नर्वेजियनहरु एकदमै सालिन र भद्र

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २४, २०७१

ram sirमत कुवाकोको भ्यागुता , भ्यागुता यस अर्थमा कि यो कुवाको सेरोफेरो भन्दा बाहेकका विश्वसँग अनभिज्ञ थिए । सुनेको थिए, पढेको थिए तर अनुभव थिएन , थियो त केवल कथा , पश्चिमेली संस्कृति र जीवन शैलीको । मध्येरातमा सुर्य उदय हुने देश कुन हो ? भन्ने प्रश्न आफु विद्यालय तह पढ्दादेखि विद्यालय तह पढाउँदा सम्म हाजिरी जवाफ प्रतियोगिताहरुमा धेरै सोधिएको र सोध्ने गरेको प्रश्न हुनुपर्छ यो । त्यसैले त नर्वे भन्ने साथ मध्येरातमा उदाउने सुर्यसँग जोडिन पुग्छ सोच म जस्तै कैयौहरुको । तर नर्वे को परिचय त्यतिमा मात्र सिमित रहेनछ भन्ने कुरा यो भ्यागुताले त्यो सानो कुवाकोे परिधिबाट उम्कन पाएपछि मात्र चाल पायो । धादिंग रेडक्रस सोसाइटीबाट छनोटमा परि नेपाल रेडक्रस सोसाइटीबाट नर्वेजियन रेडक्रसले आयोजना गर्ने गरेको १० महिने युवा प्रतिनिधि विनिमय कार्यक्रमको अन्तिम छनोटसँगै २०७० श्रावन ३० गते ललितपुरकी प्रतिनिधि आरती महर्जनसँग नर्वेको यो यात्रा जुरेको थियो । मुख्यतय संस्कृति एवं रेडक्रसका अनुभव साट्ने उदेश्य भएको यो कार्यक्रम नेपाल र नर्वेसहित जिम्बाब्वे र कोलोम्बियाका १२ स्वयंसेवक युवाहरु प्रत्यÔ रुपमा भिन्न संस्कृतिको स्वाद चाखिरहेका छन् ।
भौगोलिक बनोट हेर्दा नेपाल र नर्वे धेरै कुरामा समान नै छन् । यहाँका हिमताल, ताल, नदीनाला, उपत्यका, पहाड, हरिया वन (जङगल देख्दा नेपाल मै पो छु कि भन्ने भान पनि हुन्छ कहिलेकाहीं । तर फरक छ त यहाँ रहेका मात्र होचा पहाडहरु (नर्वेको सबैभन्दा अग्लो पहाड Galdhøpiggen (२४६९मी.), समुन्द्र, सामुन्द्रिक टापु र खाडीहरु । नर्वे नेपाल भन्दा छेत्रफलमा करीब २.५ गुना ठुलो भएपनि जनसंख्यामा भने ५ गुना सानो रहेकोछ । नेपालमा जस्तै उत्तरी भेगमा बस्ती पातलो रहेको छ भने दक्षिणी भेग अलि बाक्लो रहेकोछ । म जस्तोलाई यहाँको ( 20 C थेग्न हम्मे–हम्मे नै परिरहेकोछ । गर्मी महिनामा मध्यरात सम्मै उज्यालो हुने अनि जाडोमा दिउसै रात पर्ने कुरालाई सुइकार्न यो भ्यागुतालाई कठिनाई भएकै हो । विश्वका धेरै देशबाट देख्न सकिने Northern Light (उत्तरी गोलार्धको आकाशमा देखिने अलौकिक चलायमान रंगीबिरंगी प्रकाश ) को लागि नर्वेको उत्तरी भेग अति उपयुक्त स्थान रहेको कुरा पनि पूर्व जानकारी थियो जसको बेजोड प्रतिÔा यहाँको ट्रोमसो शहरमा पुग्दा गरियो तर ६ दिन सम्म कथा नै