रत्नपार्ककी यौन व्यवसायीको दारुण कथा

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ४, २०७२

Sita-Yadavसुदीप विश्वकर्मा/सरिता कार्की
काठमाडौं, दुब्लो शरिर । प्याजी रङको हुक, रातो कुर्ताले उनको शरिरको आवरणपत्र छोपिएको । झरीले रुझाउला भन्ने पीर सायद उनलाइ, हातमा छाता छ । रत्नपार्कमा मान्छेहरुको भिड उस्तै । पेटीमा राखिएका फुटकर खानेकुरामा उनका आँखा गडेका थिए ।

ठिक त्यसैबेला हामीले उनको पिछा गर्यौँ । आफ्नै शरिरको व्यापार गर्नेहरुसँगको संवाद दुस्कर थियो । पछि लाग्दा लाग्दाको हाम्रो हैरान । सायद उनी पनि हामीसँग हैरान थिइन् होला । उसैपनि हामीले उनीजस्ताहरुलाई पछ्याएको महिनौं भएको थियो । बिचमा सहजकर्ता खोजियो । उनै सहजकर्ताले भेटाए । तर बोल्न मानिन् । …यादव । हामी आफैँले नामकरण गरर्यौ उनको नाम ‘सीता’ । इज्जतको शहरमा सक्कली नाम नभन्नु भनिन् उनले ।
होटलमा काम लगाइदिन्छु भनेर लिएर गएका मलाई । यस्तो काममा लगाउँछन् भनेर मैले सपनामा पनि सोचेको थिइनँ । मलाई कोठामा थुनियो । ताल्चा लगाइयो । भित्र दुईजना केटाहरु थिए, म निसास्सिएँ । मैले उनीहरुसँग हार गुहार गरेँ । उनीहरुलाई केहि नराम्रो नगर्न अनुनय गरेँ । त्यतिबेला मलाई बचाउन कोही पनि आएनन् ।
मान्छेहरुको नाङ्गो आँखाले उनलाई कतै ज्यामी काम गर्ने महिलाको रुपमा देख्छ होला । तर नाङगो हेराइसँग उनको पेसा मेल खाँदैन ।
श्र्रीमानले छोडेपछि बलात्कार
पाँच वर्ष अघिसम्म सीताको जीवन फरक ट्र्याकबाट दौडिरहेको थियो । निरज यादव उनको श्रीमान् थिए । प्रेम विवाह गरेकी उनी श्रीमानकै सहयोगमा जोरपाटीमा फलफुल बेच्थिन् । जब श्रीमानले उनलाई छाडेर सौता भित्र्याए तब सीताको जीवन अस्थिरतातिर धकेलियो । उनले बेच्दै आएको फलफूलको गाडा निरजले उठाएर लगे । ‘मेरो श्रीमानले छोडेपछि मसँग केहि पनि थिएन । फलफूल पनि बेच्न नसकेपछि मेरो यस्तै साथीहरुसँग संगत भयो ।’ सीताले आफ्नो जीवनको बदलिएको मोड बारे बोलिन् ‘एकजनाले मलाई काम लगादिन्छु भनेर सुन्धाराको एक होटलमा लग्यो । होटलमा यौन गतिविधि हुने रहेछ । मलाई होटलमा यस्तो हुन्छ भन्ने थाहा थिएन । ’
सुन्धाराको एक होटलमा भाँडा माझेर पैसा कमाउने अभिप्सा बोकेर होटल छिरेकी उनी पहिलो दिनमै दुई जना केटाहरुको जबरजस्त सिकार बनिन् । होटलको कामबाट पैसा कमाउने सपना पहिलो दिनमै इज्जतसँगै लुटिएपछि उनी ठूलो पिडामा परिन् । ‘त्यतिबेलाको कुरा सम्झँदा मेरो आँखा अहिले पनि रसाउँछ ।’ विगत प्रति दुःखी हुँदै उनी भन्छिन्, ‘होटलमा काम लगाइदिन्छु भनेर लिएर गएका मलाई । यस्तो काममा लगाउँछन् भनेर मैले सपनामा पनि सोचेको थिइनँ । मलाई कोठामा थुनियो । ताल्चा लगाइयो । भित्र दुईजना केटाहरु थिए, म निसास्सिएँ । मैले उनीहरुसँग हार गुहार गरेँ । उनीहरुलाई केहि नराम्रो नगर्न अनुनय गरेँ । त्यतिबेला मलाई बचाउन कोही पनि आएनन् ।’

