
धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ का नेकपा एमाले उम्मेदवार भूमि त्रिपाठीले जनताको घरदैलोमा पुगेर वृद्धजनसँग आशीर्वाद लिँदै र नागरिकका आशा–अपेक्षा बुझ्दै मतदाता भेटघाटलाई तीव्र बनाएका छन्।
मतदाता भेटघाटका क्रममा त्रिपाठीले सिद्धलेक गाउँपालिका–७ का नागरिकसँग भेट गर्दै कृषिको व्यवसायीकरणलाई राष्ट्रिय प्राथमिकतामा राख्ने नीति निर्माणमा आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सिँचाइ, उत्पादन, बजार र प्रविधिसम्बन्धी समस्या समाधानका लागि सरकारमार्फत कार्यक्रम ल्याउन निरन्तर दबाब दिने पनि बताए।
पिपलटार, आदमटारलगायतका स्थानमा कृषिमा संलग्न किसानहरूले सडक, शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडिएका कार्यक्रम आवश्यक रहेको सुझाव दिएका थिए। सो क्रममा त्रिपाठीले वैकल्पिक राजमार्गका रूपमा सडक सञ्जाल विस्तार गर्ने, शिक्षा र स्वास्थ्यलाई रोजगारीसँग जोड्ने तथा स्थानीय आवश्यकतामा आधारित विकास नीति अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनताको घर–घर पुगेर प्रत्यक्ष संवाद गर्ने कार्यक्रममार्फत त्रिपाठीले स्थानीय समस्या सुन्ने र समाधानको मार्गचित्र तयार गर्ने अभियानलाई निरन्तरता दिएका छन्।