रह्यो । यो एक हप्ते बसाइको अन्तिम रात भगवानले हाम्रोे प्राथना सुनेछन् कि के हो अपत्यारिलो रुपले संसारको त्यो अदभुद छेडसंग साक्षातकार हुने मौका जुर्यो । तर २४ घण्टा नै उज्यालो र २४ घण्टा नै अध्यारो हुने पलसँग अनुभव संगाल्ने रहर पुरा भएन । प्राय यहाँका बासिन्दाले धेरै सोध्ने गर्छन, नेपालमा त यहाँ भन्दा धेरै हिउँमा खेलेको छौ होला हैन ? भनेर अनि प्रति उत्तरमा निच्च दाँत देखाएर फिस्स हाँसेर भन्यो मैले त हिउँ यहाँ आएर मात्रै देखेको । अनि बेली विस्तार लगायो नेपाल को भौगोलिक विविधताको हिमाल, पहाड र तराइको । यहाँका पहाडमा पदमार्ग बनाउन नेपालबाट झिकाइएका शेर्पाहरुले हिमालको देश नेपाल भनेर चिनाएकोमा भने गर्व गरेर छाती चौडा गर्न मन लाग्छ । त्यसैले त सगरमाथा नेपालमा पर्छ भनेर कसैलाई सम्झाउन परेको छैन । तर अफसोच† यहाँका पाठ्य पुस्तकमा भने गौतम बुद्ध भारतमा जन्मिएको भनेर लेखेको देख्दा दुःख लाग्दो रहेछ , अनि यो गलत हो, बुद्ध त नेपालमा पो जन्मेको हो भनेर भन्दा सबै दङ्ग पर्ने गरेकाछन् ।
हिउँसँग धेरै नै नजिक रहेका नर्वेजियन नागरिकहरु हिउँमा खेल्न औधी मन पराउँछन । प्राय आइतबार सहर चकमन्न हुन्छ , व्यापारिक मल बन्द हुन्छन् , सडकमा पातलो मात्रामा सवारी साधन गुडछन् अनि जाडो याम हो भने त के बालक के बृद्ध , सबै पहाडमा हिउँ खेल्न व्येस्त हुन्छन । भर्खरका खुट्टामा उभिन सक्ने भएका बच्चा समेत skiing मा रमेको दृश्य भने अति लोभ लाग्दो हुन्छ, त्यसैले त ‘’Norwegians are born with skiis on their foot‘’ भन्ने उखान सुन्न पाइन्छ यहाँ । अनि तिनै दृश्य देखेर लाज लाग्छ आफैलाई , आफुले गर्न नसकेकोमा , अनि लड्दै उठ्दै गर्नु परेकोमा । सामान्यतया हिउँ भन्नासाथ छुट्टै परिदृश्य घुम्छ हाम्रो मष्तिस्कमा तर तिनै हिउँसँगै परेको पानीले गर्दा दल–दल जस्तो बन्ने यहाँको सडकले हाम्रो पहाडी हिलाम्मे मार्ग सम्झाउने गर्छ । छुट्टै साइकल मार्ग , पद मार्ग सहितको यहाँको व्यवस्थित अनि चौडा सडक देखेर नेपाल कहिले यसरी विकास होला भन्ने पनि हुन्छ । ट्राफिक नियमको पालना स्वतःस्फुर्त रुपमा हुने भएकोले होला हाम्रोमा जस्तो चोक चोकमा प्रहरी बस्नु पर्दैन । चाहे मध्येरात नै किन नहोस् या आसपास मा कोहि किन नहोस् रातो बत्ती बले पछि सवारी साधन अवश्य रोकिन्छ । जेब्र क्रसिङग भन्दा बाहेक बाट यात्रुले कहिलै बाटो काटेको देख्न परेको छैन । करिब एक महिना अगाडी कार्यालयकै प्रोजेक्ट लिडरसँग अर्को सहर जानु पर्नेथ्यो , अलिक साँझ नै परिसकेको थियो, कुरै कुरामा हामी पुग्नु पर्ने भन्दा १० कि.