काँग्रेस बलियो बनाउनकै लागि मेरो उम्मेद्वारी- भिम ढुङ्गाना

Avatar photo
Dhadingpost
आइतवार, पुस १९, २०७२

bhim dhunganaनेपाली काँग्रेस धादिङका नेता भिम ढुङ्गाना यस पटक जिल्ला सभापतिमा उठ्दै हुनुहुन्छ उहाँ सँग सहकर्मी बद्री अधिकारीले गर्नु भएको कुराकानी
हिजो आज केमा व्यस्त हुनुहुन्छ ?
नेपाली काँग्रेसको तेह्रौ महाधिबेशन आईरहेको छ, तेह्रो महाधिवेशनकै तयारी गर्नको निमित्त गाउँ गाउँ घुम्ने र साथी भाईहरुसँगको भेटघाटमा नै दिनहरु बितिरहेको छ ।
काँग्रेसको तेह्रौँ महाधिबेशन गाउँ र जिल्लातिर पनि लागिसकेको अवस्था हो ?
गाउँ जिल्ला सबैतिर हरेक व्यक्ति–व्यक्ति साधारण सदस्य, सक्रिय सदस्यदेखी शुभचिन्तकहरु सबैमा तेह्रौँ महाधिबेशनको लहर सुरु भैसकेको छ ।
यसपटक पार्टीको जिल्ला सभापतिमा तपाईको उम्मेद्वारी हुने भन्ने चर्चा छ नि ?
लामो समय भयो, नेपाली काँग्रेसको भातृ संगठन नेवि संघबाट सुरु गरेको राजनीति, कक्षा ७ मा पढ्दाखेरी म नेवि संघको जिल्ला कमिटी सदस्य थिएँ, कक्षा ९ मा पढ्दाखेरी ३९ सालमा जिल्ला अध्यक्ष थिएँ, २०३९ सालदेखी २०५३ सालसम्म धादिङ जिल्लाको अध्यक्ष भएर काम गरेँ । ०४२ सालमा सत्याग्रह थिएँ । ०४६ सालको आन्दोलन, ०६२-०६३को आन्दोलनदेखी अहिलेसम्म निरन्तर काम गरिरहेको अवस्था हो । करिब करिब अब मैले पार्टी सभापतिको लागि तयारी गरेको अवस्था हो ।
पार्टी सभापतिको उम्मेद्वारी दिने भएपछि महाधिबेशनको तयारीमा कत्तिको लाग्नुभएको छ त ?
पार्टी सभापतिको उम्मेद्वारी दिने भएपछि मैले अहिले मात्र होइन, करिब करिब १ वर्ष पहिलेदेखी नै तयारी गरिरहेको छु । जिल्लामा देखिएका साथीहरुसंग बसेर छलफल गरेर यस पटक मैले पार्टी सभापतिमा उम्मेद्वारी दिने या नदिने भनेर पटक–पटक सबैसंग सल्लाह गरेर सबै साथीहरुको सल्लाह अनुसार मैले पार्टी सभापतिको लागि उम्मेद्वारी दिन लागेको हुँ ।
पार्टीको सभापतिमा निर्विरोध हुनुहोला त ?
म आशावादी छु किनभने म धेरै सिनियर साथीहरु हुनुहुन्छ, दाजुहरु हुनुहुन्छ, उहाँहरुले पार्टी सभापतिमा दावी गरिरहनुभएको अवस्था छैन । धेरै पटक उठिसक्नु भएको पनि छ, कोहीले जित्नुभएको छ कोहीले जित्नुभन त्यो आफ्नो ठाउँमा छ । र अहिलेसम्म धादिङ जिल्लामा देखिनुभएका नेतृत्वहरु सबैलाई मैले पूर्ण रुपमा सहयोग गरेको स्थिति हो । हरि दाई शिवराज दाई देखी लिएर वर्तमान सभापति रामनाथ अधिकारीदेखी बासुदेव तिमल्सिना, तिलक रुवाली, रमेश धमला, फर्णिकान्त छत्कुलीदेखी सबैलाई मैले सहयोग गरेको छु । अहिलेसम्म मैले जिल्लाको फष्ट म्यानको दावी गरेको थिइनँ । त्यसैले उहाँहरुै सरसल्लाह लिएको छु र उहाँहरुले नै यसपाली मलाई अगाडि बढ्न सरसल्लाह दिनुभएको छ, त्यसैले पार्टी सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको छु ।
पार्टी सभापतिमा निर्विरोध हुनको लागि तपाईको भूमीका के रहन्छ ?