पैसाको दम्भमा यौनको भोग गर्न आएका उनीहरुमा दयामाया भन्ने किन हुन्थ्यो । उनीहरुले निर्ममता पूर्वक सीताको शरिर भोग गरे । ‘उनीहरुको अगाडि म धेरै रोएँ । अहिले त बिरामी भएर दुब्लाएको छु त्यतिबेला त ज्यान पनि सलक्क परेको थियो ।’ उनलाई त्यो दिनमा बोलेका आफ्नै शब्दहरुले झट्कारिरहन्छ, ‘भाइहरु यसो नगर न मलाई, भन्दा पनि उनीहरुले मलाई छोडेनन् ।’

सीतालाई ठूलो पिडा त्यतिबेला भयो जतिबेला उनले सोहि होटलमा आफूलाई पाँच हजारमा बेचिएको थाहा पाइन् । उनीमा त्यतिबेला प्रतिरोधको भाव आएको थियो । कोठाबाट बाहिर निस्केपछि उनले होटल साहुनीलाई कुट्नि ।

ज्यामी काम गर्न गयो ३०० भन्दा बढि दिँदैनँ । त्यसले दुई छाक टारौँ कि कोठा भाडा तिरौँ ?

त्यस्तो अन्याय हुँदा पनि किन सहनु भयो ? हाम्रो जिज्ञासामा उनले भनिन्, ‘पुलिसकोमा जान्छु सोचेको थिएँ तर आफ्नै बेइज्जत हुने हो कि भन्ने लाग्यो । पुलिसले ‘तँ आफै त्यस्ती थिइस् र त त्यहाँ गइस् नि’ भनेर आफूलाई नै हकार्ने हो कि भन्ने पनि डर भयो । पुलिसहरुले म होटलमा गएको कुरा मात्र देख्छन् । मलाई त्यहाँ कसरी पुर्याइयो, के भनेर लोभमा पारियो भन्ने कुराहरु उनीहरुले न त हामीलाई सोध्छन् न त उनीहरुलाई यी कुराहरु बुझ्नु नै छ ।’

उनले त्यो दिन पछि होटल लाइनमा काम गर्दिन भनेर प्रण गरिन् । आफै प्रति पछुतो गरेर शहरमा पेट पाल्न मुस्किल थियो । त्यो घटनापछि उनको दैनिकी चल्न निकै गाह्रो भयो । ‘ ज्यामी काम गर्न गयो ३०० भन्दा बढि दिँदैनँ । त्यसले दुई छाक टारौँ कि कोठा भाडा तिरौँ ? उनले आफ्नो दुस्कर जिन्दगीको पोल खोल्दै भनिन्, ‘के गरौँ नगरौँको अवस्थामा पुगेँ ।’

बरु केहि खाँदिन यस्तो काम त गर्दिनँ भनेर त्यहाँबाट निस्किएँ

शहरको मुस्किल दैनिकी नै उनको जीवनको फरक ट्र्याक बन्यो । उनकै उमेरका साथीहरुले उनलाई शरिर बेच्ने ठाउँ देखाए, ‘साथीहरु थिए, उनीहरुले रत्नपार्क जाऔँ भन्थेँ । उनीहरुले मलाई के काम गर्छौ भनेर सोध्थे, मैले केहि पनि गर्दिनँ भन्दा रत्नपार्क हिँड् भन्थे ।’ आफन्तविहिन उनले सोचिन्, ‘मेरो यो संसारमा कोही पनि छैन, उनीहरुले यस्तो गर्दा हुन्छ, म पनि गर्छु । तीन वर्ष अघि क्षेत्रपाटीमा रहेको मेरो कोठाबाट एकदिन रत्नपार्क गएँ ।’

रत्नपार्क आएको पहिलो दिन उनलाई निकै डर लागेको थियो । समाजले अवैध भनेको पेसाको पहिलो ड्युटी थियो त्यो दिन । उनको मन कामेको थियो । ‘सुरुको दिनमा त डराएर भागेँ ।’ उनले आफ्नै पेसाको सुरुवाती दिनतिर लगिन्, ‘बरु केहि खाँदिन यस्तो काम त गर्दिनँ भनेर त्यहाँबाट निस्किएँ ।’ भोलीपल्ट निकै आँट गरेर आउनुपरेको थियो ।’

जीवन बेचिएको पहिलो दिन
भोलिपल्ट उनको आँटमा एक ग्राहकले साथ दिए । त्यो दिनको पहिलो ग्राहक राम्रै परेको थियो । ‘मैले १५ सय भनेको थिएँ । जाउँ दिदि भन्यो । उसले पहिला नै पाँच सय दिएको थियो । होटलको कोठा भाडा पनि आफैले तिर्यो र मलाई १५ सय दियो ।’ पहिलो ग्राहक प्रति हार्दिकताको भाव देखाउँदै उनले भनिन्, ‘पैसा पाइसक्दा पनि म निकै कामिरहेको थिएँ । त्यो केटा गइसकेपछि म काम्दै त्यहाँबाट भागिहालेँ । त्यसपछि सोचेँ अब यहि काममा लाग्छु ।’

