‘दैलो उघारिदिनेसम्म कोही रहेनन्’

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २७, २०७१

ggपुकुनगाउँ (धादिङ)- पुकुनगाउँको आङमा घाम लाग्न सकेको छैन। दुई दिनदेखि घरमा चुलो बलेको छैन। चिम्सा, गहिरा आँखा आँसुले टम्म भरिएका छन्। घरीघरी भित्रैबाट निस्केर आँसुको ढिक्कासँगै बहन्छ पीडा। मुस्कान हराएका ओठ कलेटी परेका छन्। फुङ्ग उडेका अनुहारमा शोक र चिन्ताका रेखा मात्र देखिन्छन्।
असावधानीवश विषाक्त गहुँको रोटी खाएकै कारण सोमबार ६ जना आफन्त गुमाएको तामाङ परिवार शोकको आहालमा चुर्लुम्म छ।
पृथ्वी राजमार्गबाट १५–१६ किलोमिटर टाढाको विपन्न गाउँ पुकुन तामाङ बस्ती हो। अहिले यो बस्तीको आँगनमा अनौठो सन्नाटा छाएको छ। बाहिरका मान्छेको ओहोरदोहोर र सोधीखोजी सुनिन्छ, गाउँलेका मुख भने खुल्न हम्मेहम्मे छ।
‘मर्ने त मरिहाले, मेरी छोरी (सानिमाया) को काठमाडौंमा औषधी हुँदैछ रे, त्यसलाई चाहिँ बचाइदिए हुन्थ्यो,’ सोमबार ज्यान गुमाउने सन्जबहादुर तामाङ (स्याङ्तान) की जेठीबुहारी ठूलीकान्छीमाया तामाङले शोकको भारी र आशा एकैसाथ बिसाइन्।
टिलपिल–टिलपिल आँखा बोल्दाबोल्दै ढल्किए, अनुहार लछप्पै भिज्यो।
घुन–किराबाट जोगाउन विषादी मोलेर राखिएको गहुँ पिँधेर आफू र परिवारलाई रोटी खुवाएका सन्जबहादुरसहित परिवारका ६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सन्जबहादुरकी माइलीबुहारी फूलमाया, नाति–नातिना अर्जुन, सुमित्रा, अनिता र रमेश छन्। तीमध्ये चार जनाले त अस्पताल देख्न र पानी पिउनसम्म पाएनन्, बाटैमा गए। दुई जना राजधानीको अस्पताल पुगेपछि मृत घोषित गरिए।
बिउ छरेर जोगिएको गहुँ राम्ररी नधोई पिँधेर खनखाँचो चलाउँदा तामाङ परिवारमा काल पस्यो।
‘के थाहा भो र रोटीमा विष छ भनेर?’ ठूलीकान्छीले भनिन्, ‘धन्न! त्यस दिन मेरो घरमा ससुराले रोटी पठाइदिएनछन्, नत्र सबै सकिने रहेछौं।’ छोरी सानीमाया त्यस दिन देवरकहाँ बसेकीले रोटी खाएर बिरामी परेकी उनले सुनाइन्।
सन्जबहादुरका तीनभाइ छोरा छुट्टीभिन्न भइसकेका छन्। उनी कान्छो छोराबुहारीसँग बस्दै आएका थिए। उनको घर सोमबार साँझदेखि नै आफन्तले कुरिरहेका छन्। पाँच/सात जना आफन्त गहभरि आँसु बनाएर पिँढीछेउ निन्याउरो अनुहार लगाएर बसिरहेका छन्।
माइलो छोरो पूर्णबहादुर दुई वर्षदेखि साउदी अरब छन्। माइली बुहारी र नाति रमेशको मृत्यु भएपछि घरमा दैलो लागेको छ। सोमबार बिहानदेखि उनको घरको ढोला (ढोका) खुलेको छैन। गोठमा भैंसी र बाख्रा कराइरहेका छन्। बस्तुको टाँड खाली छ। गोठका भैँसी दाम्लो चँुडालुँजस्तो गरी उफ्रिरहेका छन्। मंंगलबार गाउँलेले नै बस्तुभाउलाई पानी खुवाइदिएका थिए।
‘दैलो उघारिदिनेसम्म कोही रहेनन्,’ ठूलीकान्छी भक्कानिइन्। श्रीमती र छोरो गुमाएको थाहा पाएपछि माइलो देवर नेपाल आउने तयारी गरिरहेको उनले सुनाइन्।
सन्जबहादुरकी भाउजू सन्चकुमारी देवर बिरामी परेको सुनेर सोमबारै किरान्चोक–४ स्थित घरबाट पुकुन आइन्। तर देवरलाई देख्न पाइनन्। मृत्यु भइसकेको खबर मात्र पाइन्। बाँचेका आफन्तको जीवनको पुकारा गर्दै बसिरहेका आफन्तकै बीच मिसिइन्।
‘पेटमा भोक छैन, निन्द्रा पर्दैन, जाँगर छैन,’ सन्जबहादुरकी छोरी पर्ने फूलमाया तामाङले भनिन्, ‘घरै खाली हुने गरी गुमाउनुपर्योक, मनै मरेर आएको छ।’
..
सन्जबहादुर पुकुन बस्तीको अतिविपन्न तामाङ परिवारका मूली थिए जसको भागमा सधैं अनिकालको पीडा परिरहन्थ्यो। वर्षभरि खान पुग्ने अन्न कहिल्यै फल्दैनथ्यो रुखो जमिनमा। सोमबारको घटना यही अवस्थाको परिणाम हो।
सन्जबहादुरको घरमा यसपालि उब्जाएको अन्न सबै सकिएको थियो। अन्नका नाममा बाँकी थियो त बीउका लागि विषादी हालेर राखिएको अलिकति गहुँ। गत वैशाखमा घून–किराबाट जोगाउन विषादी हालेर अनिकालको बीउ जोगाएका थिए उनले। त्यही बीउ उब्रेको थियो। विकल्प केही नभएपछि सन्जबहादुरले आइतबार त्यही १० केजीजति गहुँ निकाले र पानीले विषादी पखालेर घट्ट लैजान ठिक्क पारे। सोमबार बिहानै गहुँ काँधमा हालेर घरनजिकैको घट्ट पुगे।
कम्ती दुःखले आर्जेका थिएनन् सन्जबहादुरले त्यो बिउको गहुँ। के थाहा उनलाई त्यसैले आफ्नो ज्यान लिनेछ!
जेठीबुहारी ठूलीकान्छीका अनुसार त्यो गहुँ सन्जबहादुरले डोको बुनेको ज्यालाबापत सँगालेका रहेछन्। ‘हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बिउ’ भनेझैं घुन–किराबाट बचाउन उनले राम्ररी विषादी मोलेर राखेका रहेछन्। पिँध्न घट्ट लैजानुअघि गहुँ धोएका पनि हुन्, तर कडा किसिमको विषादी के सकिन्थ्यो, उल्टो परिवार सिध्यायो।
घरमा अन्न सकिएकाले सन्जबहादुरले त्यही गहुँ पिँधेर बिहानै रोटी पकाएका थिए। माइलो र कान्छोका परिवारसहित रोटी खाएका उनीहरूलाई केही बेरमै विषले असर गर्न थालेको थियो। रोटी खाएको कुकुर मरेको र केटाकेटी फथ्रकफथ्रक पर्न थालेपछि सन्जबहादुर सबैलाई लिएर अस्पताल हिँडेका थिए। उनीसहित तीन जना त राजमार्ग पुग्न पनि भ्याएनन्, बाटैमा अस्ताए। एक जनाको राजमार्गमै र दुई जना राजधानीको मेघा अस्पतालमा निधन भयो।
सन्जबहादुरका आफन्त सानुकान्छा तामाङका अनुसार गहुँको पिठो खाएको तामाङ परिवारलाई बढी असर गरेको थियो। पिठो पिँधेबापत ज्याला पाएको पिठोमा कोदो मिसाएर पिसेका घटेरा (घट्टधनी) तिलकबहादुरको परिवारलाई केही ढिलो असर गरेको सानुकान्छाले बताए। ‘गहुँको रोटी खानुहुने सन्जबहादुरको परिवारलाई चाँडै विषले छोयो, घट्टधनीले कोदाको पिठो पनि मिसाएर रोटी खाएछन्, उहाँहरूलाई ढिला समात्यो,’ उनले भने।
स्थानीयका अनुसार गाउँमा यसरी विषादी मोलेर बिउ राख्ने चलन खासै थिएन।

