल्लाघारी चौरमा खाडल खनी खाडलभित्रै गोलि हानी विभत्स हत्या भयो ।

जीवनी
धादिङ जिल्लाको विकट उत्तरी क्षेत्र गुम्दी सादल्दुमगाउँमा वुबा भिमप्रसाद सिंखडा र आमा प्रेमकुमारी सिंखडाको कोखबाट वि.स. २०२७ साल वैशाख १५ गते जन्मिएका गोविन्द सिंखडा २०३१ सालमा गुम्दी वडा नं ८ फलाङगेमा बसाई सरी बुबा आमासँगै फलाङ्गेमा बस्दै आएका थिए । अति मिलनसार, निडर, साहसी, समाजसेवी उहाँ अन्याय र अत्याचारको भण्डाफोर गरिहाल्ने स्वाभावका गोविन्द सिंखडा सबैको आँखाका नानी थिए ।

धादिङको विकट ठाउँ गुम्दीका कृष्णप्रसाद सिंखडा (गोविन्द) ले प्राथमिक कक्षादेखि नि.मा.वि. सम्मको अध्ययन तामाङ खर्क मा.वि. गुम्दीबाट गरेका हुन् । माध्यमिक शिक्षा कक्षा ९ र १० काभ्रे जिल्लाको धुलिखेलमा लिन पुगेका सिंखडाले वि.सं. २०४७ सालमा काभ्रे धुलिखेलबाट प्रवेशिका पास गरेका थिए ।

आवाज विहिनहरुको आवाज बुलन्द गर्ने आँटका साथ उनी ०४८ देखि समाज सेवाको क्षेत्रमा प्रवेश गरे धादिङ जिल्ला कै एक कर्तव्यनिष्ठ, अनुशासित, निडर एवं साहसी शिक्षकको रुपमा परिचित सिंखडा ०५८ बैशाख १५ गते श्री साल्मेटार प्रा.वि.बाट श्री पञ्चकन्या प्रावि फलाङ्गे गुम्दीमा सरुवा भई विद्यालय सहायक शिक्षकको रुपमा आउनुभयो ।

०६० माघबाट उक्त पञ्चकन्या प्रा.वि. गुम्दीको प्राध्यानाध्यापक जस्तो गरिमामय पदमा रहेपछि पञ्चकन्यालाई धादिङ उत्तरी क्षेत्रको प्रा.वि.हरुको सरकारी र स्थानीय लगानी र सहयोगको अनुपातमा भौतिक सुधारको क्षेत्रमा नमुना प्रा.वि.को रुपमा देखाउँदा विद्यार्थी र अभिभावकहरुले उहाँको क्षमताको विशेष सम्मान गरेका थिए ।

कोहि उत्पीडनमा पर्नु हुदैन, समाजमा सबैको समान अधिकार हुनुपर्छ । धनी र गरीब बीचमा बढिरहेको अनावश्यक दुरी अन्त्य गर्ने महान कार्य संघर्ष बिना संभव छैन भनेर हर बखत अन्याय र अत्याचारको विरुद्धमा आवाज बुलन्द गर्ने कृष्णप्रसाद सिंखडा समाजका सबै मानिस बीच देखापर्ने मनमुटाव, झगडा र अन्तरविरोधहरुलाई गाउँ वाहिर आउन नपाउँदै हल गरि दिन्थे ।

हरेक मानवीय सहयोग उहाँको निश्वार्थ र पूर्वग्रह रहित स्वाभाव भएका कारण हरेक अन्यायमा परेका मान्छे बिरामीले डाक्टर खोजे जस्तो गोविन्दलाई खोज्दथे । ‘‘देशबाट अन्याय, अत्याचार, भ्रष्टचार, शोषण हटाउन एवं देश र जनताको मुक्तिको लागि हामी निरन्तर अगाडि बढ्नुपर्छ ” भन्ने गोविन्द समाजमा लोकप्रिय हुनु साँच्चै निस्वार्थ भावना र समाजसेवाकै प्रतिफल थियो ।

