चौथो धादिङ महोत्सवमा मिनी चिडियाघर राखिने

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २२, २०७१

धादिङवेसी । पौष २ गतेदेखी १३ गतेसम्म धादिङवेसीमा हुने चौथो धादिङ महोत्सवमा बन्यजन्तु तथा पशुपंक्षी सहितको मिनी चिडियाघर राखिने भएको छ ।
धादिङ जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि उद्योग व्यापार, शिक्षा स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न महोत्सव गर्न लागिएको धादिङ उद्योग वाणिज्य संघका सचिवालयले जनाएको छ ।
आईतबार महोत्सव स्टलमा स्टल व्यवस्थापन समितिका संयोजक राजकुमार श्रेष्ठले चौथो धादिङ महोत्सवको मुख्य आकर्षणको रुपमा बन्यजन्तु तथा पशुपंक्षीहरु सहितको चिडियाघरलाई लिन सकिने भएको बताउनुभएको छ ।
धादिङ जिल्लाबाट चिडियाघरमा राखिने बन्यजन्तु तथा पशुपंक्षिहरु हेर्न बाहिर जिल्ला गईरहेकाले चौथो धादिङ महोत्सव स्थल फिल्महलचोक नजिकै रायटारमा नै ति वस्तुहरुको अवलोकन गर्ने व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । महोत्सवमा ईमु, अस्टिूज, सेतो टर्की, कालो टर्की, अजिंगर, ईमुको अण्डा, लौकाट, खरायो, अस्ट्रिजको अण्डा आदी रहने बताइएको छ ।
जिल्लामा उत्पादित कृषि क्षेत्र तथा बजार प्रबद्र्धन, दुग्धजन्य उत्पादनको प्रदर्शनी एवम् प्रचार–प्रसार, पर्यटन क्षेत्रको प्रचार–प्रसार, विभिन्न जातजातिको कला, संस्कृति, भेषभुषाको जगेर्ना गर्ने लगायतको विषयबस्तु नै चौथो धादिङ महोत्सव २०७१ को मुल मर्म भएकोले आफूहरुले आवश्यक सबै तयारी पुरा गरिसकेको बताउनुभयो ।
महोत्सव सम्पन्न गर्नको लागि गठित सबै उप–समितिहरुले आ–आफ्नो काम अन्तिम चरणमा पु¥याएकाले ९५ प्रतिशत भन्दा बढी काम सकिएको धादिङ उद्योग वाणिज्य संघका कार्यालय प्रमुख रोहित भण्डारीले बताउनुभएको छ ।