मेरो भूमीकामा भर पर्दैन । पहिलोचोटी वर्तमान सभापति रामनाथ अधिकारीलाई हामीले सर्वसहमति बनायौं । त्यतिखेर म क्षेत्रीय सभापति थिएँ । र मैले नै सोंच बनाएँ । दामन दाई वितिसक्नुभएपछि, ०५६ सालमा चुनाव हुँदैछ । अब फेरी विवाद भयो भने ०५६ सालको चुनाव हार्न सक्छौं, त्यसले गर्दाखेरी मैले ३ नं. क्षेत्रको सभापति माधव पाण्डे हुनुहुन्थ्यो, १ नं. क्षेत्रको सभापति भक्त लामा हुनुहुन्थ्यो, उहाँहरुलाई ४८ घण्टासम्म संगै एकै ठाउँमा राखेर छलफल ग¥यौं । त्यतिखेर रामनाथ अधिकारीलाई सभापति बनाउनुपर्छ भन्ने तीन वटै क्षेत्रको सभापतिमा पहिले म एक्लै हुँ । पछि उहाँलाई सर्वसम्मति बनाइयो र ५६ सालको चुनाव पनि जितियो । यो जिम्मेवारी अहिले म आफू नै उम्मेद्वारी भैराख्दाखेरी मेरो भन्दा पार्टी सभापतिको बढी हो । र पार्टी सभापतिजीले नै पहल गर्नुपर्छ उहाँ पनि सर्वसम्मतिले नै सभापति बन्नुभएको हो । उहाँ केन्द्रिय सदस्य उठ्छु भनिराख्नुभएको छ भने, धादिङ जिल्लाबाट सर्वसम्मति बनाएर जानु भयो भने उहाँको उचाई धेरै हुन्छ । उहाँ केन्द्रिय सदस्यमा उठ्दा पनि सर्वसम्मति बनाएकै कारणले उहाँलाई केन्द्रिय सदस्य बन्न झनै सहज हुन्छ ।
पार्टी सभापतिमा अरुको पनि दावी छ भन्ने छ, यदि अरुले पनि पार्टी सभापतिको उम्मेद्वारी रह्यो भने तपाई के गर्नुहुन्छ ?
सम्भवतः सबै साथीहरुले मलाई बचन दिइसक्नुभएको कारणले गर्दा अरु सार्थीहरुले दावी गर्नुहुन्न त्यो मेरो विश्वास हो ।
तपाईंले पाटीभित्र धेरै गुट–उपगुट गर्नुभयो भन्ने छ नि ?
आरोप कसले लगायो भन्ने कुरा मलाई थाहा छैन । एउटा कुरा के हुन्छ भने, दुई प्रकारका साथीहरु हुन्छन्, एउटा गफ गरेर बसीखाने अर्को गरिखाने, अब गरिखानेको विरुद्धमा एदाकदा एउटा दुईटा कुरा आउनु स्वभाविक नै हो । तर मैले पार्टीमा गुट–उपगुट गरेको छैन । यदि गरेको छ भने त तपार्इंले पनि त यो ठाउँमा गुट गरेको हो भनेर भन्न सक्नुहुन्थ्यो होला नि ? म अलि धेरै मेहनती छु । जनता र कार्यकर्ताकोमा अलि धेरै पुग्छु, जनता तथा कार्यकर्ताले भनेका कुराहरुलाई सकेसम्म सम्बोधन गर्ने प्रयास गरिरहेको हुन्छु । सम्भवत ः बसिखाने साथीहरुले त्यस्तो कुरा भनेका हुनसक्छन् त्यसैले तपाईंले सुनेको जस्तो गुट मैले गरेको छैन ।
विगत संविधानसभाको निर्वाचनमा पनि तपाईंकै कारण काँग्रेसले हार खान पुगेको गम्भीर आरोप थियो नि ?