पुकुनगाउँमा मंगलबार नौला मान्छे बाक्लिएका थिए।
कृषि, स्वास्थ्यसँग सम्बन्धित र पत्रकार पुकुनगाउँको अवस्था बुझ्न आए। नयाँ मानिस जति थपिन्थे, पुकुनगाउँका ताामाङ आफन्तको आँसु झन् बढी बग्थ्यो। घटनाको बेलिविस्तार लाउँदै सुँक्कसुँक्काउन थाल्थे।
पुकुन प्राथमिक विद्यालय पनि सोमबारदेखि तीन दिन बन्द गरिएको छ। विद्यालयमा अध्ययनरत तीन विद्यार्थीको मृत्यु भएको थियो।
पीडा–१ को पृथ्वीराजमार्ग छेउ पर्ने बन्सेटारमा मृतकको दाहसंस्कार हुँदै थियो। महिला र बच्ााबच्चीबाहेक सबै मलामी थिए। उपचार क्रममा अस्पतालमा र बाटैमा मृत्यु भएका ६ जनाकै मंगलबार तामाङ परम्पराअनुसार सामूहिक अन्त्येष्टि गरिएको सानुकान्छाले बताए।
टेकबहादुर झन् गम्भीर, अरू खतरामुक्त
विषाक्त रोटीले बिरामी परेका १६ मध्ये सन्जबहादुर तामाङका जेठा छोरा टेकबहादुरको स्वास्थ्य अवस्था गम्भीर छ। मनमोहन मेमोरियल अस्पतालका अनुसार त्यहाँ उपचार गराइरहेका १५ मध्ये टेकबहादुरको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
आइसियुमा रहेका अन्य पाँच जनाको स्वास्थ्यमा सुधार आइरहेको र बाँकीको अवस्था खतरामुक्त रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै धादिङका जिल्ला जनस्वास्थ्य प्रमुख जीवन मल्लले जानकारी दिए।
‘एक जनाको अवस्था निकै गम्भीर छ,’ उनले भने, ‘आइसियुमा रहेका बाँकी बिरामी खतरामुक्त छन्।’ मल्लका अनुसार यसअघि शिवज्योति अस्पतालमा उपचाररत बिरामीलाई पनि मंगलबार मनमोहनमै सारिएको छ। नरहरि साप्कोटाले नागरकि दैनिकमा लेख्नु भएको खवर हो यो ।