०५६ सालमा मैत्रेय सामाजिक स्वावलम्बन बचत तथा ऋण सहकारी गुम्दी, धादिङको सहसचिव, त्यसै गरी ०५७ सालमा नेपाल रेडक्रस सोसाइटी गुम्दी उपशाखाको आजिवन सदस्य रही ०५८ जेष्ठ ५ गतेदेखि उपशाखा कार्य समितिको सचिव पदमा निर्वाचित भए । रेडक्रस जस्तो सामाजिक संस्थामा प्रवेशपछि समाजले चाहेजस्तो सहयोग उनीबाट निरन्तर हुन थाल्यो । उहाँ ०६० देखि रेडक्रस जिल्ला शाखा धादिङ अन्तर्गत उत्तरी क्षेत्र दिईयो । सल्यानकोट बगुवाको सञ्चालक समितिका सचिव बनेपछि धादिङका जनतामाझ गोविन्द लोकप्रिय बन्दै गएका थिए ।

सामाजिक सेवामा लागेको मान्छे राजनीतिबाट कसरी टाढा हुन सक्छ र ? धादिङ जिल्लाको शिक्षक संघर्ष समितिले आव्हान गरेको लाइसेन्स प्रकरणको आन्दोलनमा पनि यो व्यावहारिक छैन भन्दै विद्यार्थी शिक्षक एवं अभिभावकको हितमा अगाडि बढेको अस्थाई शिक्षक संघर्ष समितिको सचिव पदमा रही शैक्षिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सिंखडा अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति धादिङको तात्कालिन कोषाध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी समाले ।

जब गोविन्द शैक्षिक क्षेत्रमा प्रवेश गरे तब जिल्लाको मात्रै नभई देशै भरिको कर्मठ बौद्धिक जगतका व्यक्तिहरुसँग सहकार्य हुन थाल्यो, तब जिल्लाका तानाशाह प्रवृत्तिका मान्छेहरु जसले बर्षौैंदेखि गाउँ गाउँमा एकाधिकार जमाई गरिब जनतालाई अन्यायमा पारी श्रमशोषण, जातिय भेदभाव, दमन, अत्याचार गर्न पल्केका मान्छेहरुका मुटुहरु काम्न थाल्यो । यस्ता महान् मान्छेलाई समाजले त्यहाँ माथि गुम्दीका जनताले संरक्षण गर्दा गर्दे पनि सोझै राज्यले त्यतिबेलाको शाही सेनाले निर्मम यातना दिएर उनलाई पक्राउ गरियो ।

पक्राउ र हत्या
धादिङ जिल्लाकै समाजसेवी, जनप्रेमी, अन्याय अत्याचार बिरोधी व्यक्तिको रुपमा स्थापित गोविन्द सिंखडालाई केहि खराब व्यक्तिले रिपोर्ट गरे अनुसार पञ्चकन्यामा पढाई रहेको बेला साना बालबालिकाहरुको बाल मस्तिष्कमा असर पर्नेगरी ०६९ साल जेष्ठ २ गते शाही सुरक्षाफौजले गिरफ्तार ग¥यो र निर्मम यातना दिई आठ महिना शाही सुरक्षाफौजको यातना पछि २०६९ सालमा सर्वोच्चको आदेश बमोजिम तारेखमा रिहा भएका थिए ।

एउटा गोविन्द सिंखडालाई हत्या गर्नु कुनै नौलो थिएन किन कि त्यतिबेला राज्यले नेपाली आमाका छोरा छोरीलाई मार्ने अभियान नै चालेको थियो । फलस्वरुप मिति २०६२। १। २७ गते बिहान ९ः३० बजे विद्यालय जाने तयारी गर्दैगर्दा आफ्नै घरबाट सेनाले गिरफ्तार गरि निर्मम यातना दिंदै बीच बाटोमा पु¥याएर आफ्नो ड्रेस सिंखडालाई लगाई गाउँ डुलाएका थिए ।

