
काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदबाट दर्ता खारेज गरेको नेपाल तेक्वान्दो संघलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ।
बिहीबार नेपाल तेक्वान्दो संघले पत्रकार सम्मेलनको आयोजना गरेर पाटन उच्च अदालतमा न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको जनाएको हो । पुस ५ मा राखेपले प्रकाशशमशेर राणा अध्यक्ष रहेको तेक्वान्दो संघसहित उसु र शारीरिक सुगठन संघ विघटन गरेको थियो । समानान्तर संघ भएपछि राखेपले प्रदीप जोशीको संयोजकत्वमा इन्द्रमान तुलाधर महासचिव रहने गरी तेक्वान्दो महासंघ गठन गरेको थियो । असन्तुष्टि जनाउँदै नेपाल तेक्वान्दो संघ अदालत पुगेको थियो ।
पुस २० गते बुधबार दुवै पक्षलाई छलफलमा बोलाएर अदालतले पुस ५ गते राखेपद्वारा गरिएको निर्णय र २४ कात्तिकमा युवा तथा खेलकुदमन्त्रीस्तरीय निर्णयसमेत रिट निवेदनको अन्तिम निरूपण नभएसम्मका लागि कार्यन्वयन नगर्नुरनगराउनु भन्दै अन्तरिम आदेश दिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
पत्रकार सम्मेलनमा उच्च अदालत पाटनको आदेश स्वागतयोग्य रहेको भन्दै नेपाल तेक्वान्दो संघका पदाधिकारले निर्णयको स्वागत गरेका छन् । संघले नेपाली खेलाडी र खेलकुदमा लागेको पादधिकारीको भविष्य सुनिश्चित गर्न राखेप र मन्त्रालयसँग सहकार्य गर्ने बताएको छ ।

