हरिहरसिंह राठौर, अल्छीडाँडा (धादिङ) । विस्थापित भएर सदरमुकाम नपुग्दै बाटैमा सुत्केरी भएकी रेलीमाया तामाङको विस्थापित शिविरमा झनै बिजोग भएको छ । उनी सुतेको पराल जोगाउन पानी पर्नासाथ कुटो लिएर पानी तर्काउन बाहिर निस्किन्छिन् । जिल्लाको उत्तरी बस्ती सेर्तुङ २ बोराङकाकी रेलीमाया भूकम्प गएकै दिन बाटोमा सुत्केरी भएकी थिइन् ।
सडक यातायात बन्द भएको अवस्थामा सुत्केरी भएको स्थानबाट दम्पतीलाई सदरमुकाम पुग्न थप २ दिन लागेको थियो । दुई हप्ताकी सुत्केरी रेलीमाया अहिले आफन्तका त्रिपालमा कोचिएकी छन् । एउटै त्रिपालमा सुत्केरीसमेत बस्नुपर्दा आफन्तसमेत मर्कामा परेका छन् ।
रेलीमायाका श्रीमान् लिलीमान गर्भवती श्रीमती छोडेर २ महिनाअघि दुबई उडेका थिए । दुई छोरासहित सदरमुकाम पुगेकी रेलीमायालाई आफन्तले सुत्केरी एउटै त्रिपालमा बस्न नहुने भन्दै अलिकति पराल दिएर अलग गराइदिए ।
‘खानै नपाएपछि नजिकैको सामुदायिक वनबाट दाउरा ल्याएर बेच्ने गरेकी छु,’ रेलीमायाले बताइन् । सुत्केरीको बिचल्ली भएको थाहा पाएपछि स्थानीय महिलाहरूको संस्था सहयात्री समाजले केही खाद्यान्न, लत्ताकपडा र गेडागुडी, त्रिपाल दिएको सामाजिक परिचालक अनिता खातीले बताइन् ।
भूकम्पपछि विस्थापित शिविरहरूमा तीन महिनाभित्रका ४७ जना सुत्केरी रहेको जिल्ला प्रहरीले जनाएको छ । विस्थापितहरूको शिविरमा सबैभन्दा पहिले आउने परिवारलाई ग्यासलगायत धेरै खालका राहत उपलब्ध गराइएको छ । भर्खरै आएका विस्थापितले भने त्रिपालसमेत पाएका छैनन् । साभारः ईकान्तिपूर