गम्भीर आरोप मात्रै होईन मलाई ६ महिनासम्म निलम्बन नै गरेको हो । मैले यसबारे स्पष्ट रुपमा भन्नुपर्छ । मैले त्यतिखेर पनि भनेको थिएँ, पहिलो कुरा मलाई आरोप लगाउँदाखेरी र ६ महिनासम्म निलम्बन गर्दाखेरी नेपाली काँग्रेसको क्षेत्रिय समितिले निलम्बन गर्ने कुरा नेपाली काँग्रेसको विधानको कुनै पनि धारामा उल्लेख गरिएको छैन । अनुशासन समितिले क्षेत्रलाई सिफरिस गर्ने क्षेत्रले जिल्लालाई सिफारिस गर्ने र जिल्लाले केन्द्रकालाई कार्वाही गर्नको लागि सिफारिस गर्ने हो विधानत । मलाई क्षेत्रिय समितिले कार्वाही गरेर मेरो चरित्र हत्या गर्ने काम मात्रै गरेको हो । त्यो आरोेप लगाउने साथीहरुलाई मैले त्यतिबेलै पनि भनेको थिएँ, अहिले पनि भन्छु र भोली पनि भन्नेछु, एउटा मात्रै प्रमाण कहीँ देखाउन सक्नुभयो भनेदेखी म कुनैपनि सजाएँ भोग्न तयार छु । धादिङ जिल्लाको ५० वटै गाउँ विकास समितिबाट भन्दा सबैभदा बढी भोट तत्कालीन मुरलीभञ्ज्याङ गाउँ विकास समितिबाट आएको छ एउटा, अर्को कुरा सबैभन्दा बढी मध्ये क्षेत्रमा खटेर हरेक कार्यक्रममा हिड्ने मान्छे मै छु र मलाई व्यक्तिगत रुपमा सहयोग गर्ने जो कोही पनि मान्छेलाई परिचालन गर्न म कहिले पनि पछि परेको छैन । मेरो चरित्र हत्या गर्नकै लागि त्यो कुरा भनिएको हो । न कि अन्य कुरा केही पनि होइन ।
पार्टी सभापति पदकै लागि सर्वसम्मत नभई निर्वाचनमा जाँदा तेह्रौँ महाधिबेशन पश्चात पार्टी झनै धरासायी हुने त होइन ?
नेपाली काँग्रेस पार्टी भनेको एउटा प्रजातान्त्रिक पार्टी हो । तर, निर्वाचनमा जाँदा पार्टी कमजोर हुन्छ भन्नेमा म विस्वस्त छैन । सर्वसम्मत भयो भने सुनमाथी सुगन्ध हो र जो नेतृत्वमा गए पनि, म विजयी भएर आएपछि मैले मलाई हिजो भोट हालेको हो र होइन भन्न सोंच राखै भने म प्रजातान्त्रिक मान्छे बन्न सक्दिनँ । त्यसैले यदि मलाई भोट नहाल्ने सार्थीलाई पनि मैले केही कमी कमजोरी गरेको भए सरसल्लाह, सुझाव लिएर गयो भने पार्टी झनै बलियो भएर जान्छ । आग्रह पुर्वाग्रह राख्न थालियो भने मात्रै धरासायी हुने हो । त्यो किसिमको सोंच ममा छैन ।
जिल्लाको सभापति बन्नको लागि केन्द्रको लाईनले पनि प्रभाव पार्छ भन्छन् नि ?