बैशाख २८ गते बिहान फूलखर्कको मनटारी भन्ने ठाउँको सल्लाघारि चौरमा खाडल खनी उत्तानो पारी खाडलभित्रै तिन राउण्ड गोलि हानी विभत्स हत्या गरेर खाडलमा पुरियो ।

विरलै देख्न सकिने घटना खोजतलास गरी खाडल खोतलेर हेर्दा हातको चोर औला ठडिएको थियो  । उहाँलाई खाडलमा राखी गोली हान्नु पूर्व नै हात भाँचिएको शरीरभरी निल डाम र चोट लाग्ने गरी यातना दिएको मृत शरीर हेर्दा जो कोहीले पनि अनुमान लगाउँथे ।

जब गोविन्दको भौतिक शरीरलाई गाउँलेहरुले गोली हानेर मारेको फेला पारे तब जनताहरु आक्रोशित बने तर के गर्नै हतियारले मत्ता बनेका शाही सेनाले पटक पटक जनतालाई दुःख दिदै आए पनि साधारण गाउँलेहरुले प्रतिरोध गर्न सकेनन् । तर हरक्षण जनताहरुको मुक्तिका लागी लड्दै आएको जनमुक्ति सेनाले जनताको चिच्याहट सुन्यो र गोविन्द सिंखडाको हत्याको बदला लिने योजना बनाई हत्याराहरुको खोजिमा निस्कियो ।

माओवादीको बदला
माओवादीको खम्बा ढालियो भन्दै गाउँले चेलिहरुलाई जिस्क्याउँदै फूलखर्कबाट गोविन्दलाई हत्या गरी झरेका शाही सुरक्षा फौजलाई जनताको सुःख दुःखमा रमाउँदै अगाडि बढेको जनमुक्ति सेनाले किन्ताङफेदी र डी बजारबीच आँखुखोलाको तिरमा चौतर्फि आक्रमण गरी शाही फौजको नेतृत्व गर्ने क्याप्टेन सहित चार जना मारिएपछि गोविन्द सिंखडाका हत्याराहरुको भागदौड मच्चिएको थियो ।

स्मरणीय के छ भने आज पनि महान सहिदका रुपमा स्थापित गोविन्द सिंखडाबाट समाज सेवामा होस् या शिक्षण पेशामा जहाँसुकै रहेर पनि देश र जनताको निम्ति सास रहुन्जेल संघर्ष गर्न पाठ सिक्नुपर्ने देखिन्छ ।

गुम्दीका जनताहरु माझ मात्र होइन देशभर तमाम गोविन्दजस्ता मान्छे मारिए त्यहि रगतको भर्याङ बनाई माओवादीहरु गुट उपगुटका थुप्रै पार्टीमा विभाजित बनेका छन् । गोविन्द जस्ता हजारौ सहिदहरुको सपनामा राज्य शासन सत्ताको माओवादीले कयौ पटक नेर्तत्व गरि सक्यो । तर आज उनै गोविन्दहरुको स्मृति फिका सावित हुँदै गइरहेको छ ।

नेताहरु कमाउ धँदामा लाग्दै छन्, सत्तामा रमाउन र सत्ता र पार्टीमा लागेर पैसा कमाउन तम्सेका मान्छेहरु सहिदका सपनाहरुमा लात हानि रहेका छन् ।

शहिद वेपत्ता परिवारहरुको यो आक्रोस, सहिदको सपना र आज सत्ता संचालन गरि रहेको माओवादी, हिजोको जनयुद्ध, हिजोको नेताका जिवन शैली, व्यवहार एक दिन अवस्य समिक्षा हुने छ । गोविन्द सिंखडा लगायत सम्पूर्ण महान सहिदहरुमा श्रद्धासुमन ।
प्रस्तुति नारायण सिलवाल