धादिङ फुलखर्क बैशाख १२ । गंगाजमुना गाउँपालिका स्थित फुलखर्कका स्थानिय भुकम्प पिडितहरुले प्रतिनिधि सभा सदस्य खेम लोहनी सामु आवास निमार्णको लागि किस्ता लिन झण्झट भएको गुनासो गरेका छन् ।
फुलखर्क कल्याणकारी समाज गङ्गा जमुनाले आयोजना गरेको पुन निमार्ण तथा विकासका पूर्वाधार विशेष विचार गोष्ठीमा भुकम्प पिडितहरुले सहज रुपमा आवास निमार्णको रकम उपलब्ध गराउन माग गर्दै यस्तो गुनासो गरेका हुन् ।
भुकम्प पिडित उनीहरुले पुन निमार्णले गति लिन नसकेको, बनेका घरहरुका किस्ता लिन झनझटिलो भएको, बैंकहरु गाउँ पालिकामामा नहुँदा अझै पनि सानातिना काम गर्नको लागि सदरमुकाम नै धाउन परेको, सम्पूर्ण तहको सरकार निमार्ण भई सक्दा पनि विकासले गति लिन नसकेको जस्ता विषयमा सदस्य लोहनी सँग प्रश्न राखेका थिए ।
संस्थाका अध्यक्ष कुमार बहादुर अधिकारीको सभापतित्व तथा प्रतिनिधि सभाका सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशेष अतिथिमा गंगा जमुना गाउँ पालिकाका अध्यक्ष बल बहादुर अधिकारी रहेका थिए भने अन्य अतिथिहरुमा गंगा जमुना गाउँपालिका वडा नं. ५ का अध्यक्ष रामचन्द्र अधिकारी लगायत स्थानीय राजनितिक दलका प्रतिनिधि, स्थानीय संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरु रहेका थिए ।
कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, स्थानीय संघ संस्था र स्थानीय जनसमुदायको बिचमा अन्तरक्रिया गरिएको थियो । गंगा जमुना ५ मण्डली माध्यामिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा आयोजक संस्थाले एकजना आखाको क्यान्सर भएको व्यक्ति तथा आगलागीद्धारा नष्ट भएका दुई घर र हिले पोखरी आधारभुत विद्यालयका तीन जना उत्कृष्ट विद्यार्थीलाई नगद सहयोग गरिएको थियो ।