तिहारको मुख्य दिन भाईटीका आज, साईत बिहान ११:२ बजे

Avatar photo
Dhadingpost
कार्तिक २०, २०७८

धादिङ कात्तिक २० । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार । यसलाई यमपञ्चक समेत भनिन्छ । तिहारको पनि आज मुख्य दिन भाईटिका । विशेषगरी आज दाजुभाई र दिदीवहिनीहरुको सम्बन्धको प्रतिकको रुपमा भाईटीका लगाएर मनाउने गरिन्छ ।

आज टिकाका बेला दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर पुजा गर्छन् । सप्तरंगी टीका लगाई मखमली, सयपत्री तथा गोदावरीको माला लगाईदिन्छन् । त्यसपछि मिष्ठान्नहरु विभिन्न प्रकारका मसला ओखर, कटुस, रोटी, चकलेट, फलफूल, नरिवल, मकैफूला तथा अन्य खानेकुराहरु दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

भाई टिकाको महत्व
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ। दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख९समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ ।

कथन : भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न आएक थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाईन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमुना कहाँ बसे। भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् ।

विधि: भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनी भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी आदि दिइन्छ । भाइटीकाका दिन टीका नलगाई केही खान हुँदैन । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ ।

यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन्। भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सय पत्रीको माला, रोटी, मीठा९मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ ।

फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिएको शान्ति बताउँछिन् । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान९प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् ।

रंग र महत्व: शास्त्रमा तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँच प्रकारको भनिएको छ । तिहारमा सात प्रकारका रंगको टीका लगाउने कि पाँच प्रकारको भन्नेमा शास्त्र र सँस्कृतिका जानकारहरुको मत बाझिएको बताइन्छ । यद्धपी रंग र महत्व भने बैज्ञानिक रहेको छ । टिकाका रंगहरुले प्रकृतीक इन्द्रेणी समेत झल्काउछ । हिन्दू धर्म सँस्कृतिमा मनाइने सबै प्रकारका चाडबाडको तिथी मिति निकाल्ने र शुभसाइत जुराउने आधिकारिक सरकारी निकाय नेपाल पञ्चांग निर्णायक समितिका अनुसार तिहारमा टीका लगाउने प्रचलन रहेको छ । स्थानिय जान्ने,मान्ने पन्डितहरुले पात्रो हेरेर पनि टिका गह्रणको समय निकाल्छन् ।