सिद्धान्त र विचारमा फरक छैन । एउटै पार्टीको के लाईन हुन्छ र ? व्यक्तिगत रुपमा कोहीसंग कोही नजिक हुनसक्छ । मेरो केन्द्रिय लाईनकै कुरा गर्न हो भने एउटै मात्रै लाईन भएको मान्छे म नेपाली काँग्रेसको मान्छे हुुँ । नेपाली काँग्रेस कसरी बलियो हुन्छ भन्ने मात्रै मैले सोचेको हुन्छु । त्यसो हो भने केन्द्रिय लाईनमा त कोही कता हुन्छन् कोही कता जस्तै हिजो प्रकाशमान सिंह शेरबहादुर देउवाको नजिक हुनुहुन्थ्यो भने, अहिले सुशिल कोइरालाको नजिक र पार्टीको महामन्त्री बन्नुभएको छ । जिल्लामा देखिएका साना गुट उपगुटलाई अन्त्य गरी पार्टी एक बनाउनुपर्छ । तीन तीन क्षेत्र हामीले हारेका छौं । कार्यकर्ता धेरै भए पनि जनता धरै भए पनि हामीले व्यवस्थापन राम्रो गर्न नसकेको कारणले गर्दाखेरी कमजोर भएका छौं । हामीले गुट उपगुट बनाएर काम गर्दा राम्रो हुँदैन मैले गुट उपगुट अन्त्यकै लागि, काँग्रेसलाई बलियो बनाउनकै लागि मेरो उम्मेद्वारी हो ।
तपाई त राजनीतिककर्मी भन्दा पनि एनजीओकर्मी हुनुभयो भन्ने पनि छन् नि ?
मैले यो बारम्बार भनिरहेको छु । जनताको धेरै इच्छा आकाँक्षा छन् । अन्य देशका मान्छेहरु चन्द्रमामा पुगिसके अहिलेसम्म हाम्रो देशका मान्छेहरु खानेपानी सडक, शिक्षा, स्वास्थ्यबाट बञ्चित भएको अवस्था छ । यो बेलामा एउटा कुनैपनि प्रजातान्त्रिक मुलुकहरुमा हेर्नुहुन्छ भने, सरकारसँग भन्दा गैर सरकारी संस्थाहरुसँग धेरै बजेट भएको अवस्था छ । मैले पनि सोचे कि अब हामीले जनताको इच्छा आकांक्षा पुरा गर्नका निमित्त जनताका घाउहरुमा मलम लगाउनको निमित्त, संघ संस्थालाई अगाडि बढाउन सक्यौं भने करोडौं रुपैयाँ अनुदान ल्याएर जनताको इच्छा आकांक्षा पुरा गर्न सकिन्छ भन्ने मेरो ठहर छ । त्यो अनुसार हामीले काम पनि गरिरहेका छौं । बाँकी रह्यो म राजनीतिककर्मी कि एनजीओकर्मी भन्ने प्रश्नमा मैले जवानी र जीन्दगी नै राजनीतिमा बिताएर आएको छु, एनजीओ भनेको एक गैर सरकारी संस्था हो, केही समयको लागि हो । म नभए पनि अरु कोही आउन सक्छ । एउटा संस्थाको व्यवस्थापन मात्रै गरेको हो । म संधैँ त्यहिँ भैराख्छु भन्ने छैन । संस्थामा अरु कोही आउन सक्छ । सत्ताको मन्त्रीसंग दश वीस लाख हुनसक्छ भने भोली पार्टीले पनि सत्ताको विपक्षमा बस्दाखेरी जसरी हामी अहिले बसिराख्या छौं । भोली स्थानीय निर्वाचन हामीकहाँ नभैरहँदाखेरी पनि के जनतालाई हिजो निर्वाचनका बेला बोलिएका कुराहरु परिपुर्ति गर्नको निमित्त काम गर्नुपर्छ । यो प्रश्न गर्ने साथीहरुलाई म सोध्न चाहन्छु – के अहिले हामीसंग सत्ता छैन भनेर संधैं चुप लागेर बसिरहन मिल्छ ?