यौन व्यवसाय सुरु गरेको पहिलो दिनमा परेको असल ग्राहककै कारण सीतालाई उत्साहित बनायो । ‘संसारमा कोहि पनि छैन भनेर निरास बनेकी म आफैमा केहि गर्न सक्छु भन्ने आँट पनि आयो ।’

घट्दै आफ्नै जीवनको भाउ
यतिबेला सीताको रेट एक हजार रुपैयाँ हो । एक हजारमा उनी कसैको यौनको प्यास मेटाउन तयार हुनुपर्छ । औषतमा हर दिन तीनजना ग्राहक उनले पाएकी हुन्छिन् । उमेर छँदा उनको रेट १५ सय थियो । ओरोलो लागेको बैंस र उमेरसँगै उनको रेट पनि अहिले झरेको छ । ‘ दैनिक तीन, चारजना मानिसहरु हुन्छन् । कोठा आफैँले रोज्ने हो र भाडा आफैँले दिने हो । सबै खर्च कटाएर महिनाको २०–२५ हजार जोगाउन सक्छु । उनी भन्छिन्, ‘युवा वा बुढा सबै उमेरका केटाहरु आउने गर्दछन् । कर्मचारी, पुलिस, नेता सबै आउँछन् । ’

उनलाई आफ्नो पेसा सबैले हेप्ने दर्जाको भन्ने ज्ञान छ । ‘यो पेसा नै सबैले हेप्ने हो । निकै होच्याएर बोल्छन् । आफैले प्रयोग गर्छन् तर पनि उनीहरु नै हेप्छन् । यस्तो भन्ने मानिसहरुलाई पनि म आमा बुवाको नाम लिएरै गाली गर्छु ।’ उनी आफ्नो पेसा प्रति अपमान गर्नेहरुलाई भन्छिन् ।

र पनि दुख दिनेहरु छन्
आफूले गर्दै आएको पेसा उनी आफैलाई गाह्रो लाग्छ । ‘यो गाह्रो हुने काम हो । तल्लो पेट दुख्छ । आफ्नै ख्याउटो शरिरप्रति इंगित गर्दै उनी भन्छिन, ‘केहि खायो भने वाकवाकी लाग्छ, बिरामी हुन्छु ।’

उनीहरुलाई प्रहरीले देख्यो भने निकै दुःख दिन्छन् । दिउँसो बस्न पाउने भएपनि बेलुका ६ बजेपछि भने लखेटिहाल्छन् । ‘एकचोटी म ६ बजेतिर यहाँ बसेको थिएँ । पुलिसले सरासर आएर एक लौरो हिर्कायो । अहिलेसम्म पनि यस्तो दाग छ ।’ नाडीको घाउको खत देखाउँदै उनले भनिन्, ‘यसको उपचारको लागि मेरो ३० हजार सिद्धियो ।’

आफ्नै पेसा प्रति उनलाई वितृष्णा पनि छ । ‘मरो परिवार भएको भए म कहाँ यस्तो हुन्थेँ र ?’ उनको प्रश्न छ, ‘समाजले घृणा गर्ने पेसाको रहर कसलाई हुन्छ र ?

समाजमा यौन व्यवसायीलाई हेर्ने दृष्टिकोण माथी उनको विरोध छ । ‘केटा मान्छेले हेर्ने आँखा त्यहि हो । कसैले सोझो मनले हेर्दैन । उनी भन्छिन् ‘ग्राहकहरु कोहि पसल गर्दिन्छु आऊ भन्छन् । कसैको विश्वास लाग्दैन । आज पसल गर्दिन्छ । भोली दुई चार महिनापछि छोड्यो भने के काम ?’

उनीसँग आउने ग्राहक केहीले उनलाई धेरै दुःख दिएका छन् । कोही यौन सम्बन्ध पश्चात् पैसा नदिई भाग्ने गरेका छन् । कसैले पैसा चोरेर भागेका पनि छन् । सीताले आफ्नो पेसामा भएको एक घटना यसरी सुनाइन्, ‘अघिल्लो महिनाको मात्र कुरा हो । एउटा भर्खरैको केटो थियो, निकै राम्रो । सुरुमा हजार रुपैयाँ दियो । कोठाको भाडा पनि उसैले तिर्यो । मलाई के थाहा त्यो केटाको मनमा पाप थियो भनेर । म सधैँ दुईवटा लुगा लगाउँछु । पैसा भएको सुरुवाल छुट्टै राख्छु । उसले त्यो पैसा भएको सरुवाललाई याद गरिरहेको रहेछ । सुरुवालमा भएको हजार रुपैयाँको नोट कतिबेला चोरेछ । पछि थाहा पाउँदा म निकै रोएको थिएँ ।’

