बेश्यालयमा बेचिएर फर्केकी दङ्गालको मृत्यु

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २९, २०७१

मंसिर २९ । आफ्नै आमाजुबाट भारतको कोलकातास्थित बेश्यालयमा बेचिएकी मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । बेश्यालयबाट अशक्त अवस्थामा पाँच बर्षपछि फिर्ता भएकी मकवानपुर गढी ८ की दङ्गाल थरकी महिलाको मृत्यु भएको हो । २८ बर्षिया उनलाई कार्य शिलशिलामा कोलकातामा रहेका श्रीमान्लाई भेटाइदिन्छु भन्दै २०६६ असारमा आमाजु सावित्री तथा उहाँका श्रीमान् राजु घिमीरेले वेश्यालयमा लगेर बिक्री गरेका थिए । रक्सौलबाट लठ्याउने औषधि खुवाएर बेश्यालयमा लगेर उहाँलाई बिक्री गरिएको थियो । कोठी सञ्चालकले चार वर्षपछि जिब्रो काटेर कुटपिट गरी मरणासन्न अवस्थामा सिलिगुडी बजारको फोहोरको थुप्रोमा फालिदिएका थिए । भारतको सिलगुडीस्थित एक गैरसरकारी संस्थाले फोहोरबाट उद्घार गरी उपचारपछि हेटौंडा ११ स्थित उनको माइतीमा ल्याइदिएको थियो । जिब्रो काटिएकाले प्रष्ट बोल्न तथा हिडडुल गर्न नसक्ने अवस्थामा मंसिर ५ गते आइपुगेकी उनको मंशिर २२ गते मृत्यु भएको हो । प्रहरीले दंगाललाई वेश्यालयमा लगेर बिक्री गरेको आरोपमा उनीहरुलाई मंशिर मंसिर ९ गते पक्राउ गरेको थियो ।