मि. जति टाढा पुगि सकेछौ, बाटो बिराएको भान भएपछि कार फर्काउनु पर्नेथ्यो तर खुल्ला सुनसान बाटो भएनी उहाँ U Turn को सिम्बोल खोज्दै अझै १५ कि. मि. पर पुगेर कार फर्काएको देखेर हामी दङ्ग पर्यौ , यहाँका नागरिक आफै सचेत छन् यस्ता कुरामा ।
सरकारलाइ आफ्नो परिवार मान्ने यहाँका नागरिकले २८ देखि ५० प्रतिशत सम्म आयकर बुझाउने गर्दारहेछन् जसको फल स्वरुप निःशुल्क उपचार र विश्व बिद्यालयसम्म निःशुल्क पढ्न पाएका छन् । यति मात्रै नभई ६७ वर्ष उमेर काटेपछि हरेक नागरिकले पेन्सन बुझ्ने कुरा अचम्म लाग्दो छ । बन्द हड्ताल र चक्काजाम को कुरा सुन्नु परेको छैन, Loadshedding को अनुभव गर्नु परेको छैन हामीले । नर्वेजियनहरु एकदमै सालिन र भद्र छन् तर शुरुमा मिल्न भने औधि गारो । व्यक्तिगत स्वतन्त्रता अति नै चाहिने कुराले कहिले काहीं असहजिलो पनि बनाउने गरेको छ । बसको यात्रामा आफुसँगैको सिट खाली भए पनि नर्वेजियनहरु सितिमिति त्यो सिटमा बस्दैनन् बरु उभिएरै यात्रा गर्छन । शुरु शुरुमा त आफुले आफैलाई के भएछ भनेर जाँच्न पनि मन लाग्थ्यो तर बुझ्दै जाँदा आफ्नो जस्तै अरुको पनि स्वतन्त्रताको सम्मान गरेका रहेछन् । प्राय उसिनेको आलु , सल्मोन माछा, पाउरोटी, चीज, दुध, हरिया सागपात, मासु खाने यहाँका बासिन्दाको सङगत भएपनि दिनको दुइपटक दालभात नखाई चित्त बुझ्दैन अहिले पनि मेरो । तेलमा तारेको खान्की र पिरो सितिमिति खादैनन् त्यसैले होला ग्याष्ट्रिक कुन चराको नाम हो पनि थाहा छैन यहाँकाहरुलाई । तर गुलियो भनेपछि चै सबै हुरुक्कै , त्यसैले होला दाँतको उपचार नागरिक आफैले गर्नु पर्ने नियम रहेछ । सडकका ठाउँ–ठाउँमा राखिएका फोहोर फाल्ने बाकसको उचित प्रयोग यहाँ देख्न पाइयो , चकलेटको खोल पनि त्यस्ता बाकसमा नपुगुन्जेल गोजीमा लिएर हिड्ने गरियो । जुन कुरा हाम्रो समाजमा पनि अनुशरण गर्नु जरुरी छ । मध्यरातमा पनि कुकुर लिएर घुम्न निस्किने अनौठो खालका छन् धेरै नर्वेजियनहरु । समयको पक्का हुनु पर्ने बोध यहाँ आएपछि ज्ञात भो , शुरु शुरुमा त नेपाली पारा पनि नदेखाएको हैन तर समय बित्दै जाँदा आफैलाई अप्ठ्यारो लगेपछि यहाँको चालमा चल्न सिकियो । आफु भन्दा ठुलालाई पनि नामले बोलाउने चलनले भने कहिलेकाहीं झसङ्ग बनाउने गर्छ । यहाँका कार्यालय प्रमुखलाई समेत नामले सम्बोधन गर्ने बानि परेकोले कहिले काहीं नेपालमा कुरा गर्दा उताका प्रमुखहरुलाई पनि नामले नै बोलाइन्छ कि भन्ने पिर सधै आइपर्छ । त्यसो भयो भने त बित्यासै पो पर्ला ।