तर, प्रश्न केहो त भन्दा एन्जीओको कार्यक्रम लिएर जाँदाखेती काँग्रेसको कार्यकर्ता भन्न हुँदैन, जनताको भावना अनुसार काम गर्नुपर्छ ।
तपाईले राजनीति संगै एनजीओलाई किन प्राथमिकता दिनुभयो ?
एनजीओलाई प्राथमिकता दिएको छैन । म कहिँ कतै हिँडेको छु ? म कर्मचारी हो र ? महिनावारी तलव खाने मान्छे हो र म ? मैले एउटा वातावरण सिर्जना गरिदिएको मात्रै हो । जनताको विचमा जान सहज होस् मात्रै भनेको छु । मैले पूर्णकालीन रुपमा राजनीति गरिरहेको छु । तपाईले भन्न खोज्नु भएको होला म एक्सन नेपालको अध्यक्ष छु । अध्यक्ष हुँदैमा केही पनि हुँदैन । त्यो त एउटा पोलिसीको काम मात्रै गर्ने हो । मैले व्यवस्थापन मात्रै गरेको हो । अरु सबै काम कर्मचारीले गर्ने हो । यसलाई मैले एनजीओलाई प्राथमिकता दिएको भन्न मिल्दैन ।
आसन्न तेह्रौँ महाधिवेशन पश्चात तपाई जिल्ला पार्टी सभापति हुनुहुन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
म विश्वस्त छु । किनभने अगि पनि कुरा आइसकेको छ । सबै साथीहरुलाई मैले सहयोग गरेको छु । धेरै साथीहरुले दावी गरिरहेको अवस्था पनि छैन । केही साथीहरुको यदाकदा नाम सुनेको छु । कताकति बासुजीको नाम आईरहेको छ । बासुजी दुई दुईपटक पार्टी सभापति उठ्नुभो तर, एघारौँ महाधिबेशन र त्यसपश्चात बाह्रौं महाधिबेशनमा उहाँ पराजय र वर्तमान सभापति रामनाथ अधिकारी विजय हुनुभएको घोषणा गर्दै सभामा नै उहाँले बोल्नुभएको थियो – म ब्रामणको छोरो हुँ मैले फटाहा कुरा गर्न जानेको छैन । ‘तेह्राँै महाधिबेशनमा पार्टी सभापतिको उम्मेद्वार म हुुन्न तपाईहरु ढुक्क हुनुस् र म भन्दा युवा सार्थीहरुहरुलाई उठाउने छु’ भनेर घोषणा गरेको मै प्रति संकेत गरेको मैले बुझेको छु । त्यत्तिको बुद्धिजीवि मान्छेले हिजो बोलेका कुराहरुलाई कार्यकर्ता र जनताको विचमा म फेरी उम्मेद्वारी हुँ भनेर उहाँले घोषणा गर्नु हुँदैन त्यो मेरो विश्वास हो । बाँकी रह्यो रमेशजीको कुरा उहाँ एघारौं महाधिबेशनमा पार्टी सभापतिमा उठ्नुभयो । बाह्राँै महाधिबेशनमा बासुजीलाई सहयोग गर्नुभयो । बाह्रौँ महाधिबेशनमा उहाँले केन्द्रीय सदस्यमा दावी गर्ने कुरा गर्नुभयो । उहाँले बासुजी र मलाई साक्षी राखेर ठमेलको ट्याँकी होटलमा म जिल्लाको सांसद पद बाहेक अन्य पदमा दावी गर्दिनँ तपाईहरु ढुक्क हुनुस् भन्दै हामीसंग केन्द्रिय सदस्यको लागि सहयोग माग्नुभयो, हामीले पनि सहयोग ग¥यौं । अब उहाँ फेरी जिल्लाको सभापति पदमा दावी गर्नुहुन्छ भन्ने कुरामा मलाई विश्वास छैन । गर्नुभयो भने उहाँको नैतिकताको कुरा हो ।
तेह्रौँ महाधिबेशन निर्वाचनमै जाने भयो र तपाई पराजित हुनुभयो भने तपाई के गर्नुहुन्छ ?