सीतालाई पत्रकारले पनि निकै दुःख दिएका छन् । त्यसैले उनी क्यामेराहरु देखि रिसाउँछिन् । पत्रकारले दिएको दुःखलाई उनले यसरी सुनाईन्, ‘एक दिन मेरो फोटो खिच्ने पत्रकारलाई मैले ढुङ्गा लिएर खेदेँ । कुराकानी गरेको भए ठिक हुन्थ्यो । एक, दुई वटा फोटो खिच्दा मैले केहि पनि भनिनँ तर मेरो पछि नै लागेर फोटो खिच्न थालेपछि ढुङ्गा उठाएर हान्छु भन्दा दौडियो ।’ उनको प्रश्न थियो, ‘कसैलाई नसोधी फोटो खिच्न पाउँछ त ?’

उनलाई केटाहरु घटिया लाग्छन् । ‘एउटी राम्री महिलालाई बाटोमा हिँडेको देख्न सक्दैनन् । राम्री महिलाहरुसँग गइहाल्न पाए हुन्थ्यो भन्ने सोच्छन् ।’ पुरुषप्रति विस्मातको भावमा उनी भन्छिन्, ‘मलाई पुरुषहरु मनपर्न छाडेको छ ।’

उनलाई जीवनमा एउटा विहेले नै पुगेको छ । त्यसैले भन्छिन् ‘एक्लो जीवन नै ठिक छ । एक चोटी मन मरे पछि मर्यो ।’

एक कट्ठा जमिन
उनी आफ्नो पेसाबाट आफ्नै उपचार गर्न सकेको प्रति खुसी छिन् । उनले तीन वर्ष यौन व्यवसाय गरेर सर्लाहीमा जमिन किनेकी छिन् । गोलबजार, सर्लाहीमा उनको एक कट्ठा जमिन छ । दुई महिना पछि उतै गएर पुरानै पेसा अपनाउने उनको सोच छ । ‘केहि थप पैसा जोगाएर पहिले गरिरहेको फलफूलको पसल खोल्छु । गाडा किन्छु र काम गर्छु । जब मलाई श्रीमान्ले छोडे तब गाडा पनि लगे ।’ उनी भन्छिन् ‘मसँग केहि गर्ने विकल्प नै थिएन । विष खान पैसा थिएनँ ।’

दैनिक चार ग्राहक
राजधानीको क्षेत्रपाटीमा उनको बास छ । उनी भाडामा बस्दै आएकी छिन् । घरधनीलाई उनले आफूले ज्यामी काम गर्ने बताउँदै आएकी छिन् । ११ बजे उनी रत्नपार्क आउने गर्छिन् । दिन भरमा दैनिक चारजना ग्राहकको चित्त बुझाउनुपर्छ । बेलुका ६ बजे उनी आफ्नो कोठा फर्कने गर्छिन् । बिरामी पर्दा उनलाई घरबेटीले सहयोग गर्छन् ।

उनको जीवनमा धेरैले बिहेको प्रस्ताव गरे । ग्राहकहरुले विभिन्न प्रलोभन पनि देखाए । तर उनले उनीहरुको यौनको स्वार्थ उन्माद अभिव्यक्तिभन्दा अरु सोचिनन् । ‘धेरै आउँछन् कोही दुःखमा साथ दिने भन्ने पनि आउँछन् ।’ उनी भन्छिन् ‘ तर वास्तविक दुःख मैले पाएको हो, मेरो दुःखमा साथ दिनेहरु दुःखमा भेटिँदैनन् ।’

माया गरेर धेरै पैसा दिन्छु भन्नेहरुबाट उनले एक पैसा पनि बढि लिएकी छैनन् । ‘कसैको एक पैसा बढि लिएको छैन । बरु कतिले मेरै लुटेर भाग्छन् ।’ उनले भनिन, ‘मलाई अरुको एक पैसा पनि चाहिएको छैन ।’

विष खाएर मरुँ लाग्छ
आफैले गरेको पेसाप्रति उनी धेरै दुःखी छिन् । कहिले उनलाई विष खाएर मरौँकी भन्ने लाग्छ । कहिले यो पेसा बेकार गरेछु जस्तो पनि लाग्छ । समाजले यो कामलाई बर्जित गरेको छ । उनी आफ्नो कामलाई सम्मान गर्नुपर्छ भन्दिनन्, ‘यो राम्रो हुँदै होइन ।’ सीताले आफैलाई जवाफ दिइन् ‘तर जिन्दगीमा यो पनि त काम होनी ।’ सभारः खबर डबली