हाम्रोमा स्कुल पढ्ने उमेरकालाई समेतको खाइ को खाइ गर्दै खुवाउने, जुत्ताको तुना बानिदिने भन्दा ३ वर्ष देखिनै बच्चा स्वयम् आफैलाई गर्न लगाई आत्मनिर्भर बन्न सिकाउने अभिभावक ठिक हुन् कि जस्तो पनि लाग्यो । निडर, आफ्नो कुरा अरुको माझ सजिलै राख्न सक्ने, आङ्खनो काम आफै गर्ने बिशेÈता साना साना बच्चाहरुको देख्दा अचम्मको लाग्छ । विद्यालय तह पढ्दा देखि नै चुरोट र सुर्ती जन्य पदार्थको मोहोमा परेका तन्नेरी देख्दा अलि मन खिन्न पनि हुन्छ । सार्बजनिक स्थलमा केटा मात्रै हैन केटीहरु पनि निर्धक्क चुरोट तान्दै गरेको अनि सुर्ती मुख मा राखेको देख्दा असुहाउदो महसुस पनि भयो यो भ्यागुतालाई । नारी र पुरुÈ बराबरी हुन् भन्ने महसुस गराउन पो होकी भन्ने पनि हुन्छ , बरु केटाको तुलनामा केटिहरुनै
यो कुरामा चाहिं अगाडिनै हुनुपर्छ यहाँ । सप्ताहान्त मनाउने बाहानामा मदिरामा लठिदै हिनेको तन्नेरी पुस्तालाई देख्दा बरु हाम्रै तन्नेरीहरु धेरै जाति हुन् जस्तो पनि लाग्छ । स्कुले उमेर देखिनै प्रेम जोडी बन्ने अनि ठाउँ न कुठाउँ प्रेमलाप गर्दै हिड्ने युवाहरु देख्दा गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो पनि नभएको होइन । तैपनि प्रणय दिवस मनाउने कुरामा नेपाली युवा यहाँका भन्दा निकै अगाडी रहेको कुरा गएको प्रणय दिवसले झल्कायो । हाई स्कुलको अन्तिम परिक्षाको पूर्व सन्ध्यामा रातो
पाइन्ट लगाई विद्यार्थीहरु करिब एक महिना रमाइला कार्यमा लाग्ने, पार्टीमा जम्ने, मदिरामा भुल्ने, उत्पट्याङ् काम गर्ने , यौन कार्यमा संलग्न हुने गर्दछन् । (जसलाई RUSS भन्ने गरिदो रहेछ । अनि अनिवार्य सिक्षाको अन्त्यको ग्रान्ड पार्टीको ह्याङ् उतार्दै मई १७ मा स्वतन्त्रता दिवसको परेडमा भागलिई सम्पन्न गर्ने अनौठो परम्पराको बारेमा धेरै बयान सुनिएको छ त्यसैले त्यो दिनको दृश्य हेर्ने प्रतिक्षाम बसेको छु । आङ्खनो कुराको निर्णय आफै लिने क्षेमताको कदर गर्नु पर्छ तर त्यहिँ स्वतन्त्रताले निम्त्याउने विकृति देख्दा यो कुरा हाम्रोमा नभएकै बेस हो कि भन्ने पनि लाग्छ ।
प्रविधिको कुरामा निक्कै अगाडी रहेका छन् यहाँका युवा, नहुन पनि किन हरेक कामकाज नै प्रविधिबाट जो हुन्छ ,बस चढ्नु पर्यो कार्ड प्रणाली, बस आउने समय हेर्नु पर्यो इन्टरनेट, सामान खरिद गर्नु पर्यो कार्ड, यहाँ सम्म कि स्कुल तहसम्म विद्यालयले ल्यापटप उपलब्ध गराउँछ जसमा पाठ्यक्रम देखि गृहकार्य सम्म हुन्छ, त्यसैमा गृहकार्य गर्यो अनि इन्टरनेटको मध्यमबाट सम्बन्धित शिक्षकलाई पठाइदियो ।
