मरेका सर्प होइनन्, भ्यागुता: विज्ञ

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २४, २०७३

हरिहरसिंह राठौर, धादिङ कटुन्जे
वैशाख २४ । काउलेबास खानेपानी मुहान वरपर मरेका सर्प नभएर खुट्टा नभएका उभयचर सिक्किमे सिसिलियन (दुर्लभ प्रजातिको भ्यागुता) भएको विज्ञहरूले बताएका छन् । उभयचर तथा सरसिृप विशेषज्ञको टोलीले गरेको अनुसन्धानबाट उक्त कुरा थाहा भएको हो । उनीहरूले भकाभक सर्प मरेका भनिएको कटुन्जेको काउलेवास खानेपानी मुहानमै पुगेर अनुसन्धान गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा वन्यजन्तु विज्ञ करनबहादुर शाह र उभयचर तथा सरिसृप विज्ञ केवी थापाको टोलीले घटनास्थल वरपरको अध्ययन तथा स्थानीयवासीसँग कुराकानी गरेका थिए ।

स्थानीयवासीका अनुसार सर्पजस्ता देखिने उभयचर दशकौंदेखि कटुन्जे मुहान र बाहुनगाउँमा फेला पर्थे । ‘पानी लिन जाँदा सधैंजसो देखा पर्ने ती उभयचरले कसैलाई नटोक्ने र मुहानमै बास बस्ने गरेका थिए । हामीले नाग देवताका रूपमा पुज्दै आएका थियौं,’ जीव संकलन गर्दै आएका सेनाका पूर्वसुबेदार रामवहादुर व्रजाचार्यले बताए ।

पुस्तौंदेखि प्रयोग गर्दै आएको मुहानको ढुङ्गेधारामा नाग मानेर पुजा गर्ने दुर्लभ खुट्टा नभएको उभयचर मुहानभन्दा तल थललने भागमा पनि मरेको अवस्थामा फेला परेका थियो । ‘मुहानमा पानी सुके पछि र अत्यधिक गर्मीले बाहिर निस्केपछि चर्को घामका कारण छाला सुख्खाभै मरेको हुन सक्ने अनुसन्धानमा संलग्न हिमालयन नेचरका अधिकृत एवं उभयचर तथा सरिसृप विज्ञ कुलबहादुर थापाले वताए ।

‘खुट्टा नभएका कारण देख्दा सानो सर्प जस्तो लाग्छ,’ उनले भने, ‘आँखा कमै देख्ने, स्पर्शले मात्रै विचरण गर्ने, शरीरमा कत्ला नभएको यो प्रजातिको भ्यागुता विश्वमै सन् १९६० मा भारतको सिक्किममा फेला परेको थियो ।’ अनुसन्धान जीव वैज्ञानिक एडवार्ड ह्यारिसन टायले फेला पारेका थिए । सिक्किममै फेला परेको हुनाले विज्ञहरूले यसको नाम पनि ‘सिकिम्म सिसिलियन’ नै राखेका थिए ।

यो प्रजातिको भ्यागुता सन १९६५ मा इलाममा फेला परेको थियो । २०७० मा पाल्पा र २०७२ मा चितवनमा फेला परेको थियो । यो प्रजातिले भ्यागुताका फुल, चेपागाँडा, कीरा फट्यांग्रा आहार बनाउने गरेको छ । यसको मुख्य आहारा भने गड्यौला नै हो । गड्यौला नै खाएर बाँच्ने भएकाले यसको नाम ‘गन्यौले साप’ आफैंले नामकरण गरेको विज्ञ शाहले बताए । यसले हरेक मनसुनको समयमा ३ दर्जन जति अण्डा पेटमै राखेर एक महिना जति ओथारो बस्ने शाहले जानकारी दिए । बाहिर निकै कम देखा पर्ने भएकाले कमै मात्र अनुसन्धान हुने गरेको छ । उनको भनाइमा यति धेरै बाहिर निस्केर मरेको घटना यो पहिलो भएको विज्ञ बताउँछन् ।

स्थानीय रामबहादुर व्रजाचार्यले उक्त जीवका मृत ३० वटा उभयचर सुरक्षित राख्न जिल्ला वन कार्यालयमार्फत प्राकृतिक विज्ञान संग्रहालय, स्वयम्भूमा हस्तातरण गरेका छन् । कान्तिपुर दैनिक