बूढीगण्डकी आयोजना प्रभावितका लागि चक्रपथ बनाइने

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ९, २०७१

budi gandaki copyराष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित हुने स्थानीयवासीलाई बसोबासका लागि एकीकृत रुपमा नयाँ बस्ती निर्माण गरिने भएको छ ।
जलाशययुक्त आयोजनाका कारण धादिङ र गोरखाका ४५ हजार जनता प्रभावित हुने भएपछि नयाँ बस्ती निर्माण गर्न लागिएको हो ।
आयोजनाको बाँध २६३ मिटर अग्लो हुने भएकाले त्यसबाट थातथलो छोड्नुपर्ने स्थानीयवासीलाई राख्न दुवै जिल्लामा प्रभावित क्षेत्रभन्दा ३०० मिटर माथि चक्रपथ निर्माण गरी स्थानीयवासीलाई राख्ने योजना रहेको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले चक्रपथ निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन सुरु गरेको छ । समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले केही दिनभित्रै सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट गरिने बताए ।
परियोजनाबाट गोरखाका घ्यालचोक, फुजेल, नाम्जुङ, बुङ्कोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरु अर्बाङ सबैभन्दा बढी प्रभावित हुने छन् । धादिङको सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मारपाक, मूलपानी, बसेरी र बुढाथुम गाविसको महत्वपूर्ण धान खेत तथा टारहरु पानीमुनि पर्नेछ ।
भीमसेन थापाको बगैँचा, पुथ्वीनारायण शाहको न्वागी खाने धान खेत, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, मास, भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग, धादिङ र गोरखाको प्रमुख व्यापारिक क्षेत्र आरुघाट बजार पनि आयोजनाका कारण प्रभावित हुनेछ ।
आयोजनाले प्रभावितलाई सेयर र घरजग्गाको उचित मुआब्जा दिने बताएको छ । स्थानीय राजनीतिक दलले भने ५० प्रतिशत मुआब्जा र ५० प्रतिशत सेयर दिन माग गरेका छन् ।
बूढीगण्डकी जलविद्युत् आयोजनाका सरोकार समितिका अध्यक्ष दिनेशकुमार ढकालका अनुसार आफ्नो थातथलो छाड्नु परे पनि उचित क्षतिपूर्ति पाए सबैले सहयोग गर्नेछन् । आयोजनाको ताल हालको फेवाताल भन्दा चौध गुणा ठूलो हुने र करिब ४८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलने हुनाले पर्यटन क्षेत्रका रुपमा समेत विकास हुनेछ ।
भारतको उत्तराञ्चलमा रहेको टिहरी बाँधभन्दा दुई मिटर अग्लो बाँध बन्ने भएकाले आयोजनाले केही प्रभावितलाई अध्ययन भ्रमण गराउने तयारीसमेत गरेको छ । बूढीगण्डकी आयोजनाका कारण निर्माण हुने तालमा माछापालन, जलविहार गर्न मिल्ने भएकाले आवश्यक योजना बनाइने समितिका अध्यक्ष देवकोटाले जानकारी दिइ ।
धादिङका सभासद् राजेन्द्रप्रसाद पाण्डे आयोजनालाई सफल बनाउन जग्गाको नापजाँच, मुआब्जा, पुनः स्थापना र पुनर्बासलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।
आयोजनाले हाल सडक निर्माणको काम सुरु गरिसकेको छ । पुथ्वीराजमार्गको बेनीघाटदेखि गोरखाको आरुघाटसम्म कुल ४८ किलोमिटर सडकको ट्र्याक खुलेर यातायात सञ्चालनमा आए पनि त्यसको मर्मत सम्भार तथा स्तरोन्नति गर्ने काम सुरु भएको आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतको भनाइ छ ।
आयोजनाको क्याम्प निर्माणका लागि स्थानीय घ्यालचोक सियरेनीटारमा जग्गाधनीले जग्गा दिन मञ्जुर गरिसकेका कारण गोरखाका मातपोत अधिकृतको अध्यक्षतामा मूल्य निर्धारण समिति गठन भइसकेको छ । आयोजनाको क्याम्प निर्माण भएपछि सहज रुपमा चक्रपथ निर्माणका लागि आवश्यक अध्ययन गर्नसमेत सहज हुने जनाइएको छ । साभारः रातोपाटी