अब प्रसङ्ग रेडक्रस र कार्य छेत्रको । नर्वेजियन रेडक्रस ,रेडक्रसको इतिहास सँगैको नै हो जसले विश्वका धेरै रेडक्रसलाई सहायता गरिरहेको छ । सर्च एण्ड रेसक्यु , क्येर र युवा गरि तीन भागमा विभाजन गरिएको छ नर्वेजियन रेडक्रस । रक्तदान, प्राकृतिक प्रकोप पिडितलाई उद्धार र राहत वितरणको पर्यायवाची नेपाल रेडक्रस बनेको जस्तै, हिउँमा घाइतेहरुको खोज र उद्धार गर्नेको रुपमा रहेको छ नर्वेजियन रेडक्रस । समाजमा मानवीय भावाना फैलाउने काम बिशेÈत क्येर विभागले गर्ने गर्दछ । रेडक्रस मानवीय आवश्यक्ता अनुरुप कार्य गर्ने भएकोले नेपालमा गरिने कार्य भन्दा धेरै भिन्न छ यहाँको कार्यक्षेत्र र कार्य शैली । अन्तराष्ट्रिय मानवीय कानुन, यौन स्वास्थ्य, प्राथमिक उपचार, बसाइसराई, विविधता एवम् सामाजिक समावेशीकरण जस्ता कार्यक्षेत्र भित्र रही युवा रेडक्रसले कार्य गर्ने गर्दछ । अनि अर्को फरक रहेकोछ आर्थिक स्रोत र स्वयंसेवकको । नेपालमा पर्याप्त मात्रामा स्वयंसेवक रहेपनि आथिक स्रोत नहुँदा कार्य गर्न नसकिरहेको अवस्था छ भने यहाँ पर्याप्त अर्थिक स्रोत हुँदा संख्याको कमीले स्रोत परिचालन हुन सकेको छैन । हाम्रोमा जस्तै अंग्रेजी बोल्न लाज मान्ने यहाँका युवावर्गको बानीले भने सारै असहज परिस्थिति नबनाएको हैन काम गर्न । तर साना साना कामको लागि पनि योजना निर्माण गर्ने, कामको जिम्मेवारी बाडफाड गर्ने युवाहरुकै बानी पनि अनुशरनिय रहेकोछ ।
कुवाबाट निस्किएको यो भ्यागुता पश्चिमेली जीवन शैलीसँग रमिरहेको नै छ । बसाइको उतार्ध सम्म आइपुग्दा यहाँको संस्कृतिमा भिज्न नसकी निराश भइ आफ्नै ठाउँ, परिवार अनि साथी संगी सम्झनु पर्ने धेरै छेडहरु पनि मानसपटलमा घुमिरहेकाछन् साथै जीवनकै सबैभन्दा खुसीको छेड यहिँ हो भन्ने धेरै पलहरु पनि स्मरणमा ताजै छन् । युवा प्रतिनिधिको रुपमा यहाँ सम्म आइपुग्दा खुसि, रोदन, पिडा, हाँसो, डर, निराशा, उत्तेजना, सिकाई, भोगाइ सहित अनगिन्ती अनुभव संगाल्ने मौका मिलेको छ । तर जे जस्तो सुकै भएता पनि संस्कृति र देश आफ्नो नै धेरै प्यारो हुँदो रहेछ, त्यसैले त बाँकी चार महिना दिन गनेर बस्नु परेको छ, आफ्नै ठाउँ, परिवार, साथीसंगी र आङ्खनै संस्कृति सम्झेर । (लेखक ः रामकुमार श्रेष्ठ धादिङ) साभार जनमुक्तिमार्ग साप्ताहिक ०७० फागुन ५ को अंकबाट)