म अलि फरक ढंगको मान्छे, पदमा पुग्दा भूपू भइन्छ, डिलमा बस्यो वर्तमान भइन्छ । पदमा पुग्नपनि सकिन्छ नपुग्न पनि सकिन्छ शत प्रतिशत घमण्ड गर्नु हुँदैन । म अहिले प्रजातन्त्र आइसकेपछि काँग्रेसमा आएको भए पो के गर्नुहुन्छ भन्ने कुरा हो । प्रजातन्त्र ०४६-४७ सालमा आउँछ भन्ने नै मलाई थाहा थिएन म २०३७ सालदेखी काँग्रेसमा लागेको छु भने, मेरो जुन स्पिडमा काम गरिरहेको छु त्यो स्पिडमा अझ मैले जनताको सेवा गर्न सकेको रहेनछु भनेर अझ अग्र गतिमा आफ्नो जोस् जाँगर लिएर अहिले भन्दा पनि वढी काममा लागिरहन्छु ।
तपाई पार्टी सभापति हुनुभयो भने तपाईबाट कार्यकर्ताले के–के आशा गर्न सक्छन् ?
ब सामान्य कुराहरु, म एक बर्षभित्र पार्टी कार्यालय स्थापना गर्छु, कनैपनि चन्दा लिँदाखेरी रसिद भन्दा दायाँ वायाँ हुँदैन । वार्षिक रुपमा लेपापरीक्षण गर्छु र प्रत्येक गाउँ विकास समितिमा अडिटको रिपोर्ट पठाउँछु । सबै नेता तथा कार्यकर्ताहरुलाई जिम्मेवारी बाँडफाँड गर्छु । राजनीति गर्छु भन्ने कसैलाई पनि जिम्मेवारी विहिन बनाउँदिनँ । त्यतिमात्रै होइन, राजनीतिक नगर्नेलाई पनि प्रमोड गरेर लैजान्छुु । म हरेक जनताको घरदैलोमा र गाउँ विकास समितिमा पुगेर पार्टीको भेला प्रशिक्षण गर्ने काम गर्छु । ४६ गाउँ विकास समिति र १ नगरपालिकाका सबै ठाउँमा पार्टी गतिविधिको अनुगमन तथा मुल्याँकन गरेर अगाडि बढ्छु । संगठनलाई चुस्त र दुरुस्त बनाउँछु । १० वर्ष अघि भीम ढुंगानालाई सभापति बनाउन पाएको भए कस्तो संगठन बन्थ्यो होला ? संगठन यसरी पो बनाउनुपर्ने रहेछ भन्ने फिलिङ्स गराउने वातावरण गराउनेछु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
मैले धेरै कुराहरु भनिसकेको छु तथापी पनि मुल धमिलो छ, हरेक नेपाली काँग्रेसको सक्रिय सदस्य, साधारण सदस्य, शुभचिन्तकहरुले धारोमा सङ्लो पानी खान खोजेका छन्, यदि भीम ढुंगानालाई पार्टी सभापति बनाउनुभयो भने, हरेक काँग्रेसको सबै शुभचिन्तक, साधारण सदस्य, सक्रिय सदस्यहरुलाई धारामा सङ्लो पानी खुवाउन कोसिस् गर्नेछु र त्यसलाई मध्यनजर राखेर सबै राथीहरुले यो तेह्रौ महाधिबेशन भनेको मुल सङ्ल्याउने महाधिबेशन हो, मुल सङ्ल्याउन हरेकले आ–आफ्नो ठाउँबाट क्षमता र विवेकले भ्याएसम्म काम गर्नुहुनेछ भन्ने मलाई विश्वास लागेको छ ।